विचारधारा, राजनीतिक कार्यदिशा गलत भएमा जोगी बन्नुपर्छ, हर्कवाद पहिचानको शत्रु हो : नेता किराती
जहाँसम्म हर्कवाद भन्ने दलको कुरा छ, त्यसको श्रम अभियान सम्मानयोग्य छ। तर, त्यो कांग्रेस र एमाले बराबर पहिचानविरोधी जत्था हो तथा अराजनीतिक पनि। अझ थपेर भन्नुपर्दा कथित हर्कवादी दल नेपाली जनताको राजकीय पहिचानको शत्रु जत्था मात्र हो। किनभने, त्यसले कांग्रेस–एमाले समान व्यक्ति उठाउने र समुदायलाई दबाउने प्रपञ्चकारी नीति नै लिएको छ।
नेपाली कम्युनिस्ट पार्टी, केन्द्रीय कार्य संयोजन समितिका सदस्य, पहिचानवादी र अध्ययनशील नेताका रूपमा परिचित नेता तथा पूर्वमन्त्री गोपाल किरातीसँग नेपालीसमाचारले गरेको कुराकानीः
१. नेपालको पछिल्लो राजनीतिलाई तपाईँले कसरी लिनुभएको छ?
उत्तरः पहिलो– राजतन्त्र, कांग्रेस र एमाले बेठिक भए भनेर जनताले माओवादीलाई समर्थन गरेका थिए। तर, संघीय लोकतान्त्रिक गणतन्त्र घोषणायता माओवादी नेतृत्वपंक्तिले बाचाअनुसार देश र जनतालाई सम्हालेर लान सकेन र
दोस्रो, पछिल्लो समय एमाले–कांग्रेस नेतृत्वको सरकारको यथास्थितिवादी राजनीति, तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको स्वेच्छाचारी कार्यशैली र भूराजनीतिक खेलबाडको परिणाम २०८२ भदौ २४ गते प्रतिक्रान्तिकारी विध्वंस मच्चियो। २०८२ फागुनको निर्वाचनले त्यस प्रतिक्रान्तिकारी हर्कतलाई वैधानिकता दियो। नेपाल देश र नेपाली जनताले त्यसैको मार खेप्नुपरिरहेछ, अहिले।
२. तपाईँ नेपाल कम्युनिस्ट पार्टी माओवादीको जिम्मेवारीमा हुनुहुन्थ्यो र माओवादी र एमालेको एकतामा धोका भयो भनी आफ्नै पार्टी गठन गरेर क्रान्तिकारी कम्युनिस्ट पार्टी सञ्चालन गरिरहनुभएको थियो। के कारणले गर्दा तपाईँ चाहिँ फेरि ब्याक इन नेकपामा जोडिनुभयो?
उत्तरः २०७४ मा माओवादको सिद्धान्त र पहिचानको मुद्दामा अडानका आधारमा हामीहरू डबल नेकपातिर गएनौँ। क. प्रचण्डहरूको त्यो डबल नेकपा पनि टिकेन। अदालतले माओवादी केन्द्र प्रचण्डतिरै फर्काइदियो। त्यसयता हामीबीच छलफल चलिरहेको थियो।
गत वर्ष २०८२ कात्तिक १५ गते क. प्रचण्डसँग तीनबुँदे लिखित सहमति गरेर हामीहरू जुट्यौँ। सहमतिको दोस्रो बुँदामा भनिएको छ– क. गोपाल किरातीद्वारा विकसित देशभक्तिपूर्ण पहिचानसहित समाजवादी लोकतन्त्रबारे पार्टीमा छलफल गर्दै पूर्ण जनवादका आधारमा निर्णय लिने। क्रमशः नेपाली कम्युनिस्ट पार्टी बन्यौँ। हामीहरू यसमा संगठित र कार्यरत छौँ।
३. तपाईँ संलग्न राजनीतिक पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी, पार्टीको नाम कम्युनिस्ट छ। यसको पोलिटिकल आइडियोलोजी चाहिँ कम्युनिजम हो या होइन? र यो नेपालको कम्युनिस्ट चाहिँ अन्य मुलुकको कम्युनिस्टसँग के कुरामा सिमिलर छ र के कुरामा भिन्नता छ?
