समाचार

मिक्लाजुङकाे भगवती आधारभूत विद्यालयमा अक्षयकोष स्थापना

५ जून, पान्थर ।  मिक्लाजुङ गाउँपालिका-१, सराङडाँडास्थित सिङ्हाङमा रहेको श्री भगवती आधारभूत विद्यालयमा शैक्षिक सुधार अक्षयकोष अभियान थालिएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर र भौतिक सुधारमा सहयोग पुर्याउने उद्देश्यले विद्यालय परिवार, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीयवासी र सरोकारवालाको सक्रियतामा अभियान सुरु गरिएको अभियानका आर्थिक संयोजक चिरञ्जीवी राईले जानकारी दिए । अक्षयकोष स्थापनामा आर्थिक सहयोग गर्ने दाताहरुको लहर बढ्न थालेको उनले बताए । यस विद्यालयका पूर्वविद्यार्थी र स्थानीय युवा हाल वैदेशिक रोजगारीमा कार्यरतहरुले सामुदायिक विद्यालयलाई सबल बनाउन सरकारको मात्रै मुख ताक्न नहुने भन्दै देशविदेशबाट सहयोगमा जुटेका छन् ।

यसैबीच, विद्यालयको शैक्षिक उन्नतीमा उर्जा प्रदान गर्न बुधबार एक कार्यक्रमको आयोजना गरी मिक्लाजुङ-१ वासी उत्तरे शेर्मा परिवारको तर्फबाट आफ्ना बुबा स्व.देवप्रसाद शेर्मा र आमा लक्ष्मीकुमारी शेर्माको नाममा एक लाख पाँच हजार नगद रुपैयाँ दाता परिवारका जेठा छोरा महेन्द्र शेर्मा र बुहारी जयकुमारी राईले समितिलाई  हस्तान्तरण गरेका छन् । सोही अवसरमा स्थानीय समाजसेवी गजुरमान राईले आफ्नी दिवंगत श्रीमतीको स्मृतिमा पचास हजार रुपैयाँ अक्षयकोषमा रकम प्रदान गरे । अक्षयकोषमा हालसम्म २ लाख ४६ हजार ९६५ रुपैयाँ रकम संकलन भएको जनाइएको छ ।

अक्षयकोष रकम हस्तान्तरण समारोह मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष सन्तकुमार शेर्माको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समिति अध्यक्ष पंचकुमार चेम्जोङको अध्यक्षतमा सम्पन्न भएको थियो । प्रमुख अतिथि शेर्माले सहयोगी दाताहरुलाई बधाई दिंदै आफूले अध्ययन गरेर हुर्किएको विद्यालयको इतिहास बचाउने सकारात्मक सोचका साथ अभियान थालनी गर्ने सबै सरोकारवालाहरुलाई शुभकामनासहित धन्यवाद दिएका छन् ।

आगामी वर्षदेखि गाउँपालिकाले शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सबै विद्यालयमा ईन्टरनेटको पहुँच पुर्याउने, ई-हाजिरी र आवश्यकता अनुसार भौतिक पूर्वाधारमा सुधार गरिने योजना रहेको बताए । २०७८ सालको अविरल वर्षाले मिक्लाजुङ गाउँपालिकाभित्रका धेरै संरचना भत्काएकोले जीर्ण रहेका भवन सुधारका लागि विद्यालयले माग पेश गरे अनुसार मर्मत र निर्माण गरिने जानकारी दिए ।

गुणस्तरीय शिक्षाको सुधार कुनै एक पक्षको प्रयासले मात्र सम्भव छैन । सबै सरोकारवालाहरूले आ-आफ्नो जिम्मेवारी पूरा गर्दै सामूहिक रूपमा सहकार्य गर्दामात्रै शिक्षामा सुधार सम्भव हुने उनले बताए । विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक, सरकार र समुदायबीचको सहकार्यलेमात्र दीगो विकास र समृद्ध समाजको परिकल्पना गर्न सकिने उनले धारणा राखे ।

