आदिवासी

यूके चुम्लुङ स्थपनादेखि ११ औं निर्वाचन इतिवृतान्त

- कृष्णकुमार हेम्ब्या “कुवाकुजा”

केजे (खड्कजंग) आङभाङदेखि नरबीर आङबोसम्म १० जनाले युके चुम्लुङको सफल/असफल नेतृत्व हेरि सकियो । कार्यसम्पादन मूल्याङकनमा डम्बर सिंगक यताकाहरु खासै प्रभावकारी काम गर्न सकेको देखिन्दैन । व्यक्ति क्षमता भन्दा पनि नेतृत्वमा आउने सिंहकपछि चुनावी हावाको कमजोर जगका कारण चुम्लुङ झन कमजोर बन्दै गएकोछ ।

११ औ निर्वाचनमा अमृता पालुङवा, कमला सेन्दाङ र गणेश ईजमले उमेद्वार घोषणा गर्दै प्रचारप्रसारमा व्यस्त देखिन्छन । तीनैजना सस्थामा लामो समयदेखि केन्द्रीय कार्यसमितिमा बसेर महत्वपूर्ण जिम्मेवारी लिई सकेका अब्बल उमेद्वार मानिन्छन ।

तीनैजना उर्जाशील व्यक्तित्व र सक्षम उमेद्वार भएकोमा सन्देह रहेन । अझ चुम्लुङले महिला र गैर लाहुरे नेतृत्व पाउन नसकेको अवस्थामा ‘समावेसी सौन्दर्यको’ चमक थपिएको छनै । विडम्वना तीनैजना उमेद्वारका वैचारिक कार्यदिशा दृष्टिकोणमा गम्भीर प्रश्नहरु उठेकाले नयाँ पात्रको खोजि भइ रहेका बहस आइरहेका छन । तीनै उमेदवार कुनै राजनीतिक दर्शन र धार्मिक आस्थामा परिचालित पक्षविपक्षमा बहस सतहमा आउनु राम्रो होइन । व्यक्तिको आस्थाअनुसार कुनै एउटा धर्म राजनैतिक दल छान्न नैसंर्किक अधिकार सुरक्षित भएपनि नेतृत्वमा पुगेर आफ्नो धार्मीक वा राजनीतिक आस्था याक्थुङ चुम्लुङजस्तो सामाजिक संस्थामा घुस्योभने चुम्लुङ गम्भीर दुर्घटनामा फस्ने छ ।

अहिले युमावादीहरु संस्थाको नामको अगाडी ‘किरात’ शब्द नहाटाए आफूहरु चुम्लुङबाट अलग हुनेसम्मका अभिव्यक्तिहरु सार्वजानिकरुपमा दिंदं आएका छन । समग्रमा यूके चुम्लुङ राजनीतिक र धार्मिक भकुण्डो खेल मैदान भइसकेको अवस्था छ । यस्तो संकटमा चुनाव मैदानमा उत्रिएका तीन पात्रले संकट मोचन गर्नुभन्दा झन बल्झाउने खतरा छ ।

लेखक: कृष्णकुमार हेम्ब्या

चरम गुटवन्दीमा फसेको चुम्लुङको संकट मोचनका सही पात्र मेजर पदमबहादुर आङभाङ हुन सक्छन । हुन त उनको नाम बारेमा मैले न सम्बन्धित व्यक्ति नत अरु कसैसंग बहस गरेको छु । मेजर आङभाङसंग आजको संकटलाई उचित तरिकाले संयोजन एवं व्यवस्थापनका लागि उचित पात्र हुन सक्छन । पल्टनमा गोर्खा मेजर भइ सकेका पदम संस्थागत कठोर तर निश्पक्ष निर्णय गर्नसक्ने कमाण्डरकोरुपमा ख्याती आर्जन गरेका व्यक्ति हुन ।

नेपालीमा आफ्नो नाम राम्ररी लेख्न नसक्ने नालायकहरुसमेत संस्थाको महासचिव पद ओगेटेको यूके चुम्लुङमा पदकै लागि जसले अध्यक्ष गरेपनि हुन्छ । तर संकटको समयमा सही पात्र चयन गर्न सकिएन भने जेपनि हुन सक्छ ।

हामी आफैले गर्दा यूकेवासी सबै याक्थुङहरुको माङगेना उठेको छैन । सबैको माङगेना उठाएर चोत्लुङ पुर्याउन गुटगत चुम्लुङलाई भत्काउदै आपसि विश्वासको वातवरण बनोस भनेर यो लेख तयार गरिएको हो ।