उत्तरः विचारधाराको प्रश्नमा मार्क्सवाद–लेनिनवाद नेपाली कम्युनिस्ट पार्टीको पथप्रदर्शक सिद्धान्त हो। त्यसमा माओका योगदानहरू थप गर्नुपर्नेबारे छलफल गरिने नै छ।
मार्क्सवादका छवटा आधारभूत सिद्धान्तहरू छन्। त्यसमा एकरूपता सर्वहारा अन्तर्राष्ट्रवादको कर्तव्यमा पर्दछ। उप्रान्त आ–आफ्नो देशमा क्रान्ति कसरी सम्पन्न गर्ने भन्नेबारे निर्णय लिन सम्बन्धित देशको कम्युनिस्ट पार्टी स्वायत्त हुन्छ र हुनुपर्छ।
यहीँनिर प्रस्ट गरिहालौँ कि हामीले भनेको समाजवादी लोकतन्त्र (socialist democracy) मुख्यतः नेपाल पढ्ने सिद्धान्तमा विकसित नेपाली क्रान्तिको मौलिक कार्यक्रम हो। जसले वर्गीय, लैंगिक, जातजातीय उत्पीडन अन्त्यको प्रत्याभूति गर्छ। जसबारे छलफल गर्दै निर्णय लिँदै अघि बढ्ने भनेर हामीहरू जुटेका हौँ।
४. अहिलेको सत्तापक्ष, राष्ट्रिय स्वतन्त्र पार्टी, वास्तवमा समावेशी देखिँदैन। त्यहाँ एक जाति मात्रै देखिन्छ, एक धर्म मात्रै मान्नेहरू देखिन्छन्। अहिले साँच्चै नै यो जातीयताको कुरा, समावेशिताका कुराहरू ओझेलमा परेका हुन्? यदि ओझेलमा परेको हो भन्दाखेरि अब यसको परिणाम अथवा यो चाहिँ फेरि पुनर्जागरण भएर आउन सक्ने सम्भावना छ कि छैन, पुनर्जागरण हुन आवश्यक छ कि छैन, तपाईँको बुझाइमा?
उत्तरः कुन पार्टी वा गुट के कस्तो भन्दा पनि तत्कालीन शक्तिसन्तुलनमा जारी गरिएको संविधान उपलब्धि र कमजोरीसहितको संविधान हो। यसका उपलब्धिको रक्षामा जोड दिँदै कमजोरी सच्याउने संघर्ष उठानमा केन्द्रित हुन जरुरी छ। जसको कार्यसूची (agenda) हुनुपर्छ– संविधानको समाजवादी संशोधनसहित राष्ट्रिय स्वाधीनता आन्दोलन।
जसबाट संघीय लोकतान्त्रिक गणतन्त्रको गुणात्मक विकास र हठात् कार्यान्वयनको तागत आर्जन गरियोस् र नेपालमा वर्गीय, लैंगिक, जातजातीय उत्पीडन अन्त्यको नयाँ राष्ट्रिय एकीकरणको कार्यभार उठान गर्न सकियोस्।
५. नेपालमा जातीय विभेद, वर्गीय विभेद, क्षेत्रीय विभेद र अहिले आएर पुस्तान्तरणको विभेद चाहिँ देखिएको छ। यो पुस्तान्तरणको विभेदअन्तर्गत नै रास्वपा अहिले सबै युवाहरूको पार्टी बनेको छ। यो बेला तपाईँ आबद्ध नेपाली कम्युनिस्ट पार्टीले चाहिँ युवाहरूलाई कसरी परिचालन गर्नुपर्दछ जस्तो लाग्छ?
