साईप्रस घेदुङको ल्होछार तयारी पूरा, राजु लामा र खेम मोक्तानको बेजोड प्रस्तुति रहने

साइप्रस । नेपाल तामाङ घेदुङ साईप्रसको ‘सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम-२०२०’ को तयारी पुरा भएको छ ।

घेदुङले मञ्जुश्री संवत् २८५६ औँ जिवा/ नाम्युङ ल्हो मुसा बर्गको अवसर पारेर गर्न लागिएको आउँदो फेब्रुअरी २ तारिख आइतबार गर्न लागिएको सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको अध्यक्ष साङ्मु थोकरले जानकारी दिइन् ।

अध्यक्ष थोकरका अनुसार कार्यक्रम लिमासोलस्थित ट्रीकिस पार्टी प्यालेसमा हुने भएको हो । कार्यक्रमलाई बृहत बनाउनका लागि नेपालका चर्चित मंगोलियन हर्टका गायक राजु लामा र तामाङ सेलो गायक तथा मोडल खेम मोक्तानको स्वागत गर्न आतुर छौँ, अध्यक्ष थोकरले भनिन् ।

कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरुसँगै स्थानीयको समेत बेजोड प्रस्तुति रहनेछन् । यसपटक साईप्रस घेदुङको स्थापनाकालदेखि नै साथ र सहयोग गर्दै आएका समाजसेवी ब्रिटिस आर्मी सुरेश कुमार परियारसमेत युकेबाट आउने घेदुङले आयोजकले जानकारी दिए ।

‘बिगतको ल्होछारभन्दा यसपटक पृथ्क ढङ्गले ल्होछार मनाउन लागिरहेकोले साईप्रस घेदुङले उत्साहपूर्वक कार्यक्रमको तयारी पूरा गरेको छौँ ,’ थोकरले भनिन् ‘ फेब्रुअरी २ तारीख आइतबार साईप्रसस्थित संघसंस्थाहरुलाई उपस्थितिका लागि अनुरोध गर्दछौंँ ।’

यसवर्षको ल्होछार कार्यक्रममा शिक्षाको लागि गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्ने हेतुले ‘शिक्षा नै ज्ञानको पहिलो ज्योति हो’ भन्ने मुल नारा तय गरिएको घेदुङकी महासचिव लक्ष्मी ब्लोनले बताइन् । साईप्रसले पहिचान, कला, संस्कार, संस्कृति, भाषा, धर्म र भेषभुषा आदि इत्यादिलाई जोगाई राख्ने उद्देश्यका साथ ‘बृहत ल्होछार सांस्कृतिक कार्यक्रम’ आयोजना गर्न लागेको हो, महासचिव ब्लोनले भनिन् ।

‘तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कृतिको सम्बर्द्धन’ भन्ने मुल नाराका साथ सन् २०१६ को अक्टोबरमा स्थापना भएको घेदुङ साईप्रसले स्थापनाकालदेखि नै राष्ट्रिय पर्व सोनाम ल्होछारमा विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरी मनाउँदै आएको महासचिव लक्ष्मी ब्लोन तामाङले बताइन् ।

चिया, खाप्से, खाजा र खानाको समेत व्यवस्था रहेको कार्यक्रमको विद्यार्थीहरुलाई १५ युरो र अन्यलाई २० युरो प्रवेश शुल्क लाग्ने आयोजकले जानकारी दिए ।

आयोजकका अनुसार कार्यक्रमस्थल सम्म आवतजावत गर्ने पाफोसबाट ८.३० बजे, लार्नकाबाट ८.३०बेजे, पारालिमिनीबाट ८.०० बजे, लिमासोलबाट ९.३० बजे, निकोसियाबाट ८.३० बजे बसको व्यवस्था रहेका छन् ।