कृष्ण उदाशीको ‘पानीको पर्खाल’ कवितासङ्ग्रह आउँदै

२८ अप्रिल , दमक । साहित्यकार कृष्ण उदाशीको नयाँ कवितासङ्ग्रह ‘पानीको पर्खाल’ बजारमा आउने भएको छ । कृतिलाई पेज टर्नर प्रकाशन प्रा.लि.ले चाँडै बजारमा ल्याउने अफिसियल रूपमा जानकारी गराएको छ ।
उदाशीका अनुसार सम्पादनको बाँकी काम सकेर प्रेसमा जानलाई केही समय लाग्ने भएकाले जेठको दोस्रो सातासम्ममा उक्त कविता कृति बजारमा आउने छ । पेज टर्नर प्रकाशन प्रा.लि.द्वारा प्रकाशित हुन लागेको यस सङ्ग्रहमा जीवन, प्रकृति र मानवीय संवेदना, देशको राजनीति विचलन लगायत विविध आयाम समेटिएका ४० वटा कविता समावेश छन् ।
पान्थरको साविक फलैँचा–६ (हाल याङ्वरक–२, तिम्तिम्बू) मा जन्मिएका उदाशी अहिले झापाको दमक–४, सम्बन्धटोलमा बसोबास गर्दै आएका छन् । वि.सं. २०५५ सालदेखि साहित्यिक सिर्जनामा सक्रिय उनले पहिलो पटक २०५७ सालमा इन्द्रावती हवाइपत्रिका, सब्लाखु ताप्लेजुङमार्फत ‘सायरी’ प्रकाशन गरी आफ्नो औपचारिक साहित्यिक यात्रा आरम्भ गरेका थिए ।

उपन्यास, गजल, गीत, कथा र कविता विधामा समान दक्षता देखाएका उदाशीका प्रमुख प्रकाशित कृतिहरूमा ‘दाइजो’ (उपन्यास, २०६४), ‘दोभानपारि बाबरी’ (गजलसंग्रह, २०६७) र बबिता घिमिरेसँग संयुक्त कथासंग्रह ‘म हराएको साँझ’ (२०७०) पर्दछन् ।
साहित्य सम्पादनमा पनि उत्तिकै सक्रिय उदाशीले ‘प्रारम्भ’ साहित्यिक भित्तेपत्रिका (२०६३–२०६५), ‘सिर्जनाको बगैँचा’ (२०६५) संयुक्त साहित्य संग्रह तथा ‘सम्बन्ध’ द्वैमासिक साहित्यिक पत्रिका (२०६६–२०६८) को सम्पादन गरिसकेका छन् । उनी २०६३ सालमा स्थापित उर्लाबारी क्याम्पस साहित्य मञ्चका संस्थापकसमेत हुन् ।
संस्थागत नेतृत्वमा उनले उर्लाबारी गजल मञ्चको सचिवदेखि अध्यक्षसम्म (२०६१–२०६९) तथा नेपाली साहित्य समाज, उर्लाबारीको सचिव (२०७३–२०७६) र महासचिव (२०७६–२०७९) को जिम्मेवारी सफलतापूर्वक वहन गरिसकेका छन् ।
गीतसङ्गीतको क्षेत्रमा पनि उनको विशिष्ट योगदान रहेको छ । उनका ५ दर्जनभन्दा बढी गीतहरू रेकर्ड भइसकेका छन् । विशेष गरी उनले रचना गरेको गीत ‘म घुम्टो उघार्छु’ ले २०८० सालमा रेडियो नेपालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा गायनतर्फ प्रथम पुरस्कार जितेर आफ्नो सिर्जनात्मक क्षमताको स्पष्ट परिचय दिएका छन् ।
कृष्ण उदासीको ‘पानीको पर्खाल’ कवितासङ्ग्रहले जीवनका गहिरा अनुभूति र सामाजिक यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गर्दै नेपाली साहित्यमा थप सशक्त उपस्थिति जनाउने विश्वास गरिएको छ ।