संस्थापकहरुको नाम गायव 

बेलायतबासी याक्थुङ समुदायको प्रतिनिधिमूलक संस्था याक्थुङ चुम्लुङ यूके याक्थुङ मुन्धुम, भाषा, लिपि, संस्कार, संस्कृतिको संरक्षरण र सम्बद्र्धन तथा समस्या पर्दा आपसमा सहयोग आदाप्रदान गर्न सन् २००३ बेलायतको सल्सबरीमा स्थापना भएको थियो । चुम्लुङको संस्थापक अध्यक्ष खड्कजंग आङबुहाङ हुन । हाम्रो अधिकारिक रेकर्डमा यही छ ।

यूके याक्थुङ स्थपनाको अवधारणा केही अल्डरसट र फान्वरोवासी याक्थुङहरु सल्सवरीको एउटा बंगुर फार्ममा भेला हुंदा भएको आफूलाई संस्थापक सचिव दाविगर्ने गणेश अनेमले खुलासा गरेका छन ।

 

अनेम आफैले रेकर्ड गरेअनुसारः

अध्यक्ष: डुण्डीराज खापुङ

कोषाध्यक्ष: कल्पना लक्सम्वा

सचिव: गणेश अनेम

सदस्य: खड्कजंङ आङबुहाङ, डम्बर मादेन र सान्त चङवाङ,

सल्लाहकारः पूर्वमन्त्री विजयप्रकाश थेवे, डा. विना थेवे र डा. चन्द्र लक्सम्वा ।

 

संस्थाको अध्यक्ष खापुङपछि क्रमश विजयप्रकाश थेवे र खड्कजंङ आङबुहाङपछिमात्र श्रीप्रसाद साम्योलाई हस्तान्तरण गरिएको सस्थापक सचिव अनेमको खुलासा गरे । आफूहरुले भएभरका लिखित दस्तवेज नयाँ कमिटिलाई हस्तान्तरण गरिएकै भएतापनि आज स्थपना बारेमा फरक विवरण आउनका कारण आफूले नबुझेको गणेश अनेमको छ ।

केही समय अध्यक्ष गरेका डुण्डीराज खापुङ र विजयप्रकाश थेवेको नाम कसरी हट्यो खोजिकै विषय भएका छ । संस्थापक अध्यक्ष जोजो भएपनि विजयप्रकाश बाहेक सबै लाहुरे अध्यक्ष भएका छन तर उहाँको नाम यूके चुम्लुङको इतिहासबाट हटाई सकेको अवस्था छ । किनकि यूकेमा लाहुरेको संख्या धेरै भएकोले गैर लाहुरे बहिष्कृत छन ।

चुम्लुङको अधिकारिक रेकर्डमा संस्थापक अध्यक्ष खड्कजंङ आङबुहाङ, सचिव डम्बर मादेन, कोषाध्यक्ष श्रीमती कल्पना लक्सम, सदस्यहरु युवराज आङभाहाङ, मोति कन्दङवा, शान्तकुमार चोङवाङ, कमला ईदिङगो, कमला सेन्दाङ र विष्णु वनेम अनेमको नाम छ ।

पहिलो चुम्लुङको अवधारणा सेलिसबुरीको चिकनकेन फार्म भएको डुण्डीराज खापुङपनि सम्झन्छन । खापुङकाअनुसार उक्तदिन मे. होमबहादुर वनेम, डा फौदराज थेबे, बिजयप्रकाश, डा० बिना थेबे, चन्द्रकुमार लक्सम्बा, खड्कजंग आङभाङ, डुण्डीराज खापुङलगायतका अग्रजहरुले त्यहिदिन एउटा कमिटी चयन पनि भएको थियो ।

तीनजना डक्टर मेजरजस्ता सहभागीतामा स्थपना भएको चुम्लुङको इतिहास गौरवमय छ । तर पढेलेखेका मान्छे नगन्ने हाबी भएपछि संस्थाले सबै इतिहास विर्सेको दुखद अवस्था छ ।  समग्रमा चुम्लुङ प्रस्तवना, नियमावली, व्यवस्थापन डा. चन्द्रकुमार लक्सम्वाको निकै ठूलो योगदान देखिन्छ ।

 

