समाचार

बौद्ध साहित्य तथा दर्शन जीवन जिउने कला हो : मुख्यमन्त्री लामा

काठमाडौँ, २४ जेठः बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बौद्ध दर्शन तथा उपदेश सभ्य र समतामूलक समाज निर्माणका लागि उपयोगी रहेको बताउनुभएको छ ।

अखिल नेपाल भिक्षु महासङ्घद्वारा आज आयोजित परियत्ती शिक्षाको ६२औँ दीक्षान्त समारोहमा मुख्यमन्त्री लामाले बौद्ध साहित्य जीवन जिउने कला भएकाले मनको शान्तिका लागि बुद्ध शिक्षा तथा उपदेश महत्त्वपूर्ण हुने बताउनुभयो । मानवका असीमित चाहना नै दुःखको प्रमुख कारण रहेको उल्लेख गर्दै उहाँले दुःख निरोधका लागि बुद्धका गहन चिन्तनले बौद्ध दर्शन तथा उपदेशको सान्दर्भिकता बढ्दै गइरहेको विचार व्यक्त गर्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले बुद्ध दर्शनले विकास गर्ने सकारात्मक सोच मानव कल्याणका लागि उपयोगी रहेकाले यसको सान्दर्भिकता विश्वभर बढ्दै गएको उल्लेख गर्नुभयो ।

बागमती प्रदेशसभा सदस्य शैलेन्द्र बज्राचार्यले बुद्धका उपदेश कार्यान्वयन हुनसकेमा समग्र प्राणीको सर्वदा कल्याण हुने बताउनुभयो ।

अखिल नेपाल भिक्षु महासङ्घका कोषाध्यक्ष एवं परियत्ती शिक्षाका परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञान महास्थविरले बौद्ध शिक्षाको पाठ्यक्रम विकास गरी परियत्ती शिक्षा २०२० सालदेखि सञ्चालन गरिएको जानकारी दिँदै बौद्ध दर्शनमा आधारित जीवन विज्ञानका बारेमा प्राज्ञिक निकायले थप अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो ।
–––

Related Articles

Back to top button