धनकुटाको पाख्रीबासमा बेवारिसे पुरुषको शव फेला

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा एक बेवारिसे पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार असार १४ गते साँझ करिब ७ः३० बजे पाख्रीबास नगरपालिका–८ सुनवालुवा स्थित सोनवर्षा जंगलमा एक पुरुष मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पाख्रीबासबाट प्रहरी नायव निरीक्षकको नेतृत्वमा टोली घटनास्थलतर्फ खटिएको थियो।
घटनास्थलमा पुगेर प्रहरीले हेर्दा तत्काल नाम, थर र वतन नखुलेका अन्दाजी ४० देखि ४५ वर्ष उमेरका पहाडी मूलका जस्तो देखिने एक पुरुषको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
मृतकले लगाएको तल्लो वस्त्र विद्यालयका कर्मचारीले प्रयोग गर्ने पाइन्ट जस्तो देखिएको बताइएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी टोली खटिई कानुनी प्रक्रिया पूरा गरी शवलाई जिल्ला अस्पताल धनकुटाको शवगृहमा राखिएको छ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




