भूपू गोर्खा कोलम

ब्रिटिश गोर्खा र सन्ततिको नेपाली नागरिकता निरन्तरताका लागि प्लमस्टेडमा ऐक्यबद्धता

लन्डन, २२ नोभेम्बर २०२६। ब्रिटिश गोर्खा र उनीहरूका सन्ततिको वंशजका आधारमा नेपाली नागरिकता निरन्तर रहनुपर्ने मागमा बेलायतका गोर्खा तथा नेपाली संघसंस्थाका प्रतिनिधिहरूले ऐक्यबद्धता जनाएका छन्। शनिबार लन्डनको प्लमस्टेडमा आयोजित अन्तरक्रियामा उनीहरूले नेपाल सरकार र राजनीतिक दलसँग संवाद जारी राख्न तथा बेलायतमा हुर्किरहेका गोर्खा सन्ततिलाई पनि छलफलमा सहभागी गराउन आग्रह गरे।

नागरिकता निरन्तरता अभियान ब्रिटिश गोर्खा (सीएनसीबीजी) ले २१ नोभेम्बरमा प्लमस्टेडको ३४ काशगर रोडस्थित मगर भवनमा कार्यक्रम आयोजना गरेको हो। अभियानका अध्यक्ष थर्क रानाको अध्यक्षतामा भएको कार्यक्रम सचिव जीतबहादुर घर्ती मगरले सञ्चालन गरेका थिए। कार्यक्रममा भूतपूर्व गोर्खा सैनिक, महिला समूह, स्थानीय संघसंस्थाका प्रतिनिधि र अभियानका समर्थक सहभागी थिए।

नेपालमा भएका पहल र काठमाडौं घोषणापत्र

अभियानका उपाध्यक्ष शोभराज गुरुङले स्वागत मन्तव्यमा नागरिकताको प्रश्न गोर्खा परिवारको इतिहास, नेपाली पहिचान र मातृभूमिसँग भावी पुस्ताले कायम राख्ने सम्बन्धसँग जोडिएको बताए। उनले बेलायतका नेपाली संघसंस्था र गोर्खा परिवारबीच यस विषयमा नियमित छलफल हुनुपर्नेमा जोड दिए।

अर्का उपाध्यक्ष दलबहादुर बुढाथोकीले नेपाल भ्रमणका क्रममा ललितपुरको कुपन्डोलस्थित होटल हिमालयमा आयोजित संगोष्ठी र सरकारी तथा अन्य सरोकारवाला निकायसँग भएका छलफलबारे जानकारी दिए। उनले संवाद डबलीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको ‘काठमाडौं घोषणापत्र २०८३’बारे पनि सहभागीलाई अवगत गराए। अभियानको माग अघि बढाउन सरकार, सम्बन्धित निकाय र राजनीतिक नेतृत्वसँग निरन्तर संवाद आवश्यक रहेको उनको भनाइ थियो।

‘आमा, आज कहाँ जान लाग्नुभएको?’

साउथ इस्ट लन्डन लेडिज मगर एसोसिएसन (सेल्मा यूके) की सल्लाहकार देवी आलेले कार्यक्रममा आउँदाको एउटा पारिवारिक प्रसंग सुनाइन्। घरबाट निस्कने बेला छोराछोरीले उनलाई सोधेका थिए, “आमा, आज कहाँ जान लाग्नुभएको?” गोर्खा र उनीहरूका सन्ततिको नेपाली नागरिकताबारे छलफल गर्न जान लागेको बताएपछि छोराछोरीले खुसी व्यक्त गर्दै शुभकामना दिएको उनले सुनाइन्। आलेले अभिभावकहरूलाई आफ्ना छोराछोरीसँग घरमै गोर्खा इतिहास र नागरिकताको विषयमा कुराकानी गर्न र उनीहरूलाई पनि यस्ता कार्यक्रममा सहभागी गराउन आग्रह गरिन्।

