बान्तावाकाे ‘प्याउली’ उपन्यासको धरानमा चर्चा

२३ मार्च, विजयपुर । हङकङनिवासी सर्जक बालिका बान्तावाकाे पहिलो कृति ‘प्याउली’ उपन्यासको धरानमा चर्चा भएको छ । कलरव धरानको आयोजनामा उपन्यासमाथि विभिन्न समीक्षकहरूले टिप्पणी समेत गरे ।
हाेटल पूर्वी स्टारकाे सभाहलमा आयोजना भएको चर्चा कार्यक्रम प्रदेश एककी सांसद एवम् कवि मीना श्रेष्ठकाे अध्यक्षतामा भएको थियोे । श्रेष्ठले कृतिले आफूलाई प्रभावित गरेको बताउँदै सबैलाई अध्ययन गर्न आग्रह गरिन् ।

उपन्यासउपर बाेल्दै समालाेचक एवम् कवि डा. अस्मिता विष्टले प्रमुख पात्र लादिम्मामार्फत उपन्यास बाँधिएको र सरल रेखामा बगेको बताइन् । डा. विष्टले फ्रायडवादी काेणबाट उपन्यासमा अध्ययन गरिनुपर्ने सुझाइन् । उनले उपन्यास सङ्घर्षकाे कथाहरूले भरिएको बताइन् ।

आख्यानकार एवम् कवि बिना थिङले उपन्यासकाे पात्र बलियो र स्मरणीय रहेको जनाइन् । उनले घटनाक्रमसँगै पात्रकाे चयान, सहपात्रकाे सहयोग र चरित्र निर्माणले कृति बलियो बनेको थपिन् ।

झापाकाे भद्रपुर घर घई विषत अढाई दशकयता हङकङमा बसिरहेकी बान्तावाकाे कृति गत मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विमाेचन भएको थियोे । उपन्यास कलरव धरानले प्रकाशन गरेको हाे । कृतिमा २७ अध्यायहरू रहेका छन् । उपन्यासकार बान्तावाले कृतिमा ८० प्रतिशतले आफ्नो कथा रहेको सुनाइन् ।

कवि हेमन यात्रीले सञ्चालन गरेकाे कार्यक्रममा कवि, कथाकार, सर्जकहरूकाे उल्लेख्य उपस्थिति रहेको थियोे । ‘प्याउली’ उपन्यासमा एक महिलाले भोग्नुपरेको जीवनका उकाली ओरालीहरु छन् । कृतिमा सम्बन्धहरुले दिएका सास्ती, हैरानी र ऐंठन, प्रेम, वियोगसँगै एक निडर, स्वाभिमानी र आत्मनिर्भर महिलाको जीवन संघर्षकाे कथा पढ्न सकिन्छ ।