शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

सन्तोष गौतम/रासस
शिख (म्याग्दी), ८ कात्तिकः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका कारण घर छाड्नुप¥यो । केही दिन शिखको अस्थायी आश्रयस्थलमा बिताउनुभयो । अहिले उहाँ दिदी सुनमाया तिलिजाले उपलब्ध गराएको खाली घरमा बस्न थाल्नुभएको छ ।
सुनमायाको परिवार बसाइँ सरेपछि घर खाली थियो । विपद्ले घरबारविहीन बनेकी भूमदेवीको परिवारका लागि त्यही घर अहिले आश्रय बनेको छ । “करिब १५–२० दिन शिखको आश्रयस्थलमा बसेपछि घरसल्लाह गरेर दिदीको खाली घरमा बस्ने निर्णय लिएका हौँ,” भूमदेवीले भन्नुभयो, “सरकारले पनि कति आश्रयस्थलमा राख्न सक्ला र भन्ने लाग्यो । आफ्नै घर नबनाउँदासम्मका लागि दिदीको खाली घरमा बस्न थालेका हौँ ।”
भूमदेवीको परिवारले आपत्का बेला आश्रय पाएको छ । सुनमायाको उपयोगविहीन घर पनि काममा आएको छ । भूमदेवीजस्तै किन्दु टोलका धेरैजसो विस्थापित परिवार आफन्तका खाली घरमा बस्न थालेका छन् । कतिपय शिख देउराली, शिख तल्लो र शिख उपल्लो गाउँमा व्यवस्थापन भएका छन् ।
आश्रयस्थलबाट आफ्नै व्यवस्थापनतर्फ
अन्नपूर्ण–५ का धोस्केखोर, किन्दु, झारवाङ र घिरवाङमा ४५ घर छन् । पोखरा, काठमाडौँलगायत सहरमा बसाइँ सरेका परिवारबाहेक ३५ घरपरिवार गाउँमै बसोबास गर्थे । गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि यी बस्ती पहिरोले घेरिए । गाउँसँगको सम्पर्क विच्छेद भयो ।
जोखिममा परेका ९१ जनालाई हेलिकप्टरबाट उद्धार गरी शिख देउरालीस्थित कान्छीबाराही युवा क्लबको खेलमैदानमा ल्याइएको थियो । त्यहाँ उनीहरूका लागि अस्थायी आश्रयको व्यवस्था गरिएको थियो ।
पहिरोले नारायण शेरपुञ्जा पुन, रुकबहादुर पुर्जा, खेमबहादुर पाइजा, रेकबहादुर पुर्जा, तमबहादुर पुर्जा र जुगमान चोचाङ्गीका घर भत्काएको थियो । अन्य धेरै घर नभत्किए पनि चर्किएर बस्न नमिल्ने भएका छन् ।
आश्रयस्थलका टहरा र पालमा बस्दै आएका धेरैजसो परिवारले दसैँअघि नै आफ्नो बसोबासको व्यवस्था मिलाइसकेका छन् । टोल संयोजक दीपक तिलिजाका अनुसार विस्थापितहरू आफन्तका खाली घर र अन्य सुरक्षित स्थानमा सरेका छन् ।
शनिबार दिउँसो आश्रयस्थलमा भेटिनुभएका नारायण शेरपुञ्जा पुनले पनि विस्थापितहरू आफैँ आफ्नो व्यवस्थापन गर्न थालेको बताउनुभयो । तर उहाँको परिवार भने अझै अन्योलमा छ ।
घर, गोठ र खेतीयोग्य जमिन पहिरोमा
पहिरोले नारायणको घर, गोठ र खेतीयोग्य जमिन बगाएको छ । घरमा भएको अन्नपात र अन्य सामान निकाल्ने मौका पनि मिलेन ।
“२०–२१ मुरी आलु र दुई मुरी मकैसहित घरमा भएका सामान निकाल्न पाइनँ । सबै पहिरोले बगायो,” उहाँले भन्नुभयो, “पहिरो जाने दिन गोठबाट फुकाएर जङ्गलमा पठाएको भैँसी बाटो नभएकाले अझै ल्याउन सकेको छैन ।”
उहाँकी श्रीमती पोखरामा रहेका छोराछोरीसँग जानुभएको छ । नारायण पनि कसैको खाली घरमा बसेर आफ्नै खेतबारीमा काम गर्ने सोचमा हुनुहुन्छ । तर, घर र जग्गा जमिन टाढा भएकाले निर्णय लिन सक्नुभएको छैन ।
त्यसैले उहाँ अझै आश्रयस्थलमै बसिरहनुभएको छ । उहाँको घर चार वर्षअघि पहिरोले भत्काएको थियो । घर पुनःनिर्माणबापत सरकारले दिने रु पाँच लाखमध्ये पूरै अनुदान नपाउँदै उहाँले बनाएको नयाँ घर पनि भत्किएको हो ।
