समाचार

विद्यापतिको प्रतिमा राख्ने योजनामा छौँ : कुलपति राई

काठमाडौँ, ३२ जेठ : नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानमा मैथिली भाषाका महाकवि विद्यापतिको प्रतिमा राख्ने योजना रहेको बताउनुभएको छ ।

आज प्रतिष्ठानमा आयोजित मासिक मातृभाषा साहित्य शृङ्खला कार्यक्रममा उहाँले भन्नुभयो, “मैथिली भाषा र साहित्यको इतिहास एक हजार दुई सय वर्षभन्दा पनि प्राचीन रहेको छ । उक्त साहित्यका महाकवि विद्यापतिको प्रतिमा प्रतिष्ठानमा राख्ने हाम्रो आगामी योजना छ ।”

मातृभाषाअन्तर्गत आज मैथिली साहित्यमाथि विमर्श गरिएको थियो । कुलपति राईले मैथिली भाषामा धेरै काम गर्न बाँकी रहेको र आगामी दिनमा ती सबै समेट्ने प्रयास गर्ने बताउनुभयो । मैथिली भाषाकी साहित्यकार विजेता चौधरीले नेपालीय मैथिली साहित्यमाथि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

अन्य तीन भाषाका कविहरू कुमाल भाषाबाट रेणुका कुमाल, चेपाङ भाषाबाट नेपोलियन चेपाङ र उर्दू भाषाबाट हाजिगुलाम मुस्तफाले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता गरिरहनुभएको प्राज्ञ राजन मुकारूङले मातृभाषा शृङ्खलामा हालसम्म प्रस्तुत भएको कार्यक्रमको सङ्कलन तथा वाचित ३३ भाषाभन्दा बढी कविताको सङ्गालो चाँडै प्रकाशन गरिने बताउनुभयो ।

Related Articles

Back to top button