समाचार

‘पार्टी विधानसभापछि जसपा तन्दुरुस्त अवस्थामा पुगेको छ’ – संघीय अध्यक्ष राई

२४ सेप्टेम्बर, लन्डन । जनता समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष अशोक कुमार राईले पार्टी विधानसभापछि पार्टी गतिशील र तन्दुरुस्त भएको बताएका छन् । उनले राष्ट्रियस्तरमा राजनीतिक स्थायित्वमा खेलेको भूमिकादेखि आन्तरिक व्यवस्थापनसम्ममा दलले सन्तोषजनक प्रगति खेलिरहेको दाबी गरेका छन् ।

प्रवास विशेष प्रदेश समितिले आयोजना गरेको भर्चुअल अभिमुखीकरण कार्यक्रममा बोल्दै संघीय अध्यक्ष राईले उच्च मनोविज्ञानका साथ जनस्तरमा खट्न समेत नेता कार्यकर्ताहरूलाई आग्रह गरे । ‘हामीले उपनिर्वाचनबाट पार्टी कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई जिताउन सफल भयौँ । उपराष्ट्रपतिमा पार्टीलाई विजयी गराउन सक्यौँ । त्यस्तै, गठबन्धन सरकारमा सकारात्मक भूमिका खेलिरहेका छौँ,’ राईले भने, ‘विधानसभाले पार्टीका महत्वपूर्ण मुद्दाहरूलाई समेत सल्टाएको छ । हामी स्वस्थ र तन्दुरुस्त अवस्थामा पुगेका छौँ ।’ केन्द्रीय कार्यकारिणी समितिले कार्यान्वयनका लागि परिपत्र जारी गरिसकेको उनले जनाए । त्यस्तै, पुस माघ महिनाभित्र महाधिवेशन तयारी जुटिसकेको भन्दै विधानसभाले पहिचानमा आधारित १० जोड एक राष्ट्रिय समितिहरूलाई कार्यकारी बनाएको उनले बताए । उनले प्रदेश नम्बर एकमा चलिरहेको ‘कोशी’ नामकरण खारेजीको आन्दोलनलाई पार्टीले नजिकबाट हेरिरहेको भन्दै पार्टीका सबै पङ्क्तिहरूलाई आन्दोलनमा सरिक हुन निर्देशन दिएको प्रष्ट पारे । विधानसभाले १५१ केन्द्रीय समिति रहने गरी संख्या समेत तोकेको थियो । पार्टीको विधानसभा गत असार १० गतेदेखि १२ गतेसम्म काठमाडौँमा सम्पन्न भएको थियो ।

त्यस्तै, गठबन्धन सरकारमा शिक्षामन्त्री समेत रहेका राईले शिक्षकको आन्दोलनबारे प्रष्ट पार्दै आठ वर्षदेखि अवरुद्ध रहेको शिक्षा विध्येयक पारित गर्ने तयारी भइरहेको बताए । अर्थतन्त्रले धान्ने र संविधानले मान्ने सीमाभित्र शिक्षकहरूका जायज माग र व्यावहारिक पीडाहरूलाई सम्बोधन गर्न भनेरै आन्दोलनरत शिक्षक महासंघसँग छ बुँदे सहमति गरेको सुनाए । उनले सहमतिबाट करिब ४० हजार शिक्षकहरूले लाभ लिने विश्वास व्यक्त गरे ।

जसपा लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम ।

कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य एवम् लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिमले बाेल्दै पार्टीका नेताहरूले आलोचना सहन सक्नुपर्ने बताए । ‘बजारमा काँचो मकैभन्दा पाेलेकाे मकैकाे भाउ महङ्गो हुन्छ । तयसरी, अबका नेताहरू सेकिन तयार हुनुपर्छ,’ उनले भने । नेपालकाे पार्टी इतिहासमा दुर्लभ घटना मानिने विधानसभाबाट पार्टीको विधान बनेको भएपनि आन्तरिक रूपमा धेरै चुनाैतीहरू रहेको जनाए । पार्टी विधानमा १३१ धारा, २७ परिच्छेद र १३ अनुसूचीहरू छन् ।

नेता माखिमले सिङ्गाे नेपालकाे राजनीतिक आन्दोलनका इतिहासबारे पार्टी विधानले बाेलेकाे जनाए । ‘विधानले पार्टी मात्रै नभएर समाज, देश कस्तो निर्माण गर्न चाहन्छ बारे स्पष्ट पारेको छ । त्यस्तै, पार्टीकाे लक्ष्यबारे परिकल्पना गरेको छ,’ उनले भने, ‘सङ्घीयता, समाजवाद, सामाजिक न्यायबारे हामीले तीन वर्षदेखि मिहीन ढंगले मिहेनत गरेर तयार पारेको दस्तावेज पारित गरेका छाैँ । जसपाकाे मूल सिद्धान्त समाजवादी लाेकतन्त्र, विविधतामा एकताले बहुसाँस्कृतिककाे नयाँ भाष्यबारे बहस गराएको छ ।’

कार्यक्रममा प्रवास संगठन इञ्चार्ज आङकाजी शेर्पाले समेत सम्बोधन गरेका थिए ।

अभिमुखीकरणमा उपस्थित सहभागीहरू ।

अभिमुखीकरणमा केन्द्रीय सदस्य टेक बहादुर थापा, पार्वती थापा मगर, भगवान चाम्लिङ, सङ्घीय सदस्य जङ्ग सुनुवार, सह इञ्चार्ज लक्ष्मण हुमागाई, शिल्पी विशेष राष्ट्रिय समितिका सहइञ्चार्ज दलमर्दन कामी लगायत पार्टीका केन्द्रीय, प्रदेश, राष्ट्रिय समिति र १८ मुलुकका नेपाली समाजका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । प्रवास विशेष प्रदेश समितिका अध्यक्ष विश्वासदीप तिगेलाले पार्टीले पारित गरेको विधान, पछिल्लो नीति र गतिविधिबारे जानकारी गराउन अभिमुखीकरण कार्यक्रम राखिएको जनाए । सचिव लोक बहादुर राई ‘खकुरा’ र नेपाली समाज जापानका पूर्व अध्यक्ष पेम्बा शेर्पाले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष अक्कल थापा मगरले दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button