उपलब्धीको कसिमा यूके चुम्लुङ

यूके चुम्लुङसंग उपलब्धीका सूचि लामा र लोभलाग्दा होलान । तर याक्थुङ लाजेका वभिन्न थुमबाट बसाइँसरी यूके बसोवास गरेका “हामी सबै याक्थुङ एक हौ” भन्ने मनोविज्ञान विकासबाहेक अरु उपलब्धी देखिन्दैन। चुम्लुङले आजसम्म संस्थागत विकास गर्न सकेकै छैन । समान भाषा, संस्कृति, याक्थुङ मनोविज्ञानले जवरजस्त रुपमा एकै देखिएपनि सारमा चुम्लुङ कुरुप अवस्थामा गुज्रिरहेको छ । सयमयमै होशियरपूर्वक कदम नचाले हाम्रो चुम्लुङपनि किरात राई यायोक्खाजस्तै भोग्न सक्छ । समग्रमा यूके चुम्लुङ विभाजनको संघारमा छ ।

आपदविपदमा सरसहयोग, चुम्लुङदेन खरिद, सामाजिक र केही सांस्कृतिक भेलाहरुमा पूजाआजा बाहेक संस्थाको उद्धेश्यअनुरुप कुनै ठोस कार्यक्रमहरु छैनन । संस्थाले काम नलाग्ने यलम्बरहाङ कप र सिसेक्पा तङनाममा महंगा गैर याक्थुङ कलाकार ल्याउने, पाहुना बोलाएर भाषण र भोजमा मात्र आफ्नो सम्पूर्ण शक्ति र स्रोत प्रयोग गरि रहेको अवस्था छ । याक्थुङ समुदायको प्राथमिकतामा पर्ने भाषा, लिपि, कला, संस्कृतिजस्ता विषयहरुमा संस्थासंग रचनात्मक दृष्टिकोण र ठोस कार्यक्रम छैन । चरम गुटवन्दीमा फसेका कारण संस्थागत विकास गर्न नसकेको चुम्लुङको कुरुप अनुहार लाजमर्दा छन ।

तत्कालका लागि यूके चुम्लुङ थुप्रै समस्याहरुसंग जुधिरहेको अवस्था छ । संस्था राजनीतिक पार्टीसरह गुटगत निर्वाचन प्रतिस्पपर्धामा फसेको छ । खासगरी अहिलेको संस्थापन पक्षबाट साम, दाम, दण्ड, भेद प्रयोगगरी जसरी भएपनि आफ्नो पक्षलाई जिताउने घीनलाग्दा हर्कतहरु निरन्तर जारी राखेको छ । संस्थाका विधानअनुसार याक्थुङ भाषा, लिपि, कला, संस्कृतिभन्दा अन्य गैर याक्थुङ गतिविधिमा चुम्लुङले आफ्नो सारा स्रोत र साधनलाई दुरुप्रयोग गरिरहेको अवस्था छ ।

आसन्न ११ औं निर्वाचन (अधिवेशन) दुईदिन त्योपनि पहिलो दिन गिलफोर्डमा हुने र निर्वाचनकै लागि दोस्रो दिन झण्डै ५० किलोमिटर दुरिमा राख्नु गाईजात्रे अधिवेशनले संस्थाको वास्तविक अवस्था देखिन्छ ।

 

चुनावमुखि नीतिले गत्यव्यमा चुकेको चुम्लुङ

संस्थाको मूलधारनै गुटमा फसिएकाले गत्यव्यमा चुकेको एउटा संस्थाको नाम हो “किरात याक्थुङ चुम्लुङ यूके” । दुईहजार भन्दा धेरै सदस्य रहेको संस्था ११ औं राष्ट्रिय महाधिवेशन संघारमा चुनावी मौसम आएको छ ।  महाधिबेशनका लागि केन्द्रबाट जारी बिभिन्न चिठी पत्रहरुमापनि सस्थागत विकासका लागि याक्थुङ, भाषा, लिपि, संस्कृति, संस्कार विषयमा नीति नियम कार्यक्रम बारेमा एकअक्षरसम्म लेखिएका छैनन । बरु उल्टो राजनीतिक पार्टीलेजस्तो चुनावका लागि अनेक परिपत्रहरु प्रवाह हुंदैछन ।

कतै मान्छे भेट्यो कि हाऊ! हाम्रा भेनालाई जसरी भएपनि हजुरको एक भोट है । मेरी छोरीलाई भोट दिनु परो । हाम्रो कांग्रेसी गूटको फलानो उमेद्वार छन है । लिम्बुवानको फलानो ? सत्यहाङको अध्यक्षमा उ हत्यहाङतर्फ महासचिव फलानो । ल यसपाली युमावादीलाई हराउने, कसलाई जिताउने । भरखरै कुमार लिङदेनको पार्टीबाट सामुहिक पार्टी परित्यातसंगै राष्ट्रिय पहिचान परिषद प्रवास यूकेू गठन भएको देबी तुम्बाङफेको घटकले त पहिचान विरोधी कांग्रेसी गुटका उमेद्वारलाई जिताउने आधिकारिक निर्णयसमेत गरेको पाइयो । राजनीतिक दलजस्तो यसरी गुटगत चुनाव भएपछि चुम्लुङले आफ्नो उद्देश्यअनुसार काम गर्छ भनेर कसरी विश्वास गर्ने ?