उत्तरः पुस्तान्तरण राजनीतिक नभएर सरासर व्यावहारिक मामिला हो। खास कुरा, पार्टी संगठनमा तीन पुस्ता सम्मिलित रहेको हुनुपर्छ– युवा, प्रौढ र ज्येष्ठ। यीमध्ये जोसुकैले मूल नेतृत्व लिन सक्दछन्। पार्टी राजनीतिको प्रधान विषय सही विचारधारा र सही राजनीतिक कार्यदिशाको माग हो। जसतर्फ सच्चा मार्क्सवादीहरूको ध्यान केन्द्रित गर्नैपर्छ।
नेपाली कम्युनिस्ट पार्टीमा युवाहरू छन् र थप संगठित गर्ने नीतिहरू बनिरहेका छन्।
६. तपाईँ धेरै राजनीतिक दर्शन र सिद्धान्तको बारेमा गहिरो अध्ययन गर्नुहुने नेता हुनुहुन्छ। यसर्थ नेपालमा चाहिँ लेफ्टिस्ट पार्टीमा आबद्ध छ तर उसको विचार चाहिँ फार राइटिस्ट अथवा उग्र धार्मिकवादी, उग्र जातिवादी र आफ्नै मात्रै समुदायको लागि हुनुपर्छ भन्ने सोचको देखिन्छ। यो कम्युनिजम र फार राइटिस्ट अतिराष्ट्रवादीको तादात्म्य चाहिँ अहिले कस्तो देख्नुहुन्छ?
उत्तरः आफूलाई वाम विचारको भन्ने, तर व्यवहार चाहिँ दक्षिणपन्थको गर्ने प्रवृत्ति खुलेआम गद्दारी हो। त्यसका विरुद्ध आजीवन संघर्ष गर्दै आइयो र यस्तो लाइन संघर्ष अझ जारी रहन्छ।
मैले बुझेको मार्क्सवाद वर्ग प्रधानताअन्तर्गत देशमा रहेका सबै खाले अन्याय र उत्पीडनविरुद्ध लड्ने एक अखण्डनीय विज्ञान हो। यसरी बुझ्दा मात्र मार्क्सवाद नेपाली समाजका यावत् अन्तर्विरोधहरू हल गर्ने प्रश्नमा सहायकसिद्ध ठहर्छ। अन्यथा लेनिनको शब्दमा लफ्फाजी बन्न पुग्छ।
अतः दलाल पुँजीवाद र वाम लफ्फाजीका विरुद्ध लड्न वैज्ञानिक समाजवादी लोकतन्त्र, संक्षेपमा समाजवादी लोकतन्त्रको राजनीतिक कार्यक्रमबारे अध्ययन र बहसमा रत्तिभर ढिला गर्नु हुँदैन। यस सम्बन्धमा प्रकाश पार्न भर्खरै हाम्रो पुस्तक प्रकाशित भएको छ। जसको नाम हो– समाजवादी लोकतन्त्रको दार्शनिक आधार।
७. अहिले नयाँ–नयाँ पार्टीहरू खुलेका छन्, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टीहरू, अलग–अलग पार्टीहरू खुलेका छन्, कांग्रेस, एमाले छँदै छन्, राप्रपा पनि खुम्चिँदै गएको छ। अब तपाईँ नेपाली कम्युनिस्ट पार्टीको नेता हुनुहुन्छ। कुन कारणले चाहिँ नेपाली कम्युनिस्ट पार्टीलाई जनताले रोज्ने अथवा तारा चुनाव चिह्नमा भोट दिने? कारणहरू के–के?
उत्तरः बहुदलीय राज्यमा अनेक दलहरू खुल्छन्, जुन स्वाभाविक हो। अरू दलबारे जनता स्वयं जानकार छन्, यहाँ भनिरहनु परेन। जहाँसम्म हर्कवाद भन्ने दलको कुरा छ, त्यसको श्रम अभियान सम्मानयोग्य छ। तर, त्यो कांग्रेस र एमाले बराबर पहिचानविरोधी जत्था हो तथा अराजनीतिक पनि। अझ थपेर भन्नुपर्दा कथित हर्कवादी दल नेपाली जनताको राजकीय पहिचानको शत्रु जत्था मात्र हो। किनभने, त्यसले कांग्रेस–एमाले समान व्यक्ति उठाउने र समुदायलाई दबाउने प्रपञ्चकारी नीति नै लिएको छ। जस्तो कि सुवास नेम्वाङ हिजो ठूलो नेता भए, तर लिम्बू समुदायले के पाए? हीरालाल विश्वकर्मा मन्त्री भए, तर दलित समुदायले के पाए?
