सडक सुविधाले किचकबध र कचनकबलमा पर्यटकीय चहलपहल

चन्द्रकला भण्डारी/रासस
झापा, २८ वैशाख : प्रसिद्ध पर्यटकीयस्थल किचकबध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ ।
भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको किचकबध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ ।
त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीयस्थल महेन्द्र राजमार्गको विर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् ।
कचनकबललाई जोड्ने सडक हाल कालोपत्र भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्र सडक पुगिसकेको किचकबध धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताउनुभयो ।
“काँकरभिट्टा, भद्रपुर, चारआली र विर्तामोड जताबाट आए पनि कालोपत्र सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्नुहुन्छ, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले किचकबध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्र पुर्याइने आशा गरेका छौँ ।”
किचकबध क्षेत्रको उत्खननबाट पुरातत्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उहाँले बताउनुभयो । पुरातत्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आउनुभएका उद्धव आचार्यले बताउनुभयो ।
उहाँका अनुसार उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँचवटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् ।
विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि किचकबध धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ ।
यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिदै गएको हुँदा किचकबध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिनुभयो ।
नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्र सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताउनुभयो ।
“विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्नुहुन्छ, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँचमार्ग अहिले कालोपत्र भइसकेको छ ।”
उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उहाँले बताउनुभयो । कचनकबल पुग्ने सडक कालोपत्र भएपछि दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उहाँले जानकारी दिनुभयो ।
भ्रमणका लागि पुग्नु भएका विर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्र सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताउनुभयो ।
महेन्द्र राजगार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीयस्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।




