अन्तर्राष्ट्रिय

नाइजेरियामा अपहरणमा परेका करिब २५० विद्यार्थी उद्धार गर्न सेना परिचालन

कानो, नाइजेरिया, २६ फागुन (रासस/एएफपी) ;
नाइजेरियाको उत्तरपश्चिममा रहेको एक विद्यालयबाट बन्दुकधारीले अपहरण गरेका २५० भन्दा बढी विद्यार्थीहरूलाई उद्धार गर्न सेना परिचालन गरिएको छ ।

कादुना राज्यमा भएको उक्त घटना एक हप्तामा भएको दोस्रो सामूहिक अपहरण हो । पछिल्ला केही बर्षहरूमा उक्त क्षेत्रमा सशस्त्र आपराधिक गिरोहले गाउँ, विद्यालय तथा राजमार्गहरूमा फिरौती भुक्तानीको खोजीमा पीडितहरूलाई लक्षित गर्ने गरेका छन् ।

कादुना राज्यका स्थानीय सरकारी अधिकारीहरूले बिहीबार अपहरणको पुष्टि गरेका छन् । यद्यपी उनीहरूले कति बालबालिकाहरू अपहरण भएका छन् भन्ने तथ्याङ्क भने दिएका छैनन् ।
आक्रमणका क्रममा कम्तीमा एक जनाको गोली हानी मृत्यु भएको स्थानीय बासिन्दाहरूले बताएका छन् ।

जीएसएस कुरीगा विद्यालयका शिक्षक सानी अब्दुल्लाहीले बन्दुकधारीहरूले बिहीबार हवाई फाएर गरी विद्यालयका कर्मचारी र धेरै विद्यार्थीहरू लिएर गएको बताउनुभयो ।

उहाँका अनुसार स्थानीय अधिकारीलाई १८७ जना विद्यार्थीहरू विद्यालयबाट र अन्य १०० जना प्राथमिक कक्षाहरूबाट अपहरण गरेका थिए । स्थानीय बासिन्दाले करिब २८० जना बालबालिका र शिक्षक अपहरणमा परेकोे बताएका छन् ।

एक स्थानीय अगुवाका अनुसार डाकुहरूले गोली चलाएको र आफुहरू भेला हुँदासम्म बच्चाहरूलाई जम्मा गरी भागेका थिए ।

सुरक्षा प्रमुखहरूबाट दुई घटनाको बारेमा जानकारी प्राप्त गरेपछि तत्काल उनीहरूको उद्धाका लागि निर्देशन दिएको राष्ट्रपति बोला टिनुबुद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ । बालबालिकाको उद्धारका लागि सेना परिचालनका लागि आदेश दिएको र छिट्टै सेना उक्त क्षेत्रमा पुग्ने उहाँले बताउनुभयो ।

अप्रिल २०१४ मा बोको हरामका लडाकुहरूले बोर्नो राज्यको चिबोकबाट २५० भन्दा बढी विद्यार्थी अपहरण गरेपछि उक्त घटनाको अन्तर्राष्ट्रियस्तरमा व्यापक आलोचना भएको थियो । तीमध्ये केही बालिका अझै बेपत्ता छन् ।

बोर्नोमा गत हप्ताको सामूहिक अपहरणपछि १०० भन्दा बढी मानिसहरू बेपत्ता भएको प्रत्यक्षदर्शीहरूले बताएका थिए ।

तर प्रहरी र स्थानीय प्रशासनले कुरीगा विद्यालयबाट अपहरणमा परेका बालबालिकाको तथ्याङ्क सार्वजनिक गरेको छैन ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार एक्समा एक पोस्टमा कादुनामा भएको अपहरणको निन्दा गदै यस्ता भयानक आक्रमणका लागि जिम्मेवारहरूलाई कानुनी दायरामा ल्याउन र हिंसा तथा अपहरणजस्ता घटनालाई नियनत्रण गर्न नाइजेरिया सरकारसँग आग्रह गर्नुभएको छ ।

संयुक्त राष्ट्र बाल कल्याण एजेन्सी (युनिसेफ)ले पनि बिहीबारको आक्रमणको निन्दा गर्दै विद्यार्थीहरूको सुरक्षाका लागि सरकारसँग आह्वान गरेको छ ।

युनिसेफ नाइजेरियाका निर्देशक क्रिस्टियन मुन्डुएटले विज्ञप्तिमा विद्यालयहरू डर र हिंसाका स्थलहरू नभई शिक्षा र विकासको आधार बन्नुपर्ने बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button