स्थानीय

बाहुनडाँगीमा हात्तीभन्दा बढी बाँदर आतङ्क

झापा, २७ फागुनः मेचीनगर नगरपालिका–४ मा हात्तीभन्दा बढी बाँदरले आतङ्क मच्चाउन थालेको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार बाँदरले खेतबारीमा लगाएको अन्नबाली मात्र नभएर घरमै भण्डारण गरेको अन्न र पकाएर राखेको भातसमेत खाइदिएर हैरान पारेको छ ।

कोरोना महामारीका समयमा बस्ती पसेका बाँदरले निरन्तर दुःख दिन थालेपछि स्थानीय हैरान भएका हुन् । वडा नं ४ की ४५ वर्षीया लीला बस्नेतले बाँदरका कारण बसाइँ सर्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । “बारीको त कुरा छाडौँ, न पकाएर राखेको भात पनि खान पाउन छाडियो,” उहाँले भन्नुभयो, “हात्तीले त दुःख दिएकै थियो अब बाँदरले पनि बसिखान दिएन, बसाइ नै हिँड्नुपर्ने भइसक्यो ।” उहाँले पहिला पहिला मान्छे देख्ने बित्तिकै भाग्ने बाँदर अचेल महिला केटाकेटी मात्र देखे भने झम्टिएर आउने गरेको बताउनुभयो ।

बारीमा लगाएको मकै, गहुँ, केरा, सुपारीलगायत मौसमी अन्नबाली र फलफूल सबैमा बाँदरले क्षति गर्दै आएको स्थानीय कुसुम गौतमले बताउनुभयो । स्थानीय क्षेत्रको चिया बगान, सामुदायिक वन र बाँसघारीलाई बासस्थान बनाएर बसेका बाँदर नखेद्ने हो भने बाँहुनडाँगीवासीले गाउँ छाडेर हिँड्नुको विकल्प नभएको उहाँको भनाइ छ ।

मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले विगत पाँच वर्षदेखि बाहुनडाँगी क्षेत्रमा बाँदरले दुःख दिँदै आएको बताउनुभयो । उहाँले हाल बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्कभन्दा बाँदर आतङ्क बढी भएको बताउनुभयो । “हात्तीले त खेतबारीको अन्नबाली मात्र खाइदिन्थ्यो”, उहाँले भन्नुभयो, “बाँदरले त चुलोमा पकाएर राखेको भात नै खाइदिँदोरहेछ, यसको नियन्त्रणबारे छलफल भइरहेको छ विधि पत्ता लगाउन सकेका छैनौँ ।”

उहाँले किसानलाई थोरै भए पनि राहत उपलब्ध गराउने उद्देश्यले वन्यजन्तुबाट अन्नबालीमा पु¥याएको क्षतिको वडामा परेका निवेदनका आधारमा राहत दिँदै आएको बताउनुभयो । उहाँले किसानलाई राहत दिने उद्देश्यले नै निकट भविष्यमै बाहुनडाँगीवासीका सबै प्रकारका कृषि बालीमा बिमा गरिदिने सोच राखेको बताउनुभयो ।
–––

Related Articles

Back to top button