समीक्षा

इलाम दरवारमा “आन्छनको कथाहरु” विमर्श

इलाम आश्विन १७ गते विहिवार, स्थानीय अरनिको सांस्कृतिक सङ्ग्रहालय इलाम दरवारको सभाहलमा इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा ताप्लेजुङे साहित्यकार चन्द्र मादेन आन्छन द्वारा लिखित “आन्छनका कथाहरु” माथि समीक्षात्मक विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको सभापतित्वमा सम्पन्न भएको समारोहमा प्रमुख अतिथि नागरिक समाजका जेष्ठ व्यक्तित्व एवं ईतिहासविद युद्ध प्रसाद वैद्य, विशेष अतिथि नेपाली लेखक संघकी पूर्व अध्यक्ष छन्द कवयित्री टिका घिमिरे र पाहुना अतिथिमा कथाका कृतिकार चन्द्र मादेनआन्छनलाई मंचमा राखिएको थियो ।

सामुहिक राष्ट्रिय गानवाट सुरु गरिएको कार्यक्रममा श्रष्टा आन्छनलाई सभापति थाम्सुहाङ, प्रमुख अतिथि वैद्य र ताप्लेजुङ इलाम समाजका अध्यक्ष निरु चाम्लिङले रुद्राक्ष माला, खदा र फूलका गुच्छाले सम्मान गरिएको थियो । प्रतिष्ठानका सदस्य खिना वस्नेतद्धारा स्वागत मन्तव्य दिईएको उक्त कार्यक्रममा प्राज्ञ कोमल निरौला, इलाम क्याम्पस प्रमुख देवी गौतम, लेखक संघ इलामका सचिव तुलाराम पुरी आदिले शुभकामना मन्तव्य दिनुभएको थियो ।

उक्त समारोह अन्तर विमर्श कार्यक्रमलाई समीक्षक प्रगतिशील लेखक संघका महासचिव डा. देवी क्षेत्री दुलालले – आन्छनका कथाहरुमा सरल, मौलिक, मार्मिक र यथार्थ परक पठनिय भएता पनि प्राय शिर्षकहरु चाहिं पत्रकारिता जस्तो भएको कुरो गर्नुभयो । अर्का समीक्षक प्राज्ञ रवीमान लम्जेलले १० वटा कथाहरुमा विकृति, विसंगति र वेथितिको विरुद्ध सन्देश मुलक एकसाएक कथात छदैछ, आफू ताप्लेजुङको माटोमा अढाई दशक ज्यादा वसेकोले मादेन वंशमा आन्छनजी मात्र एउटा यस्तो पृथक, सृजनशील र सहयोगी भएको कुरा गर्नुभयो भने अर्का समीक्षक कवि विमल वैद्यले आफूले सवै कथा समयभावले पढ्न नपाएता पनि ३,४ वटा कथा पढ्दा ज्यादै मिठो आकर्षण लागेता पनि लेखक साहित्यकारहरुले पीडा र व्यथाको कुरा मात्र नभएर निकास र निस्कर्ष दिने सृजनाहरु लेखिनुपर्ने सुझाव दिनुभयो ।

कृतिकार आन्छनले आफू वेजिल्लाको प्रवासी भएता पनि यत्रो स्वागत सत्कारका साथ आफ्नो कृतिको समीक्षा विमर्श कार्यक्रम राखिदिनुभएकोमा आयोजक संस्था र सम्पूर्ण उपस्थित इलामे जनता प्रति आभार र कृतज्ञता व्यक्त गर्दै एउटा कविता सुनाउनु भएको थियो । सो कार्यक्रममा शिक्षाविदहरु गणेश पौडेल, चन्द्र मणी गौतम, कवि ईन्द्र नारायण सुवेदी र कवि ईश्वरी तामाङले कविता सुनाउनुभएको थियो ।

प्रमुख अतिथि पूर्व क्याम्पस प्रमुख युद्ध प्रसाद वैद्यले आफूले यो पुस्तक पढ्न नपाएता पनि सरसर्ति हेर्दा आन्छनको कथाहरुको शिर्षकनै सारै आकर्षण लागेको , आगामी दिनमा यो भन्दा राम्रो कृतिहरु लिएर आउन मादेनलाई शुभकामना दिनुभएको थियो ।

कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव जय नारायण भट्टराईले प्रेरक छन्द सुनाउनुभएर सभापतिलाई सभामण्डल हस्तांतरण गर्नुभएपश्चात सभाध्यक्ष थाम्सुहाङले आन्छनलाई वधाई दिंदै, कुनै पनि शिल्प र कला मिसाएर सुन्दर सृजना गर्नुनै साहित्य हो भन्दै सम्पूर्ण उपस्थितहरुलाई धन्यवाद दिएर कार्यक्रम विसर्जन गर्नुभएको थियो ।

Back to top button