समाचारसाहित्य सिर्जना

नवाैँ वातावरण साहित्य गाेष्ठी सम्पन्न

उत्कृष्ट तीन पर्या कविता घाेषणा

५ जुन, लन्डन । विश्व नेपाली साहित्य महासंघ (विनेसाम) ले नवौं वातावरण साहित्य गोष्ठी सम्पन्न गरेको छ । भर्चुअल रूपमा आयोजना गरिएको कार्यक्रममा चार दर्जनभन्दा बढीु सर्जकले पर्या सिर्जना (कविता, मुक्तक, गजल, गीत, लघुकथा र हाइकु) वाचन गरेर सुनाए ।

विश्व वातावरण दिवसकाे अवसर पारेर आयोजना भएको साहित्य गोष्ठीमा प्रमुख अतिथि- संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान पूर्वकुलपति, पागल बस्ती उपन्यासका लागि मदन पुरस्कार प्राप्त साहित्यकार सरुभक्त थिए । पचासको दसकमा पोखराबाट आफूले संरक्षण कविता यात्रा संयोजन गरेको स्मरण गर्दै ‘वैदिक कालमै मानिसलाई पृथ्वीको चिन्ता थियो, त्यसर्थ अहिले आएर विश्वको वातावरणप्रतिको चिन्ता नयाँ होइन वातावरणीय समस्या नयाँ हुन्’ भनेर आफ्नो मन्तव्यको क्रममा बताए ।

त्यसैगरी विशिष्ट अतिथि समालोचक एवम् साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईले आफूले लेखेको सिद्धान्तको पुस्तक ‘उत्तर आधुनिक विमर्श’ मा ‘इको क्रिटिसिजम् सिर्जना तथा समालोचनाको नविनतम क्षेत्र’ भनेर एक अध्याय लेखेको जानकारी दिँदै अब साहित्यकारले पर्या चिन्तनतिर लागेर सिर्जना कोर्नुपर्ने बताए । साथै समाजशास्त्र, राजनिति, पर्यावरणीय, जैविकशास्त्रीय, वन विज्ञान, अर्थशास्त्र, जलवायु परिवर्तन विषयहरुको समिस्श्रण पर्या साहित्य भएको जनाए ।

कार्यक्रमका मुख्य वक्ता राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत वातावरण अधिकृत रीना चौधरीले समग्रमा नेपालको वातावरणीय अवस्थाबारे औंल्याए । उनले अहिलेको मनसुन सिजनमा बाढीपहिरो जस्ता विपत व्यवस्थापन गर्न सरकारको पूर्वतयारी पूर्ण भैसकेको पनि जानकारि दिइन् । वन तथा डढेलो नियन्त्रण र व्यवस्थापनको जिम्मेवारी वहन गरेकी चौधरीले नेपालमा अधिकांश डढेलो मानविय कारणले हुने भन्दै यसको नियन्त्रणमा सरकारसँग स्रोत र साधन कमी रहेको दुखेसो व्यक्त गरिन् ।

यसैबीच, साहित्यपोस्टले पर्या–अभियन्ता तथा साहित्यकार विजय हितानसँगको सहकार्यमा ‘पर्या–साहित्य’ खण्ड सुरु गरेको छ । यस अन्तर्गत वि.स. २०८० सालभरिमा साहित्यपोस्टमा प्रकाशित पर्या–कविताहरुबाट उत्कृष्ट ३ को छनोट गरि यसै कार्यक्रममा ती कविहरुको नाम पनि घोषणा गरिएको थियो ।

उत्कृष्ट ३ कवितामा प्रथम किशन पौडेलको ‘बुढो बागमतीको आलाप’, दृतीय समीम वैरागीको ‘नदुखाइदिनु मेरो छाती’, र तृतीय भारती न्यौपानेको ‘धरा’ भएको छ ।

खुपेन सुनुवारको ‘आदिम हिमनदीको विद्रोह अधुनिक सभ्यताविरुद्ध’, नारायण भट्टराईको ‘भिजेको सिरानीमाथि हरिया सपना’, प्रज्ज्वल अधिकारीको ‘औरही नदी’, राजु प्रधान हिमांशुको ‘दन्तेकथा जस्तो लाग्छ मेरो नातिलाई’, रुपा थापाको ‘पृथ्वी बलिरहेछ’, शरद्शोभाको ‘सच्चा राष्ट्र सेवक’, र सुमन भट्टराईको ‘पर्या–क्रान्ति’ उत्कृष्ट १० कवितामा परेका छन् ।

वासुदेव अधिकारी, विमला तुम्खेवा र विजय हितान सम्मिलित तीन सदस्यीय निर्णायकको समूहले यो निर्णय गरेको हो ।

प्रथम, द्वितीय र तृतीय हुने कविताका सर्जकहरुलाई क्रमशः रू १५ हजार, १० हजार र ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने छ । पुरस्कृत कविहरुलाई विनेसाम केन्द्रले दसैँ–तिहारबिचमा काठमाडौंमा आयोजना गर्ने ‘विश्व सम्मेलन’का बिच भौतिक रुपमै पुरस्कार प्रदान गर्नेछ ।

यो वर्षको वातावरण दिवसको नारा ‘भूमि पुनस्र्थापना, मरुभूमिकरण र खडेरी प्रतिरोध’ रहेको थियो ।

सन २०१६ मा लन्डनदेखि सुरु भएको वातावरण साहित्य गोष्ठीको यो नवौं शृङ्खला हो । नेपालमा पर्या साहित्यलाई साङ्गठानिक तरिकाले प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाली पर्या साहित्य प्रतिष्ठान’को स्थापना पनि गरिसकिएको विजय हितानले जानकारी दिए ।

गोष्ठीमा विनेसाम नेपाल प्रमुख तथा संगठन सचिव कल्पना पौडेल जिज्ञासुले स्वागत मन्तव्य राख्नु भएको थियो । विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभापतित्वमा चलेको कार्यक्रमको संयोजन तथा सञ्चालन विनेसाम केन्द्रीय उपाध्यक्ष विजय हितानले गरेका थिए । गाेष्ठीमा विश्वभरबाट सय बढी सर्जकहरूको सहभागिता रहेको थियोे ।

Related Articles

Leave a Reply

Back to top button