समाचार

राससद्वारा मैथिली भाषाको समाचार सेवाबारे अन्तरक्रिया

काठमाडौँ, २५ असारः राष्ट्रिय समाचार समिति (रासस)द्वारा प्रदान गरिने मातृभाषा सेवाअन्तर्गत मैथिली भाषाको समाचार सेवाबारे आज मैथिली सञ्चारकर्मी, सरोकारवाला तथा विज्ञहरूसँग अन्तरक्रिया गरिएको छ ।

राससले राष्ट्रको विविधतालाई सम्बोधन गर्नेगरी मातृभाषाप्रति लिएको जिम्मेवारीको प्रशंसा गर्दै मैथिली भाषामा समाचार लेखनलाई सरलीकरण गरी समाचार प्रस्तुत गरिनु सराहनीय रहेको डा सूर्यप्रसाद यादवले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका मैथिली विभाग पूर्वप्रमुख परमेश्वर कापडीले राससले हालै सुरू गरेको मैथिली सेवालाई अझै विकसित र बलियो बनाउन आग्रह गर्नुभयो । उहाँले मातृभाषा सेवा नयाँ भएकाले यसलाई अहिले नेपाली भाषाको सेवा सरह बलियो हुन नसके पनि राज्यले निरन्तरता दिएमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।

मैथिली भाषामा पत्रकारिता गर्दै आउनुभएका दीपेन्द्र यादवले भन्नुभयो, “राससको मातृभाषा समाचार सेवाले मैथिली पत्रकारितालाई अझै बलियो बनाएको छ र निकट भविष्यमा यस कार्यको योगदानको कदर हुने छ ।”

मैथिली पत्रकारिता चिन्ताजनक रहेकामा हाल मैथिली भाषामा दैनिक पत्रकारिता गर्ने एकमात्र समाचार सेवा प्रदायक संस्था रासस भएको राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बताउनुभयो । उहाँले भन्नुभयो “नेपाली भाषा केन्द्रित मिडियाले पनि मैथिलीलगायत नेपाल भाषा, अवधिलाई आफ्नो वेबसाइटमा स्थान दिएकाले अझै सञ्चारमाध्यमले बहुभाषिकता अपनाउँदै मैथिलीलगायत अन्य भाषालाईसमेत स्थान दिनुपर्ने देखिन्छ ।”

राससका प्रशासन प्रमुख शीतलप्रसाद महतोले मैथिली अनुवादलाई पनि विज्ञहरूमार्फत तालिम तथा अन्तरक्रिया गरी क्षमता अभिवृद्धि गरिदिन रासस सहकार्य गर्न तयार रहकाले सहयोग गरिदिन विज्ञहरूसँग आग्रह गर्नुभयो ।

मैथिली समाचारको भाषाका लागि शैलीपुस्तिका निर्माणमा सहयोग गर्न समाचार महाशाखा प्रमुख सोमनाथ लामिछानेले आग्रह गर्नुभयो । अन्तरक्रियामा नायव महाप्रवन्धक राजु शाक्य, प्रधान सम्पादक उत्तम सिल्वाल, वरिष्ठ कार्यकारी सम्पादक शरच्चन्द्र भण्डारी, पत्रकारहरु अमरेन्द्र यादव, विजेता चौधरी, गोपाल झा, मोहनकुमार सिंह, निमिष झा, विकास वित्सनाभलगायतको उपस्थिति थियो ।

Related Articles

Back to top button