
२५ मार्च, इटहरी । नझरेका फूलहरूले चैत्र १५ गते साँझ नेपाली साङ्गीतिक क्षेत्रकी लोकप्रिय गायिका एवम् अभिनेत्री पवित्र सुब्बालाई विशेष साङ्गीतिक समारोहका बीच सम्मान गर्न लागिएको जनाएको छ । कार्यक्रम सुनसरीको इटहरी चोक स्थित सेन्ट्रल प्लाजामा रहेको होटल बरन्डामा हुनेछ।
चालीसको दशकदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय सुब्बाका तिमी तारेभीर,याङ्जी नाना,कहिले प्रीतिको फूल,तिम्रो जोबन, सिरानीले बिझायो कि, पाएँ मैले तिम्रो चिठी, चोखो छ है लगायतका सयौँ गीत लोकप्रिय छन् । उनको मुख्य अभिनय रहेको ‘मितेरी गाउँ’ दर्शकले अत्यन्तै मन पराएको चलचित्र हो ।
नझरेका फूलहरूले स्रष्टा सम्मानको नियमित शृङ्खला अन्तर्गत गायिका पवित्र सुब्बा सम्मान साँझ आयोजना गर्न लागेको नझरेका फूलहरूका प्रस्तुतकर्ता केपी घिमिरेले बताए । कार्यक्रममा अन्य गायक गायिकाको समेत प्रस्तुति रहने घिमिरेले जानकारी दिएका छन् ।




