समाचारसाहित्य सिर्जना

बालिका बान्तावाकाे ‘प्याउली’ उपन्यासको विमाेचन

८ मार्च, काठमाडौं । हङकङनिवासी सर्जक बालिका बान्तावाकाे पहिलो कृति ‘प्याउली’ उपन्यासको काठमाडौंमा विमाेचन भएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर कृति सार्वजनिक भएको हाे ।

शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानकाे पारिजात कक्षमा सम्भव समूहले आयोजना गरेको एक कार्यक्रमबीच वरिष्ठ साहित्यकार उषा शेरचन, उपप्राध्यापक विन्दु शर्मा, कवि विमला तुम्खेवा र उपन्यासकार बान्तावाहरूकाे संयुक्त बाहुलीबाट विमाेचन भएको थियोे । उपन्यास कलरव धरानले प्रकाशन गरेको हाे ।

वरिष्ठ साहित्यकार उषा शेरचन ।

उपन्यासउपर बाेल्दै आख्यानकार एवम् कवि उषा शेरचनले सङ्घर्षकाे सिङ्गाे रूप उपन्यासमा आएको धारणा दिइन् । उनले नियतिकाे कथा कृतिमा आएको जनाइन् ।

समालोचक इन्दु शर्माले महिला, जनजाति, दलित र सिमान्तकृत समुदायको कथाहरू बढीभन्दा बढी मात्रामा आउनुपर्ने बताउँदै सर्जकहरूले आफ्नो भाेगाइ लेखनमा ल्याउनुपर्ने जनाइन् ।

त्यस्तै, सञ्चारिका समूहकी अध्यक्ष समेत रहेकी कवि विमला तुम्खेवाले इमानदारीपूर्वक उपन्यासकारले उपन्यास लेखेको बताइन् । उनले नेपाली साहित्यका लागि सुन्दर कृति दिएको जनाइन् ।

सर्जक बान्तावा ।

झापा घर भएकी उपन्यासकार बान्तावाले आफ्नो उकुसमुकुस र एक्लाेपनलाई पृष्ठमा उतारेको प्रष्ट्याइन् । उनले आफ्नो हृदय निचाेरेर कथाकाे प्लटहरू उनेकी बताइन् ।

कवि लक्ष्मी रुम्वाले सञ्चालन गरेकी कार्यक्रममा कवि, कथाकार, सर्जकहरूकाे बाक्लो उपस्थिति रहेको थियोे । ‘प्याउली’  उपन्यासमा एक महिलाले भोग्नुपरेको जीवनका उकाली ओरालीहरु छन् । कृतिमा सम्बन्धहरुले दिएका सास्ती, हैरानी र ऐंठन, प्रेम, वियोगसँगै एक निडर, स्वाभिमानी र आत्मनिर्भर महिलाको जीवन संघर्षकाे कथा पढ्न सकिन्छ ।

Related Articles

Back to top button