समाचारसाहित्य सिर्जना

‘साहित्य समाजको आत्मा हाे’ – पूर्वमन्त्री किराती

स्वर्णिम साहित्य सम्मान र पुरस्कार वितरण

१० मे, बराहक्षेत्र । पूर्व सँस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् सांसद सुदन किरातीले साहित्य समाजकाे आत्मा भएको बताएका छन् । उनले समाज परिवर्तनको संवाहक साहित्य, कला र सँस्कृति भएको भन्दै आत्मा जाेगाउन सबै लाग्नुपर्ने बताए ।

शनिबार बराहक्षेत्र नगरपालिकाकाे ५ नम्बर वडा कार्यालयमा स्वर्णिम साहित्य समाज, बराहक्षेत्रले स्थापनाकाे १९ ओैँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै किरातीले अप्ठ्यारो काम गर्दा आक्षेप आइलाग्ने समेत बताए । ‘म सँस्कृतिमन्त्री भएपछि परिवर्तनको कुरा गर्दा पास्टरकाे आराेप लगाए । कराेडाैँकाे फूलमाला र खदा नलगाउभन्दा मति बिग्रिएकाे भने’,’ नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व संरक्षक समेत रहेका किरातीले थपे, ‘परिवर्तनको एजेन्डामा लाग्दा आक्षेप, प्रत्याराेपहरू आइरहन्छन् ।’ उनले बाँचुञ्जेल स्मृतियाेग्य कृतिहरू मात्रै छाडेर जाने हुनाले मिहेनती संस्कार बसाल्नुपर्ने बताए ।

किरातीले सङ्घीय लाेकतान्त्रिक गणतन्त्रकाे विकल्प निरङ्कुश राजतन्त्र नभएको बताउँदै चित्त नबुझे पात्र र शाषक परिवर्तन गर्न आग्रह गरे ।

स्वर्णिम साहित्य सम्मान र पुरस्कार वितरण

यसैगरी, स्वर्णिम साहित्य समाजले पुरस्कार र सम्मान समेत वितरण गरेको छ । यस वर्षकाे स्वर्णिम साहित्य पुरस्कार पान्थर मिक्लाजुङ रविनिवासी कवि तथा उत्तरवर्ती साेँचका प्रवर्तक सगुन सुसारालाई प्रदान गरिएकाे छ । पुरस्कारको राशी ५०,१५१ रूपैयाँसहित ट्रफी र सम्मानपत्र रहेको छ ।

सम्मानित र पुरस्कृत व्यक्तिहरूका साथी अतिथिहरू ।

त्यस्तै, स्वर्णिम साहित्य सम्मान बराहक्षेत्रनिवासी अग्रज कवि मान बज्राचार्यलाई अर्पण गरिएकाे थियोे । सम्मानको राशी ११,००१ रूपैयाँसहित ट्रफी र सम्मानपत्र रहेको छ । दुवैलाई प्रमुख अतिथि किरातीले सम्मानपत्र हस्तान्तरण गरेका थिए । सम्मानित बज्राचार्यकाे जीवनी कवि वर्षा भण्डारी र पुरस्कृत व्यक्ति सुसाराकाे जीवनीबारे कवि राज माङ्लाकले बाेलेका थिए । गत वर्ष पुरस्कार राम कुमार तिवारी र सम्मान रुद्र दाहाललाई प्रदान गरिएको थियोे ।

स्वर्णम साहित्य पुरस्कार प्राप्त गरेपछि कवि सगुन सुसारा ।

स्वर्णिम साहित्य समाजका अध्यक्ष प्रकाश दिप्सालीले स्वर्णिम साहित्य पुरस्कार तथा सम्मानकाे काेष पन्ध्र लाख रूपैयाँमासम्म पुर्‍याउने लक्ष्य रहेको बताए । उनले आगामी वर्षदेखि मातृभाषामा साहित्य पुरस्कार समेत वितरण गर्ने लक्ष्य रहेको सुनाए ।

काेइलाखादमाथि विमर्श

साेही दिन आख्यानकार श्याम सिङ्गककाे तेस्रो उपन्यास ‘कोइलाखाद’ माथि पनि परिचर्चा भएको छ । कृति उपर बाेल्दै कवि देवान किरातीले उपन्यासले नेपाली वाङ्मयकाे शब्द भण्डारमा सकारात्मक याेगदान गरेको बताए । उनले उपन्यासमा यथार्थ कथा आएको र आदिवासीहरू जल, जमिन जङ्गल उपभाेग गर्ने सवालमा मारमा परेकाे धारणा राखे ।

‘काेइलाखाद’ उपर विमर्श कार्यक्रममा उपन्यासकार सिङ्गक र वक्ताहरू ।

त्यस्तै, प्राध्यापक रमेश काफ्लेले उपन्यासले विश्वेश्वरप्रसाद काेइरालाकाे ‘नरेन्द्र दाइ’ कृतिको स्मरण गराएको बताए । उनले भाषाकाे प्रयोग उत्कृष्ट ढंगले भएको दाबी गरे । उपन्यासकार श्याम सिङ्गकले पुस्तकमा वरपरका कथा, समस्या, दैनिकी, सामाजिक साँस्कृतिक कुरा आओेस् भन्ने हिसाबले सचेत भएर उपन्यास लेखेको जनाए । मेघालयमा पाँच पटक गरेर पाँच वर्ष बसेकाे र साढे चार वर्षपछि बीचमा उपन्यास लेख्न छाडेर फेरि सुरु गरेको तथ्य अगाडि ल्याए । उनले उपन्यासलाई ४० पटक पुनर्लेखनसम्म गरेको स्वीकार गरे । विमर्शलाई कवि छवि लुङ्गेली मगरले सहजीकरण गरेकी थिइन् ।

३५४ पृष्ठकाे उपन्यास फिनिक्स बुक्सले ल्याएको हाे । उपन्यास मेघालयमा काेइला खानीमा काम गर्ने मजदुर र आदिवासीउपर केन्द्रित रहेको छ ।

कार्यक्रम संयाेजक शारदा निराैला ‘शारु’ ले अध्यक्षता गरेको कार्यक्रम सचिव लक्ष्मण कटुवालले गरेका थिए । कार्यक्रममा बराहक्षेत्र नगरपालिकाकी उपमेयर नन्दकुमारी सुनुवार, वडा अध्यक्षहरू, कवि, साहित्यकार, शिक्षासेवी लगायतको उपस्थिति रहेको थियोे ।

Related Articles

Back to top button