१० औं अधिवेशनदेखि झन चुम्लुङ चुनावमय बनिदियो । संस्थापन पक्षले संस्थाकै पैसा दुरुपयोग गर्दै हरेक पद तोकेरै को को उमेद्वार हुने फोटोसहित गूटगत चीट वितरण गरे चुनाव लडे र जितेपनि । त्यो विधान विपरित थियो र मैले सार्वजानिक गर्दा मलाई चुम्लुङबाट निकाली दिन्छु भनेर उपाध्यक्ष र महासचिव निकै तम्सेका थिए ।

गएको चुनावमा चुम्लुङको नेतृत्व हत्याउन संस्थापन पक्षले संस्थाको १३ हजार रकम खर्च गरे । र त्यो गुटले थप दोब्बर पैसा उमेद्धद्वार किन्नेदेखि भोजभतेरसमेत गरी नेतृत्व हत्यायो । यो गूटले एनआरएनलेजस्तै आफ्नै खल्तीको पैसा खर्चे गरेझै सयौं सदस्य किनेको थियो र यो जानकारी सोही गूटका एक सदस्यले मलाई जानकार गराए । गएको चुनावमा जस्तै यो चुनावमा पनि यही गूट महिनौं पहिलेदेखि सक्रिय भइ सकेका छन । गोप्य प्रचारप्रसार, शाखामा खल्तीको पैसा खर्चेर सदस्यता किन्ने, गाडी रिर्जभ गर्ने गूटका गोप्य कार्यहरु महिनौं पहिले  हुन थालेका छन ।

१० औं महाधिबेशन संस्थाको उन्नति प्रगतिका लागि नीतिगत छलफल हुनु पर्ने पहिलोदिन १५० मात्र सदस्यहरुको उपस्थिति थियो । चुनाव हुने दोश्रो दिन लगभग १ हजार मान्छे भेला भए । राजनीतिक दलजस्तो गुटवन्दी, चुनावमूखी र पैसाको खोलो बगेको थियो ।  ११ औं निर्वाचनमा ४० औं हजार खर्च हुने आकंलन गरिन्छ ।

 

संस्थागत विकास नैतिक आचरणमा स्खलन

पूर्व अध्यक्षहरुसंग उपलब्धीका लामै सूचि होलान तर तथ्यहरुले त्यस्तो देखाउदैन । खासगरी चुम्लुङ संस्थागत विकासले गति लिन सकेको छैन । संस्थाका निर्णायक पदमा पुगेकाहरुसमेत पदीय जिम्मेवारी, काम, कर्तव्य, मान मर्यदा, अधिकार बुझेका छैनन वा बुझेरपनि उल्टो काम गरिन्छ । धेरैले बुझेकै छैनन । यूके चुम्लुङको विगत दुई दशकको इतिहासमा पटक पटक खासगरी डम्बर सिंगक पछि पूरै विधि, विधान, आचारसंहिता वेवास्ता गरिएका अनेकौं दृष्टान्तहरु छन ।

हरेक अधिवेशनपछि पदमा आउनसाथ आफूलाई मन नपर्नेको अधिकार काट्ने वा विभाग हटाउने भष्मासूर प्रवृति बढ्दो छ । विचार नमिल्नेको अस्तित्वनै नामेट पार्न र आफू खुशी विधान संशोधन गर्ने फाँसीवादी चरित्र नेतृत्वमा हाबी छ ।

यो कार्यसमितिले विधानसभा मार्फत संसोधित विधानलाई कार्यसमितिको लागू नगर्ने आफूखुशी निर्णय गरेको विधान मस्योदाकार सचिव विजयविक्रम लिङदेनको दावी छ । सामन्यत “विधान सभाले पारित गर्नसाथ लागू हुनेछ” विधानमा स्पष्ट व्याख्या गरेपछि किन यसरी विधान मिचियो । चुम्लुङको महासचिव समेत भइ सकेका लिङदेनको बुझाइमा अहिलेको कार्यसमिति इतिहासकै निकाम्मा र कमजोर टिम हो । विधान सभाले पास गरेका संसोधित केही संसोधित बुँदाहरु कार्यसमितिले आफू खुशि हटाएर विधान छापेका छन ।

