पर्यटनमन्त्री पौडेलद्वारा लन्डनस्थित नेपाली दूतावासमा बुद्ध प्रतिमा अनावरण
एनआरएनएको समन्वयमा विभिन्न मुलुकका नेपाली कूटनीतिक नियोगमा १० वटा प्रतिमा स्थापना गर्ने लक्ष्य
लण्डन, गत ४ नोभेम्बर २०२६ का दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेलले लन्डनस्थित नेपाली दूतावासमा स्थापित भगवान् गौतम बुद्धको प्रतिमा अनावरण गर्नुभएको छ। दूतावासद्वारा आयोजित विशेष ‘नेपाल इभिनिङ’ कार्यक्रममा प्रतिमा अनावरण गरिएको हो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य मनिष झाको पनि उपस्थिति थियो।
उक्त प्रतिमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहलमा राष्ट्रिय समन्वय परिषद् यूके तथा बुद्ध फाउन्डेसन यूकेको सहकार्यमा स्थापना गरिएको हो। प्रतिमा नेपालबाट बेलायतसम्म ढुवानी गर्न नेपाल पर्यटन बोर्डले सहयोग गरेको थियो।
कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पौडेलले गौतम बुद्धको शान्ति र करुणाको सन्देश विश्वभर फैलाउन यस्ता पहलको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले दूतावासमा बुद्ध प्रतिमा स्थापना गर्ने कार्यको प्रशंसा गर्दै यसले बुद्धको जन्मभूमिका रूपमा नेपालको पहिचान र बौद्ध सम्पदाको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा सहयोग पुर्याउने उल्लेख गर्नुभयो।
बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपालको बौद्ध सम्पदा र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न एनआरएनएले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो।
परियोजनाको नेतृत्व तथा समन्वय एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता एवं पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष सोमनाथ सापकोटाले गर्नुभएको हो। उहाँका अनुसार लन्डनस्थित नेपाली दूतावासमा स्थापित प्रतिमा एनआरएनएको विश्वव्यापी बुद्ध प्रतिमा स्थापना अभियानअन्तर्गतको पहिलो हो।
सापकोटाले विभिन्न मुलुकमा रहेका नेपाली दूतावास तथा कूटनीतिक नियोगमा थप प्रतिमा स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो। यस अभियानअन्तर्गत पोर्चुगलस्थित नेपाली दूतावासमा पनि बुद्ध प्रतिमा स्थापना गर्ने योजना छ। अन्य मुलुकका नेपाली कूटनीतिक नियोगमा भने आवश्यकता र प्राथमिकताका आधारमा प्रतिमा स्थापना गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो।
अभियानमार्फत नेपाली कूटनीतिक नियोगहरूमा कुल १० वटा बुद्ध प्रतिमा स्थापना गर्ने लक्ष्य राखिएको छ। यसका लागि संघले आन्तरिक स्रोतबाट सहयोग संकलन, मूर्तिकारसँगको समन्वयमा प्रतिमा निर्माण तथा अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी एवं सहयोगी संस्थाहरूको सहयोग परिचालन गरिरहेको जनाएको छ।
यसै अभियानसँग सम्बन्धित अर्को पहलअन्तर्गत एनआरएनए अस्ट्रेलियासँगको सहकार्यमा अस्ट्रेलियास्थित ‘ग्रेट स्तूपा अफ युनिभर्सल कम्प्यासन’मा धातुबाट निर्मित बुद्ध प्रतिमा स्थापना गर्ने योजना पनि रहेको छ।

संघका अनुसार अभियानको मुख्य उद्देश्य गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध तीर्थस्थल तथा आध्यात्मिक र सांस्कृतिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा प्रवर्द्धन गर्नु हो। यसका लागि नेपाल पर्यटन बोर्ड तथा बौद्ध सर्किटअन्तर्गतका विभिन्न स्थानीय तहसँग सहकार्य भइरहेको छ।
एनआरएनएले आफ्नो विश्वव्यापी सञ्जालमार्फत नेपालको पर्यटन, संस्कृति, सम्पदा तथा लगानीका अवसरको प्रवर्द्धन गर्दै आएको जनाएको छ। बुद्ध प्रतिमा स्थापना अभियानलाई पनि नेपालको सांस्कृतिक कूटनीति र अन्तर्राष्ट्रिय पहिचान सुदृढ गर्ने प्रयासका रूपमा अघि बढाइएको संघको भनाइ छ।
‘नेपाल इभिनिङ’ कार्यक्रममा नेपालबाट आएका ३२ जना पर्यटन व्यवसायी तथा प्रतिनिधि, बेलायतको पर्यटन क्षेत्रका प्रतिनिधि र त्यहाँ बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूको सहभागिता थियो। कार्यक्रममा नेपालको पर्यटन सम्भावनाबारे जानकारी प्रस्तुत गर्नुका साथै नेपाल र बेलायतबीच पर्यटन व्यवसायमा सहकार्य तथा व्यावसायिक सञ्जाल विस्तारका विषयमा छलफल भएको थियो।



