‘बारुदले कोरेका अक्षरहरु’ लाई युद्ध साहित्य पुरस्कार

१९ अगष्ट, लन्डन । कवि भीम विरही राईको युद्ध कवितासंग्रह ‘बारुदले कोरेका अक्षरहरु’ लाई युद्ध साहित्य पुरस्कार २०८२ (सन २०२५) प्रदान गरिने भएको छ।
प्रत्येक तीन वर्षभित्र प्रकाशित भएका नेपाली युद्ध साहित्यका कृतिहरुमध्येबाट एक उत्कृस्ट कृतिलाई युद्ध साहित्य पुरस्कार प्रदान गरिदै आएको कुरा युद्ध साहित्य पुरस्कार कोष वेलायतले जनाएको छ । युद्ध साहित्य पुरस्कारको राशि ५० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । युद्ध साहित्य पुरस्कार २०८२ यस वर्षको चैत्र महिनाभित्रमा नेपालमा एक भव्य कार्यक्रको आयोजना गरी प्रदान गरिने छ ।
अन्तराष्ट्रिय परदेशी साहित्य समूहले प्रकाशित गरेको
‘बारुदले कोरेका अक्षरहरु’ मा कवि भीम वीरही राईका
जम्मा ३८ कविताहरु सङ्कलित छन् । यी कविताहरु मुख्य गरी सैनिक जीवन, सेनामा सेवारत रहादा देखे–भोगेका युद्धका विभीषिकाहरु र तिनले निम्त्याउने मानवताको विनाश, गोर्खाली सेनाको इतिहास, प्रेम, पीडा, आशा, सङ्घर्ष र परिवारसँगको विछोड आदि विषयमा लेखिएका छन् ।
भाेजुपर हाेम्ताङ पुर्ख्याैली घर भई हाल धरानमा बसाेबास गरिरहेका कवि राईका ‘विदेशी सिपाही’ (उपन्यास, २०५९), र ‘दबिएका आवाजहरु ’ (कवितासंग्रह, २०६४) प्रकाशित छन् । भीम वीरही राई एक सेवा निवृत भारतीय गोर्खा सैनिक हुन् । उनी हाल अन्तर्राष्ट्रिय परदेशी साहित्य समूहका उपाध्यक्ष तथा विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय काेषाध्यक्ष छन् ।
युद्ध साहित्य पुरस्कार २०७८ (सन २०२२) पहिलोपटक केदार संकेतको उपन्यास ‘अफगानी रणमैदान’ लाई प्रदान गरिएको थियो । युद्ध साहित्यको अभियन्ताहरु गणेश राई, काङमाङ नरेश राई र अप्जसे कान्छाले युद्ध साहित्यको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उद्देश्यले २०७८ (सन् २०२२) मा युद्ध साहित्य पुरस्कारको स्थापना गरेका हुन् ।
युद्ध साहित्यको अभियन्ताहरुले नेपाली युद्ध साहित्य सिद्धान्तको प्रस्तावना सन् २०११ मा पहिलो नेपाली युद्ध कविता संग्रह ‘युद्धमा हराएको प्रेम’ मार्फत गरेका थिए । उक्त कृतिमा नेपाली युद्ध साहित्यको परिभाषा र व्याख्या गरिएको थियो । त्यसपछि सन् २०१४ मा ‘’युद्ध साहित्य सिद्धान्त र सिर्जनाहरू’’ प्रकशित गरी युद्ध साहित्यको थप व्याख्या, विवेचना र विमर्श गर्दै युद्ध साहित्यको अभियानलाई थप सशक्त बनाइएको थियो । युद्ध साहित्यका अभियन्ताहरुले निरन्तर युद्ध साहित्य लेखिरहेका छन् र युद्ध साहित्यको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्दै जाने जानकारी दिएका छन् ।