वर्तमान उपाध्यक्ष र महासचिवनै फरक मत राख्ने सदस्यलाई सदस्यता शुल्क लिएर संस्थाबाट बाहिरिन निर्देशन जारी गर्ने नेतृत्वको कतिपय चरित्रहरु याक्थुङ संस्कृति, सभ्यता, संस्कारसंग मेल नखाने एवम् सभ्य समाजले स्वीकार गर्न नसकिने जंगली युग बीउँझाउने प्रवृतिका छन ।

संस्था गतिशिलताका लागि नैतिक आचरण, विधि र विधान यसका प्रमुख अंग हुन । चुम्लुङ नेतृत्वमा रहेका र गरी सकेका केही जिम्मेवार व्यक्तिहरुनै संविधान नभएको बेलायतमा विधान जरुरी छैन भनेर काँचो तर्क गर्छन । बेलायतमा एउटा सानो कामको योजना बनाउनु पर्यो वा सानो गल्ती गरे हामीले सपनामा नसोचेका यति धेरै ऐन कानुन, नियम, विनियम, विधान, नियमावलि, कार्यविधि आकार्षित हुन्छन भनेर तिनिहरुले सोचेका छैनन । समुन्नत समाज निर्माणका लागि संस्थालाई विधान अपरिहार्य छ ।

विधान पछि अर्को महत्वपूर्ण पक्ष आउछ नैतिक आचरण । यो कागजमा लेखिएका वन्धनकारी नियम नभएर बिवेकले प्रयोग गरिने निश्चित सामाजिक विधि हो । सबै मान्छे नैतिकवान छन भने विधान आवश्यक छैन पनि । चुम्लुङका अगुवाहरुमा नैतिक आचरण, विधि र संस्थागत अनुसाशनहीनता कारण सिंगो याक्थुङ समाज विखण्डनतिर उन्मूख छ ।

सभ्य समाज निर्माण गर्न विधि र विधान भन्दा ठूलो व्यक्तिमा अन्तरनिहित लाजले महत्वपूर्ण भूमिका खेल्छ । चराचर, जगत, प्रकृति, मान्छे हामी सबै नांगै छौं । चेतनाको भूणमा लाज जन्मन्छ र त्येही लाजले जीवनका मूल्य खोज्छन । चेतनाले काम गर्न थालेपछि मात्र लाज वोध हुन्छ । जहाँ लाज लाग्छ त्यँहा ढाक्नुतिर लाग्छौं । पाषण युगमा हाम्रा पुर्खाहरु जनवार सरह नांगै हिड्थे, किनकि उनिहरुमा चेतना थिएन ।

 

अकर्मणताका श्रृङखलाहरु

चुम्लुङमा अकर्मणताका अनेकौं श्रृङखलाहरु छन । पछिल्ला महाधिवेशन र हरेक वैठकमा संस्थागत मान्यता विपरित एकलौटी र अप्रिय निर्णय भएका छन ।

आठौं महाधिवेशनमा विधान विपरित गैर सदस्य र हलमा भेला भएका गैर लिम्बू सबैले मतदान गरे । किनकि त्यहाँ आफ्नो मान्छे जिताउन विधि विधान मिच्नेहरुको नांगो बजार लागेको थियो ।

विधानमा कतै नभएको कथित सहमतिको नाममा दुई गूटका अध्यक्षले एक–एक वर्ष नेतृत्व गर्ने अर्को नांगो नाच नवौं अधिवेशनमा देखियो । महासचिवमा दुईजनाको उमेद्वारी पर्यो । अन्तमा एकले तुरन्तै पद लिने र दोस्रोले अर्को महाधिवेशनमा उपाध्यक्ष पद सुरक्षित गरेको बैना गरियो । एक कार्यकाल अघि संस्थाको महत्वपूर्ण पद खरिदको घीनलाग्दो परिदृष्य चुम्लुङमा देखियो । विधि विधान विपरित पहिल्यै सुरक्षित गरेको उपाध्यक्ष अर्कोलाई वेचेर तिनै पात्र अन्ततः एउटा प्यानलमा शक्तिशाली पद महासचिव हत्याउन सफल भए ।

