धनकुटाको साँगुरीगढी गाउँपालिकाले मनायो १०औँ स्थापना दिवस

हिराराज राई, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले आफ्नो १०औँ स्थापना दिवस फागुन २७ गते बुधबारका दिन भव्य रूपमा मनाएर सम्पन्न गरेको छ।
स्थापना दिवसको अवसरमा गाउँपालिकाले गाउँपालिकाको सभाहलमा विशेष कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा गाउँपालिकाको स्थापना पश्चात भएका विकास गतिविधि, स्थानीय तहको भूमिका तथा आगामी योजनाबारे पनि चर्चा गरिएको थियो। सहभागीहरूले स्थानीय स्तरको विकासलाई थप प्रभावकारी बनाउन जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रमका वक्ताहरूले विगतका उपलब्धिहरूलाई संस्थागत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा पूर्वाधार विकासका क्षेत्रमा आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै स्थानीय स्रोत–साधनको संरक्षण र सदुपयोग गर्दै दिगो विकासतर्फ अगाडि बढ्नुपर्ने धारणा पनि व्यक्त गरिएको थियो।
स्थापना दिवसको अवसरमा केही स्थानीय व्यक्तित्व तथा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो भने सांस्कृतिक प्रस्तुति र शुभकामना आदान–प्रदान कार्यक्रमले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
स्थापना दिवस कार्यक्रम सफल बनाउन सम्पूर्ण साँगुरीगढीवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको सक्रिय सहभागिता रहेको गाउँपालिकाले जनाएको छ।




