स्थानीय

धनकुटाको लेगुवामा विद्युत् सर्ट भई आगलागी, ४ लाख २२ हजार बराबरको क्षति

धनकुटा,८ असार । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवास्थित शिवरात्री टोलमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब ४ लाख २२ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार बिहान करिब ४ बजे स्थानीय शिवकुमार तुम्बाको टिनको छानो तथा काठपातले बनेको दुईतले घरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको हो। आगलागीबाट घरको माथिल्लो तल्ला पूर्ण रूपमा जलेर नष्ट भएको छ।

आगलागीका कारण संखुवासभाको पाँचखपन नगरपालिका–७ घर भई हाल सोही घरमा डेरा गरी बस्दै आएकी मिना चापागाईको खाद्यान्न, लत्ताकपडा, भाडावर्तन, एक थान ल्यापटप, एक थान एलसीडी टेलिभिजन तथा एक थान मोबाइल जलेर करिब १ लाख ५२ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

त्यसैगरी घरधनी शिवकुमार तुम्बाको घरको काठपात, खाद्यान्न (धान, मकै) तथा लत्ताकपडा जलेर करिब २ लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

प्रहरी चौकी लेगुवाबाट प्रहरी सहायक निरीक्षक गोविन्द दासको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा बिहान ५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Related Articles

Back to top button