समाचार

‘ठमेल र दरबारमार्गको स्थिति हेरेर नयाँ बसपार्क पनि चौबिसै घण्टा खुलाउँछौँ’

काठमाडौँ, ३० चैत : काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेल र दरबारमार्गको सुरक्षा स्थितिलाई हेरेर नयाँ बसपार्क क्षेत्रलाई पनि २४ सै घण्टा खुलाइने बताउनुभएको छ ।

मित्रनगर विकास तथा सुधार समिति आज नयाँ बसपार्कमा आयोजना गरेको ‘नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’ मा बोल्दै ठमेल र दरबारमार्गको सुरक्षा स्थितिलाई हेरेर नयाँ बसपार्कलाई २४ सै घण्टा खुलाउने बताउनुभएको हो ।

“देशभरका मानिस आवतजावत गर्ने ठाउँ नयाँ बसपार्कलाई पनि २४ सै घण्टा सञ्चालन गर्नु जरुरी छ, वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग खुला गर्न लागिएको छ, त्यहाँको स्थितिलाई हेरेर नयाँ बसपार्क पनि २४ सै घण्टा सञ्चालन गछौँ, जसले यस क्षेत्रको अर्थतन्त्र चलायमान हुन्छ”, उहाँले भन्नुभयो । उहाँले बजार २४ सै घण्टा खुलाउँदा स्थानीयवासीलाई असर पर्न नहुने उल्लेख गर्नुभयो ।

वडाध्यक्ष तिवारीले अबको दुई महिनाभित्र नयाँ बसपार्क आसपासका सडक कालोपत्रे भइसक्ने उल्लेख गर्नुभयो । काठमाडौँ महानगरपालिकाको वडा नं २६ मा ठमेलसहित नयाँ बसपार्कसमेत पर्दछ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले ठमेल र नयाँ बसपार्कलाई एकआपसमा जोड्न सकेमात्र नयाँबसपार्क क्षेत्रको अर्थतन्त्र चलायमान हुने बताउनुभयो ।

“रातको समयमा नयाँ बसपार्कमा सवारीसाधन ओहोरदोहोर गर्ने भएकाले यस क्षेत्रको बजार २४ घण्टा खोल्नु जरुरी छ”, उहाँले भन्नुभयो । मित्रनगर विकास तथा सुधार समितिका अध्यक्ष गङ्गा पन्तले नयाँबसपार्क क्षेत्रलाई सुन्दर र व्यवस्थित बनाउन समितिले काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले नयाँबसपार्क क्षेत्रको विकृति विसङ्गति अन्त्यका लागि स्थानीय टोलबासी, तीनै तहका सरकार र प्रहरीबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । उक्त समितिले विगत वर्षमा ‘प्रथम नयाँ बसपार्क सडक महोत्सव’ समेत आयोजना गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button