समाचार

संवैधानिक इजलासमार्फत सदरमुकाम रुकुमकोट कायम

रुकुम, २७ भदौ : रुकुम पूर्वको सदरमुकाम रुकुमकोट कायम भएको छ । आज बसेको सर्वोच्च अदालतको संवैधानिक इजलासले रुकुमकोटमै जिल्ला सदरमुकाम कायम गरेको हो ।

प्रधानान्यायधिश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश ईश्वरीप्रशाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह रावतको इजलासले जिल्ला सदरमुकाम रुकुमकोट कायम गरेको हो । विसं २०७४ माघ ११ गते तत्कालीन शेरबहादुर देउवा सरकारले रुकुम पूर्वको सदरमुकाम पुथा उत्तरगङ्गा–१२ गोलखाडामा तोक्ने निर्णय गरेको थियो । सरकारको निर्णयविरुद्ध २०७४ माघ १७ मा अधिवक्ता गणेश हमाललगायतले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।

उक्त मुद्दाको संवैधानिक इजलासबाट सुनाइ गर्दै रिट आदेश भएको हो । रुकुम पूर्व छ वर्षदेखि सदरमुकामको विषयमा टुङ्गो नलाग्दा सरकारी कार्यालय निर्माणदेखि अन्य काममा अन्यौता भएको थियो । आज संवैधानिक इजलासबाट रिट आदेश आएसँगै जिल्ला सदरमुकामको विवाद टुङ्गो लागेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button