सेल्मा यूकेकी अध्यक्ष चन्द्रकला थापाले नयाँ पुस्तालाई गोर्खाहरूको योगदान र नागरिकता निरन्तरताको माग किन उठेको हो भन्ने बुझाउनुपर्ने बताइन्। ग्रिनविच गोर्खा एक्स-सर्भिसमेन एसोसिएसनका सचिव गम्बहादुर गुरुङले पनि यो प्रश्न भावी सन्ततिको पहिचान र अधिकारसँग जोडिएको धारणा राखे।

ब्रिटिश गोर्खा नेपाल एक्स-सर्भिसमेन एसोसिएसनका अध्यक्ष केशबहादुर गुरुङले गोर्खाहरूको पहिचान र अधिकार संरक्षणका लागि संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताए। गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को साउथ इस्ट लन्डन, प्लमस्टेड शाखाका अध्यक्ष गमर थापाले गेसोका संस्थापक पदमबहादुर गुरुङको योगदान र पेन्सनसम्बन्धी संघर्षका उपलब्धि स्मरण गर्दै बाँकी असमानता सम्बोधन गर्न संगठित प्रयास जारी राख्नुपर्ने बताए। मगर संघ यूके, प्लमस्टेड शाखाका अध्यक्ष खर्कबहादुर पुन मगरले अभियानलाई शाखाको सहयोग जारी रहने बताए भने पूर्वअध्यक्ष धन थापाले पनि समर्थन जनाए।

राहत सहयोग र सदस्यताको विवरण प्रस्तुत

कार्यक्रममा नेपालमा विपद् राहतका लागि रुम्जाटार समाज यूके, पिटरबरो नेपाली समाज, गोर्खा नेपाली समाज र नेपालिज आर्टिस्ट्स एन्ड पर्फर्मर्स सोसाइटी यूकेलगायत संस्थाले गरेको आर्थिक सहयोगको विवरण प्रस्तुत गरिएको थियो। आयोजकका अनुसार केही संस्थाले प्रधानमन्त्री राहत कोषमा प्रत्यक्ष सहयोग गरेका थिए भने अभियानमार्फत संकलित रकम तत्कालीन ऊर्जामन्त्री विराजभक्त श्रेष्ठमार्फत हस्तान्तरण गरिएको थियो।

कोषाध्यक्ष याम थापाले संस्थाको सदस्यता, आर्थिक योगदान र आय–व्ययको विवरण प्रस्तुत गरे। कार्यक्रममा नयाँ सदस्य थपिएको र केही सहभागी चाँडै फर्किएकाले सबैको विवरण संकलन गर्न बाँकी रहेको आयोजकले जनाएको छ।

बेलायतका अन्य सहरमा पनि छलफल गर्न आग्रह

कोभिड–१९ महामारीपछि सुस्ताएका जनचेतनामूलक कार्यक्रमलाई पुनः सक्रिय बनाउन अभियानले बेलायतका अन्य सहरका गोर्खा संगठन, नेपाली संघसंस्था तथा महिला र युवा समूहलाई स्थानीय तहमा अन्तरक्रिया आयोजना गर्न आग्रह गरेको छ। अभियानले नेपाल सरकार, संघीय संसद्का सदस्य, राजनीतिक दल तथा संविधान र कानुनका जानकारहरूलाई गोर्खा नागरिकताको ऐतिहासिक, संवैधानिक र कानुनी पक्ष अध्ययन गरी न्यायोचित समाधानका लागि पहल गर्न आह्वान गरेको छ। यस विषयमा तथ्यपूर्ण र सन्तुलित जानकारी समुदायसम्म पुर्‍याउन सञ्चारमाध्यमलाई पनि आग्रह गरिएको छ।

समापनमा अध्यक्ष थर्क रानाले हल उपलब्ध गराउने महादेव थापा, स्थानीय व्यवस्थापनमा सहयोग गर्ने मगर संघ यूके प्लमस्टेड शाखा, सेल्मा यूकेका महिला तथा खानपान र स्वागतको जिम्मेवारी सम्हालेका स्वयंसेवकलाई धन्यवाद दिए।

Related Articles

Back to top button