नेपाल–कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौँ, २० साउनः परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र दक्षिण कोरियाबीच हवाई सम्पर्क, व्यापार, पर्यटन, शिक्षा, प्रविधि तथा जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका उक्त मुलुकका राजदूत पार्क तेयोङसँग आज आफ्नै कार्यकक्षमा भएको बिदाइ भेटमा उहाँले दुई देशबीच व्यापार, स्वास्थ्य र शिक्षालाई सहकार्यका प्राथमिक क्षेत्रका रूपमा अघि बढाउनुपर्ने बताउनुमा जोड दिनुभएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री खनालले लगानीका लागि नयाँ–नयाँ क्षेत्र पहिचान गर्न आवश्यक भएको बताउँदै ऊर्जा र उत्पादन क्षेत्रसँगै पारस्परिक सहकार्यका अन्य क्षेत्रमा पनि साझेदारी विस्तार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले शिक्षा क्षेत्रमा दुई देशका अनुसन्धान संस्थाबीच सहकार्य अभिवृद्धि गर्नुपर्नेमा पनि जोड दिँदै दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपीएस) नेपाल– कोरिया सम्बन्धको नमूना बनेको बताउनुभयो । यसबाट दुई देशका जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनेको परराष्ट्रमन्त्रीको कथन थियो ।
राजदूत पार्कले नेपालमा सेवा गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै आफू जहाँ रहे पनि नेपाललाई कहिल्यै नबिर्सने बताउनुभयो । उहाँले नेपालको सांस्कृतिक विविधताको प्रशंसा गर्नुभयो ।




