वर्षमान पुनसँग युकेमा गोर्खा पेन्सन र नागरिकताबारे अन्तरक्रिया, प्रवासबाट संसदीय प्रतिनिधित्वको माग

अल्डरसट, युके । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनसँग भूतपूर्व गोर्खाको पेन्सन, वंशजको नागरिकताको निरन्तरता र विदेशमा रहेका नेपालीको मतदान अधिकारबारे अन्तरक्रिया गरेको छ ।
अल्डरसटमा गत ४ अक्टोबर २०२६ मा आयोजित कार्यक्रममा सहभागीहरूले गोर्खाहरूका लामो समयदेखि सम्बोधन हुन नसकेका माग तथा प्रवासी नेपालीको राजनीतिक अधिकारबारे ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष विश्वास दीप तिगेलाले नेता पुनलाई स्मरणपत्र बुझाउँदै प्रवासलाई छुट्टै निर्वाचन क्षेत्र घोषणा गर्न माग गरे । प्रवासमा रहेका नेपाली नागरिकले प्रत्यक्ष मतदानबाट आफ्ना प्रतिनिधि चुनेर संघीय संसदमा पठाउन पाउने व्यवस्थाका लागि अभियान चलाउँदै आएका तिगेलाले संसदीय प्रतिनिधित्वको यो विकल्प अघि सारेका हुन् ।
भूतपूर्व गोर्खाको पेन्सनसम्बन्धी प्रश्नमा पुनले नेपाल र बेलायत सरकारबीच निरन्तर संवाद भइरहेको बताए । गोर्खाहरूको पेन्सनसँग जोडिएका विषयलाई वार्ता र संवादकै माध्यमबाट अघि बढाइएको उनको भनाइ थियो ।
वंशजको नागरिकताको निरन्तरताबारे बोल्दै पुनले तत्कालका लागि गैरआवासीय नेपाली नागरिकतालाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । यसको कार्यान्वयन सहज भए पैतृक सम्पत्ति राख्न, घरजग्गा खरिद–बिक्री गर्न तथा नेपालमा ढुक्कसँग लगानी गर्न सहयोग पुग्ने उनले बताए ।
राजनीतिक परिवर्तन र निजामती प्रशासनको ढिलासुस्तीका कारण गैरआवासीय नेपाली नागरिकताको व्यवस्था पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको पुनको भनाइ थियो । भूतपूर्व गोर्खाहरूलाई वंशजको नागरिकताको निरन्तरता दिने विषय भने संविधान संशोधनमार्फत मात्रै सम्भव हुने उनले बताए ।
विदेशमा रहेका नेपालीको मतदान अधिकारबारे पुनले विभिन्न मुलुकमा विद्युतीय मतदान, हुलाकमार्फत मतदान र इन्टरनेट मतदानको अभ्यास रहेको उल्लेख गरे । यस्ता प्रणाली सञ्चालन गर्न ठूलो खर्च लाग्ने अध्ययनले देखाएको भन्दै उनले नेपालले आवश्यक खर्च धान्न सक्छ वा सक्दैन भन्ने पक्षमा पनि विचार गर्नुपर्ने धारणा राखे ।
नेफिन युकेका अध्यक्ष मेजर योगेशकुमार कोयी राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुन प्रमुख अतिथि थिए । महासचिव फ्रमबहादुर दुराले सञ्चालन गरेको अन्तरक्रियामा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू सहभागी थिए ।
छलफलमा अध्यक्ष मेजर योगेशकुमार कोयी राई, महासचिव फ्रमबहादुर दुरा, कोषाध्यक्ष मेजर इन्द्रप्रसाद राई, संस्थापक अध्यक्ष थर्क राना मगर, निवर्तमान अध्यक्ष कर्मा पहाडी शेर्पा, नेफिन बेल्जियमका निवर्तमान अध्यक्ष वीरमान घर्ती मगर, मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष रुद्र थापा मगर, गेसोका सभापति कृष्णकुमार राई, एनआरएनए आइसिसिका उपाध्यक्ष विश्वास दीप तिगेला र नेकपाका युवा नेता वसन्त राईले आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा नेफिन युकेका सल्लाहकार तथा एभरेस्ट टाइम्स युकेका सम्पादक दूत पुन (चिम्खोले काइला), गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, मान गुरुङ र कलाकार अस्मिता राना मगरलगायतको उपस्थिति थियो । कलाकार राना मगरले कार्यक्रममा नृत्यसमेत प्रस्तुत गरेकी थिइन् ।