प्रधानाध्यापक रमेशचन्द्र नेउपानेले विद्यालयको गतिविधि र आवश्यकतासहित अक्षयकोष स्थापना अभियान संचालन थालिएको प्रष्ट्याउँदै  समाज रुपान्तरणमा शिक्षाको महत्वपूर्ण भूमिका रहने हुँदा भौतिक संरचनासँगै गुणस्तरीय पठनपाठनका लागि सरोकारवालाहरु सबैले जिम्मेवारी बहन गर्न उनले आग्रह गरेका छन् । मिक्लाजुङ-१ मा २०१३ सालमा स्थापना भएको यस विद्यालयमा ८ कक्षासम्म पठनपाठन भइरहेको छ । विद्यालयमा बालशिक्षासहित नौवटा कक्षा छन् । यहाँ  छजना प्रावि तहका दरबन्दी शिक्षकमध्ये तीन स्थायी र एक राहत गरी चार जना, निमावितर्फ एक राहत र एक अस्थायी करार गरी दुईजना शिक्षक छन् । बालविकासमा एकजना र एक प्रावि निजी साथै दुईजना कार्यालय सहयोगी गरी जम्मा १० जना कर्मचारी भएता पनि दुईवटा दरबन्दीको अभावसँगै सबै कक्षामा पर्याप्त शिक्षक नभएको उनले बताए । विद्यालयको छ रोपनी आफ्नो जमिन, खेल मैदान टाढा, माटो र ढुंगाले निर्माण गरिएका संरचना छन् । केही पुराना भवनको अवस्था जीर्ण हुँदै गएकाले जोखिमको सम्भावना बढेको प्रअ नेउपानेले बताए ।  हाल चारवटा भवनका १० वटा कोठामा जोखिम रहेको उनले बताए । व्यवस्थित शौचालय, विद्यालय परिसरमा घेराबारासँगै प्रवेशद्वारको आवश्यकता रहेको उनले बताए । दयनीय भौतिक पूर्वाधारले विद्यार्थीको मनोविज्ञानमै असर पार्ने, असुरक्षित भवन र कक्षाकोठाले आकर्षण घटाउनेमात्र होइन, पढाइमा केन्द्रित हुन नसक्ने समेत उनको भनाइ छ । हाल यस विद्यालयमा जम्मा ३८ जना विद्यार्थी अध्ययनरत छन् ।

मिक्लाजुङ गाउँपालिकामा जम्मा ५६ वटा सामुदायिक विद्यालय मध्ये ११ वटा माद्यमिक विद्यालय छन् । पछिल्लो समय पहाडी क्षेत्रका अधिकांश बस्तीका मानिसहरू वैदेशिक रोजगारीमा जाने क्रम तीब्र छ । उनीहरुको परिवारका छोराछोरी गाउँबाट सुविधा सम्पन्न ठाउँमा अध्ययन गर्न जाने चलन बढेसँगै सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून छ । यसैको मारमा यो विद्यालय पनि अछुतो छैन ।

कार्यक्रममा मिक्लाजुङ कार्यपालिका सदस्य शमशेर राई, वडासदस्य धनराज राई, विव्यस पूर्वअध्यक्षद्वय भोगेन्द्र आङ्देम्बे र डम्बर आङ्देम्बे, श्री खान्द्रुङ माविका शिअसं अध्यक्ष महेन्द्र राई, समाजसेवी प्रवीण राई, सन्तोषविक्रम आङ्देम्बेलगायतले मन्तव्य राखेका थिए । अक्षयकोषदाता गजुरमान राईले यस विद्यालयको इतिहास र वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै सुझावसहित शुभकामना दिए । यस विद्यालयका पूर्वविद्यार्थी एवं दातापरिवारका सदस्य बच्चु हिमांशु (कैलाश शेर्मा)को विशेष पहलमा आयोजना गरिएको कार्यक्रममा उनले शुभकामना दिंदै यस शैक्षिक संस्थालाई सबैले माया गर्नुपर्ने बताए । उत्तरे शेर्मा परिवारको तर्फबाट जेहेन्दार दुईजना छात्रछात्रालाई पुरस्कृत गरिएको र आगामी शैक्षिकसत्रबाट निरन्तरता दिइने जनाए । यस वडामा बुद्धिचाल, चित्रकला र भलिबल प्रशिक्षण छिट्टै आयोजना गरिने र श्री फाक्तेप युथ क्लबमार्फत फुटबल प्रशिक्षणसमेत आयोजना हुने बताए । उनको व्यक्तिगत लगानीमा प्रवेशद्वारमा आकर्षक विद्यालयको बोर्ड र विद्यालयको प्रत्येक कक्षाकोठामा डस्टबिन सौजन्य गर्ने प्रतिबद्धतासमेत जनाउँदै शैक्षिक सुधारमा सहायता पुग्ने विभिन्न आकर्षक कार्यक्रम ल्याउने जानकारी दिए ।

कार्यक्रमलाई समापन गर्दै विव्यस अध्यक्ष पंचकुमार चेम्जोङले सबै शिक्षक र आम अभिभावकले आफ्ना छोराछोरी यसै विद्यालयमा पठपाठन गराउन अनुरोध गरे । शिअसं अध्यक्ष लाखबहादुर आङ्देम्बेले स्वागत मन्तव्य राखेको कार्यक्रम विद्यालयका शिक्षक चन्द्रप्रकाश चेम्जोङले सञ्चालन गरेका थिए ।

Related Articles

Back to top button