समाचार
पाथीभरामा केवलकार निर्माण स्थगित
काठमाडौं, माघ २३ । ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा केवलकार निर्माण स्थगित भएको छ । पाथिभरास्थित माथिल्लो स्टेशनको निर्माण कार्य भइरहेको केवलकारको काम तत्कालका लागि स्थगित गर्न सरकार सहमत भएको हो । यस सहमतिसँगै ‘नो केबलकार समूह’ले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।
गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र पाथीभरामा केबलकार निर्माणको विरोध गरिरहेका पक्षबीच मंगलबार ६ बुँदे सहमति भएको हो । सहमति अनुसार पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य हाललाई स्थगन हुनेछ । स्टेसनका सन्दर्भमा आउँदो २७ माघमा हुने वार्तामा विस्तृत छलफल हुनेछ ।
यस्तै, आन्दोलनका क्रममा घाइते भएकाहरूको सरकारले निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्य उपचार गर्ने र पक्राउ परेकाहरुलाई बिना सर्त रिहाई गर्ने सहमती भएको छ ।