समाचार

‘जबज नेपाली क्रान्तिलाई बाटो देखाउने सिद्धान्त’- ओली

काठमाडौँ, १४ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) नेपाली क्रान्तिलाई बाटो देखाउने सिद्धान्तका रुपमा रहेको बताउनुभएको छ ।

मदन भण्डारी फाउन्डेसनले आज ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा आयोजना गरेको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार तथा जबजः राजनीतिक विकास र स्थायित्व’ विषयक विचार गोष्ठीमा उहाँले देशकोे आवश्यकता र अति जरुरी सिद्धान्तका रुपमा जबज रहेको बताउनुएको हो ।

जबजले अहिले पनि मार्गदर्शन गरिरहेको भन्दै पार्टीले अहिले जबजलाई प्रभावकारी रुपमा अघि बढाइरहेको उहाँको भनाइ छ । उहाँले देश, जनताको समस्या समाधानप्रति जबज प्रतिबद्ध रहेको धारणा राख्नुभयो । अध्यक्ष ओलीले जनताका हितलाई सुनिश्चित गर्ने अनुकूल परिस्थिति प्रदान गर्ने प्रयास नै जबज रहेको बताउनुभयो ।

मदन भण्डारीको अगुवाइमा एमालेले जबज प्रतिपादन गरेको उल्लेख गर्दै जबज सङ्घर्षको अनुभवबाट निस्केको निष्कर्ष रहेको उहाँको धारणा थियो । देशकोे राजनीति र विकासको अवस्थालाई उन्नत स्थितिमा पु¥याउन, आधुनिकतालाई उन्नत आधुनिकीकरणमा पु¥याउन, अर्थतन्त्रलाई माथिल्लो स्तरमा लैजान र शासक प्रशासकलाई उच्चस्तर बनाउने काम जबजले गरेको उहाँको जिकिर थियो ।

उहाँले भन्नुभयो, “हाम्रो समाजमा रहेका विकृति–विसङ्गतिलाई हटाउँदै सुन्दर, समानतायुक्त, न्याययुक्त समाज, सांस्कृतिक हिसाबले उन्नत र सुसंस्कृत, मानवीय समाजमा लैजाने भन्ने कुरा जबजमा छ ।” उहाँले नेपालको भूराजनीतिक विषयमा दुई ठूला मित्र राष्ट्रसँगको सम्बन्धलाई सदुपयोग गर्नुपर्ने धारणा राख्नुभयो । “हाम्रो मित्र हुन् भन्ने ठानेर हामीले हाम्रो रुचिका विषयबारे खुलस्त कुरा गर्नुपर्दछ,” उहाँले भन्नुभयो, “हाम्रो रुचि यो हो हाम्रो जायज माग यो हो भनेर कुरा गर्नुपर्दछ र हामी यस्तो धारणा राख्दछौँ, हाम्रो कुरा सही छ भनेर भन्नुपर्दछ ।”

फाउन्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले जबजलाई कम्युनिष्ट पार्टीको राजनीतिक सिद्धान्तका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । उक्त कार्यक्रममा अध्यक्ष ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत पार्टीका शीर्षनेताहरुले मदन भण्डारीको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो । सोही कार्यक्रममा अध्यक्ष ओलीले फाउन्डेसनले प्रकाशित गरेको ‘दिशाबोध’ नामक पुस्तकको विमोचन गर्नुभएको थियो ।

मदन भण्डारी पुरस्कार कञ्चनजङ्गा चिया बगान तथा अनुसन्धान केन्द्रलाई

मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८० पाँचथरको कञ्चनजङ्गा चिया बगान तथा अनुसन्धान केन्द्रलाई प्रदान गरिएको छ । अध्यक्ष ओलीले केन्द्रलाई नगद रु एक लाखसहित पुरस्कृत गर्नुभएको हो । स्थानीय कच्चापदार्थको प्रयोगका आधारमा रोजगारी सृजना गरी आयात तथा निर्यात प्रवद्र्धन गरी राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिएकाले पुरस्कार प्रदान गरिएको हो । २०६८ सालदेखि हरेक वर्ष फाउन्डेसनले मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

Related Articles

Back to top button