दशौं राष्ट्रिय महाधिवेशनमा त झन नेतृत्व हत्याउन संस्थाको भए भरको स्रोत साधन दुरुप्रयोग गरी हाक्काहाक्की प्यानलको मतपत्र नमुनामा नाम, पद, फोटो टाँसेर विधानको निर्ममतापूर्व हत्या गरियो । प्यानलमा सदस्य बढाउन आफै शुल्क तिरी दिने, वस रिजर्भ र सिंगै बंगुरको व्यवस्था जस्ता घृणित र फोहोरी परिदृश्यहरु सार्वजानिक भएका छन । हाम्रा मान्छेहरु दुई चोक्टा फाक्सा, एक गिलास रक्सी र केही दश पाउण्डमा विक्रि भए । दुई उपाध्यक्ष उमेद्वारका मत बरावरी हुंदा गोलाप्रथा वा पुन निर्वाचन गर्ने सामन्य परम्परालाई तोडेर दुवैले बाँडीचुडी पद ग्रहण लिने घीनलाग्दो यही अधिवेशनमा देखियो ।

निर्वाचन सम्वन्धि नियमावली २०२० अनुसूचि १ निर्वाचन आचारसंहिता दफा ४  मा “प्यानल घोषणा गरी निर्वाचनमा भाग लिन पाइने छैन”भनिएको छ । यस्तै परिच्छेद ४, दफा ६, सदस्यहरुको अधिकार एवं कर्तव्य र सदस्यताको समाप्तिमा आचारसंहिता मान्नुपर्ने कर्तव्य र सोही परिच्छेदको उपदफा ६-६: “विधानको धारा ६-२ बमोजिम आफ्नो कर्तव्यको पालना नगर्ने कुनै पनि सदस्यको साधारण, आजीवन, संरक्षक र मानार्थ सदस्यतालाई किरात याक्थुङ चुम्लुङ यूकेले खारेज गर्न सक्नेछ ।

हाम्रो मान्छेलाई सरम लाग्ने दिन कहिले आउला ? नांगो रुपमा प्यानल बनाएर चुनाव लड्नेहरुले विधान उलङघन गरेका छन । यस्तो अवस्थामा उनीहरुको सदस्यतासमेत खारेज हुनुपर्ने विधानमा स्पस्ट छ ।

 

महिला विरोधी  चुम्लुङ 

नेतृत्वको मानसिकता र चुम्लुङको विधाननै महिला विरोधी छन । कहिले महिलाको सुरक्षित उपाध्यक्ष पद एकदुई जनाको सनकमा हटाईन्छ । अझ चित्त नबुझि अर्को समूहले समनान्तर माङगेना चुम्लुङ खोले । त्यो संस्था निकाम्मा भएपछि चुम्लुङको अधिकारिक थामेन्दिङ चुम्लुङलाई निरन्तर प्रहार गरियो । किनकि उनिहरु राम्रो काम गरेको देख्न सक्तैनन । कारण थामेन्दिङमाले दुई दशक यूके चुम्लुङले नगरेका ऐतिहासिक काम गरेको थियो ।

अहिले चुम्लुङमा महिलाको प्रनिधित्व लाजमर्दो छ । महिला शसक्तिकरणको लागि उपाध्यक्ष, सचिव, सहकोषाध्यक्ष जस्ता पदहरु संरक्षण गर्न जरुरी छ । हरेक शाखाबाट १ जना महिला र १ जना पुरुष केन्द्रीय कार्यसमितिमा चयन गर्ने व्यवस्थाले महिलाको प्रतिनिधित्व ४० प्रतिशतको हाराहारीमा आउछ । नेपालको चुम्लुङको विधानमा यसरीनै आधा महिला नेतृत्वमा आएका छन ।

 

तुम्याहाङ (सल्लाहका) नै गुटवन्दीका मतियार           

परम्परागत तुम्याहाङ प्रणालीको रुप सल्लाहकार मानिन्छ । सल्लाहकार कार्यकारी पद होइन र एउटै व्यक्तिलाई पटक पटक दोहोर्याउन हुदैन । सातौं अधिवेशनदेखि संस्थाको मतियारको काम आजीवन सल्लाहकारले निरन्तर गर्दै आएका छन । उनीहरुबाट आफ्नो पक्षका उमेदवार बनाउने, जुवाई, छोरी, सालो, भान्जालाई पुरस्कारको लागि खुलेर लविङ गर्ने घृणित काम निरन्तर दोहोरीएका छन ।

यस्ता गुटगत सल्लाहकार चरित्रले चुम्लुङ फुट्दैन भन्न सकिन्न । ग्रेटर लण्डनको अवधारणा यस्तै गुटबाट जन्मेका अवैध सन्तान हुन र यसका मतियार सल्लाहकार थिए ।