वर्षा रोकिएपछि विस्थापितहरू दैनिक काममा फर्कन थालेका छन् । दिनभर गाउँमा पुगेर खेतबारी र घरायसी काम गर्छन् । कतिपयले घरका बाँकी सामान सुरक्षित ठाउँमा सारिरहेका छन् । साँझ खाना खान र सुत्नका लागि होल्डिङ सेन्टर फर्कने गरेका छन् ।
“दसैँअघि आश्रयस्थलमा धेरै जना हुनुहुन्थ्यो । अहिले सङ्ख्या घट्दै गएको छ,” रेकबहादुर पुर्जाले भन्नुभयो, “विपद्का बेला सरकारको मुख ताकेर मात्र बस्दा दुःख पाइन्छ भन्ने लागेर सक्ने र सम्भव हुनेले आफैँ व्यवस्थापन गर्नुभएको छ ।”
अस्थायी बसोबासको व्यवस्था मिलाउँदैमा सबै समस्या समाधान भएका छैनन् । घर भत्किएर सामान निकाल्न नपाएकाहरूलाई खाद्यान्न, भाँडाकुँडा र लत्ताकपडाको अभाव छ । उनीहरूलाई राहत तथा सहयोगको आवश्यकता अझै छ । शिखका अगुवा गणेश गुरुङ (सुरेन)का अनुसार सरकारी निकाय र दाताको सहयोग जुटाएर प्रभावित परिवारको बसोबास सहज बनाउने प्रयास भइरहेको छ ।
विद्युत् र खानेपानीसँगै पदमार्गको समस्या
विपद्बाट सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ मा पुनःस्थापनाको चुनौती कायमै छ । वडाअध्यक्ष राजेश तिलिजा पुनका अनुसार विद्युत्, खानेपानी र पदमार्ग तत्काल सुधार गर्नुपर्ने अवस्था छ ।
“सडक त अहिले धेरै टाढाको विषय भएको छ,” उहाँले भन्नुभयो, “धेरै प्रयासपछि विद्युत् सेवा सञ्चालन हुन थालेको छ । श्रमदान गरेर पदमार्ग निर्माण गरिरहेका छौँ । खानेपानीको व्यवस्था मिलाउने प्रयासमा पनि जुटेका छौँ ।”
पहिरो प्रभावित बस्तीको भौगर्भिक अवस्था अध्ययन गर्न विज्ञ टोली आउन ढिलाइ हुँदा पुनःस्थापनासम्बन्धी निर्णय लिन कठिन भएको वडा अध्यक्ष तिलिजाले बताउनुभयो । कुन बस्तीमा बस्न सुरक्षित छ र कहाँबाट स्थानान्तरण गर्नुपर्छ भन्ने यकिन नहुँदा प्रभावित परिवार अन्योलमा छन् ।
अन्य बस्तीका आश्रयस्थल पनि खाली हुँदै
अन्नपूर्ण –५ को पाउद्धारबाट विस्थापित भएकाहरू बस्दै आएको घारस्थित वडा नम्बर ६ को अस्थायी आश्रयस्थल पनि यही कात्तिक १ गतेदेखि बन्द भएको छ ।
घारका वडाअध्यक्ष रामबहादुर खड्काका अनुसार विस्थापितहरूले आफ्ना सामान आश्रयस्थलमै राखेर आफन्तकहाँ र गाउँमा फर्किएका छन् । वर्षा भएमा पुनः आश्रयस्थलमा आउने गरी उनीहरू गएका हुन् । घारको आश्रयस्थलमा पाउद्वारका ११५ जनासम्मले आश्रय लिएका थिए ।
त्यस्तै, अन्नपूर्ण गाउँपालिका–८ महभिरबाट विस्थापित भएका ३० परिवार बस्दै आएको सिरुवारीको आश्रयस्थल पनि खाली भएको छ । वडाअध्यक्ष खमबहादुर गर्बुजाका अनुसार महभिरका प्रभावित परिवार खाली घर खोजेर आफैँ बसोबास मिलाउने प्रयासमा छन् । घर नपाएकाहरूका लागि व्यवस्थापनमा सहजीकरण भइरहेको छ ।
यस वर्षको मनसुनजन्य विपद्मा परी अन्नपूर्ण गाउँपालिकामा छ जनाको मृत्यु भएको छ । गाउँपालिकाका अनुसार ६० घर पूर्ण र १२९ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । विपद्पछि अस्थायी आश्रयस्थलमा सुरु भएको जीवन अब बिस्तारै आफ्नै व्यवस्थापनतर्फ अघि बढेको छ ।
आफन्तका खाली घर, गाउँका सुरक्षित बस्ती र उपलब्ध स्रोत नै विस्थापितका लागि तत्कालको सहारा बनेका छन् । तर घर गुमाएका परिवारको सुरक्षित पुनःस्थापना र आधारभूत सेवा पुनःस्थापित नहुँदासम्म उनीहरूको सङ्घर्ष भने जारी रहनेछ ।