निश्चितरुपमा चुम्लुङका पूर्व अध्यक्ष वा समाजमा लामो काम गरेका व्यक्तिहरुसंग आम सदस्यहरु भन्दा धेरै अनुभव हुन्छनै । तर एउटै मान्छे पटक–पटक सोही पदमा वसेपछि व्यक्तिको महत्वकाक्षा बढ्दै जान्छ । संस्थाभित्र विस्तारै चलखेल सुरु भयो । अनुभवले गर्दा उसलाई संस्थाको सबै नालीबेली थाहा हुन्छ र आफ्नो इच्छाअनुसार संस्थालाई नियन्त्रणमा लिन अनेक षडयन्त्र गर्न थाले ।

एक व्यक्ति एकपटक मात्र सल्लाहकार हुने र याक्थुङको उद्गमस्थल ताप्लेजुङ, पान्थर, इलाम, तेह्रथुम, धनकुटा र संखुवासभा, महिला, येवा फेदाङमा, सेवासावा एक समावेसी सल्लाहकार सबै क्षेत्र, लिंग र समुदायको समानुपातिक समावेसी र सहभागितामूलक प्रतिनिधित्व हुनेगरी व्यवस्था गरेमात्र चुम्लुङले सहि गति लिन सक्ने देखिन्छ ।

 

अब के गर्ने

सामाजिक संस्था चुम्लुङ गुटगत चुनाव हुनु थालेपछि यसले संस्थागत विकास हुन सकेन । एउटाले बनाएको विधान अर्को आउनसाथ तुरन्तै संसोधन गर्ने, चुनाव जितेपछि अर्को गुट संस्थाका महत्वपूर्ण कार्यक्रमहरुमा सहभागी नहुनेजस्ता विकृतिहरु विद्यमान छन । राष्ट्रिय अधिवेशन राजनीतिक दलजस्तै चुनावमुखी भएकाले संस्थाको महत्वपूर्ण एजेण्डाहरु ओझेल परे । चरम गुटवन्दी, आर्थिक चलखेल, सभा हलमा धेरै भेला भएकाले निर्वाचन, खानपान र स्वास्थ्य सुरक्षालगायत व्यवस्थापनमा गम्भीर समस्या आएको थियो । अधिवेसन दुईदिनसम्म चलेकाले २० औं हजार पाउण्ड खर्चेका कारण कोषमा ठूलो नोक्सानी भयो ।

चुम्लुङको संस्थागत विकास र फुटबाट जोगाउन केन्द्रीय राष्ट्रिय महाधिवेशनको सहभागिता हुने ढाँचा पूरै परिवर्तन गर्नु अपरिहार्य छ । हाल कायम रहेको २००० भन्दा बढी सदस्य सबै भेला हुने व्यवस्थालाई हटाएर १० सदस्य बरावर १ महाधिवेशन प्रतिनिधि हुन पर्छ ।

खासगरी नेतृत्वमा बसेका केही कुरो नबुझ्नेहरुका लागि म तुक शब्दमा भन्छु, केवाईसी यूकेका भए भरका सदस्य नभएर प्रतेक शाखाबाट निर्वाचित १० सदस्य बराबर १ प्रतिनिधि राष्ट्रिय महाधिवेशन पठाउने सभ्य समाजले अभ्यास गरि रहेको प्रणालीमा जानुपर्छ । कुनै शाखामा १०८ सदस्य छन भने सो शाखाले ११ जना प्रतिनिधि पठाउन सक्छन । प्रतिनिधिका अतिरिक्त केन्द्रीय कासमितिका सदस्य, केन्द्रीय कार्यसमितिले नियुक्त गरेका बिभागीय प्रमुखहरु, शाखा चुम्लुङका अध्यक्ष र सचिव महाधिबेशनमा सहभागीको व्यवस्था गरिनु वान्छनीय हुन्छ । अन्तमा महाधिवेशनमा सहभागी प्रतिनिधिनै नेतृत्व चयनका मतदान गर्दछन  ।

केन्द्रबाट कम्तिमा ३ महिना पहिले शाखा अधिवेशन सम्पन्न गर्ने परिपत्र जारी गर्नुपर्दछ । शाखाले आफ्नो सदस्य संख्याअनुसार १०।१ सदस्य चयन गरी प्रतिनिधिको नाम तोकेर राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि पठाउनेछ । चुम्लुङ यूकेको जम्मा २५०० छन भने १०।१ को प्रतिनिधि २५०, १६ शाखाबाट शाखा अध्यक्ष, सचिव र शाखामा निर्वाचित केन्द्रीय सदस्य र अन्य जोड्दा ।महाधिवेशनमा भाग लिनेको संख्या बढीमा ३२० पुग्छ ।

प्रतिनिधिले मात्र अधिवेशनमा भाग लिने एकमात्र व्यवहारिक विधि हो । संख्याको आधारमा प्रतिनिधि चयन हुंदा शाखाहरुलाई सदस्य विस्तार गर्न दबाव हुन्छ र अन्ततः चुम्लुङको आकार ठूलो हुंदै संस्थागत विकास हुन्छ । यसले राष्ट्रिय महाधिवेशनमा भीड हुने प्रवृतिको अन्त हुन्छ । आफ्नो मान्छे जिताउनैपर्ने मानसिकताले १० औं अधिवेशनमा जेष्ट नागरिक अशक्त सदस्यहरु ४ घण्टा लाईनमा वसेर मतदान गर्नु वाध्य बनाइयो । शाखाबाट छानिएका प्रतिनिधिहरु सामन्यभन्दा चुम्लुङ बुझेका हुनाले सभाको गरिमानै शानदार बनिदिन्छ ।

अहिलेको गाईजात्रे प्रणालीले याक्थुङ समुदाय धेरै बसोवास गर्ने आसफोर्डजस्ता शाखा, नेपालको जिल्लागत वा धेरै दाजुभाइ, नातानाला, ठूलो राजनैति दलजस्ता गुटबन्दीले आश्रय पाउछ । गुटले अहिलेको जस्ता असक्षम नेतृत्व निर्वाचित हुन्छन ।

१० औं महाधिवेशनमा २०४० मतदातामध्ये ५८० सदस्यलेमात्र मतदान गरेको पाइयो । १४६० सदस्य बिना नेतृत्व चयन प्रणालीलाई कसरी प्रजातान्त्रिक मान्ने ? प्रस्तावित प्रतिनिध  १०।१ प्रणालीमा शाखामा छानिएका प्रतिनिधिले पुरै २०४० को प्रतिनिधत्व गर्ने थियो । हरेक शाखा सदस्यहरुले चुनेर पठाएका प्रतिनिधिहरुले सिंगो शाखाको प्रतिनितित्व गर्दछ ।

वर्तमान निर्वाचन प्रणाली विस्थापन गरी अरु बिकल्पहरुमा जान अपरिहार्य भएको बहस गर्दै आफैले धेरै पहिदेखि कार्यविधि अर्थात निर्वाचन प्रणाली बिषयमा लिखित दस्तावेजसमेत पटकपटक पेश गरेकै हो । सभ्य समाज यसरीनै अगाडि बढिरहेको अवस्था छ । यूके चुम्लुङ अधिवेशन असभ्य जमातहरुको झुण्डको रुपमा हामी आफै अभ्यास गरिरहेका छौं ।

यो प्रणाली बारेमा पहिलेपनि वहस भएको थियो तर केही कुरा नबुझ्ने सदस्यहरुले चुम्लुङ तिमीहरुको राजनीति पार्टी होइन भनेर उडाए । सामाजिक संस्था भएपनि आखिर निर्वाचन गर्नैपर्ने भएपछि यो प्रणाली प्रजातान्त्रिक र व्यवहारिक देखिन्छ । स्मरण रहोस नेपालको चुम्लुङ, जनजाति महासंघहरु पनि स्थपना कालदेखि यसरीनै चल्दै आएका छन र खासै समस्या भएको छैन ।

चक्रिय प्रणालीमा रहेर यूके चुम्लुङका १६ शाखाले पालैपालो केन्द्रीय अध्यक्ष र बाँकी पदहरु क्षेत्र, लिंग सबै समुदाय समिटिने नेतृत्वमापनि बहस गर्न सकिन्छ । हालसम्म अध्यक्ष हुने लाहुरेहरुमा क्याप्टेन १ (बम), लेप्टेन १ (श्रीप्रसाद), सार्जन्ट मेजर ३ (डम्बर, सुभाष, काजीमान), कलर सार्जन्ट १ (तिविक्रम), ३ कर्पोल दर्जाका (केजे, दिलसिं, नरबीर) हुन । लिम्बुवानको जिल्लामा ताप्लिजुंग ६, पान्थर र तेह्थुम दुई दुई अध्यक्ष भइ सकेको अवस्था हो ।

समानुपातिक र समाबेसीका हिसावमा महिला र गैर लाहुरेहरु यो अबसरबाट वञ्चित भएको देखिन्छ । पहाडी जिल्ला इलाम, संखुवासभा र धनकुटाले अध्यक्ष पाएको छैन । यस्तै लाहुरे समुदायमा तल्ला दर्जाकाले अवसर पाएका छैनन  ।

 

– hembya60@gmail.com

Related Articles

Back to top button