अर्को, तारा चिह्नमा मत किन दिने भन्ने प्रश्नमा मेरै धारणा चाहिँ समाजवादी लोकतन्त्रबारे अध्ययन र बहसले मात्र निर्धारण गर्छ। यसको अर्थ तारा चिह्नमा मत नदिने भनिएको होइन।
र, आफ्नो तयारीमा पार्टी लागिरहेको छ। त्यसमा साथ–समर्थन बढाइनुपर्छ।
८. अहिलेको सरकारलाई धेरैले आरोप लगाउने गरेका छन्। यो सरकार अदृश्य शक्तिबाट परिचालित छ अथवा सञ्चालन भइरहेको छ। कतिले भन्ने गरेका छन्, पश्चिमा अथवा अमेरिकाले नेपाली सेनालाई परिचालन गर्ने र नेपाली सेनाले चाहिँ नेपालको सरकार परिचालन गर्ने भन्ने आदि इत्यादिका आरोपहरू पनि सुनिने गरेका छन्। तपाईँलाई के लाग्छ? यो सरकार स्वचालित छ कि परिचालित छ? यदि स्वचालित छ भने त्यसलाई हामी कुन–कुन आधारमा स्वचालित हो भन्न सक्छौँ र परिचालित हो भन्ने कुन–कुन कारणले परिचालित भन्न सकिएला?
उत्तरः अमेरिकी प्रकाशन द ग्रे जोनको समाचार विवरणबारे बौद्धिक नेपालीहरूद्वारा जसरी विशद व्याख्याहरू आइरहेका छन्, त्यसले नै रास्वपा नामको जत्था र त्यसको सरकारका जनविरोधी, देशविरोधी जुन अपराधहरू छन्, ती के हुन् भन्ने खास प्रमाण दिइरहेको छ। थपेर भनिरहनु परेन।
९. हामी अन्तमा आइपुगेका छौँ। मैले सोध्नुपर्ने र तपाईँले भन्नुपर्ने केही कुरा छ? छ भने राखिदिन अनुरोध गर्छु।
उत्तरः आफ्नो समयमा माओले भनेर गएका छन्– विचारधारा र राजनीतिक कार्यदिशा सही भए आफूसँग जनता छैन भने जनता हुन्छ, कार्यकर्ता छैन भने कार्यकर्ता बन्छ, सेना छैन भने सेना बन्छ र राज्य छैन भने राज्य पनि बन्छ। तर, विचारधारा र राजनीतिक कार्यदिशा गलत भएमा आफूसँग भएका जनता, कार्यकर्ता, सेना र राज्य दुस्मनले खोसेर लान्छ अनि जोगी बन्नुपर्छ।
नेपाली कम्युनिस्ट पार्टीका जिम्मेवार सदस्य र समर्थकजनले माओ त्सेतुङको उक्त भनाइलाई ज्यादै गम्भीरताका साथ लिन जरुरी छ। खासगरी, नेपाली क्रान्तिको समाजवादी राजनीतिक कार्यनीति के हो भन्नेबारे घोत्लिन जरुरी छ। हामीहरूको खोज–अनुसन्धानमा नेपाली क्रान्तिको राजनीतिक कार्यनीति समाजवादी लोकतन्त्र नै हो।
थप प्रस्टता कि राजनीतिक कार्यदिशाअन्तर्गत राजनीतिक रणनीति र राजनीतिक कार्यनीति पर्दछन्। रणनीतिमा समाजवाद भनिएको छ, जुन ठिक छ। तर, कार्यनीतिबिनाको रणनीति पाखण्ड ठहर्छ। यसरी राजनीतिक कार्यनीतिमा आउँदा समाजवादी राजनीतिक कार्यनीतिको अभावमा नेपाली कम्युनिस्ट पार्टी पाखण्डी समाजवादको सिनो बोकिरहेको झैँ लाग्छ। त्यसैले त्यस्तो पाखण्डी समाजवादको नियतिबाट पार्टीलाई मुक्त गर्नकै लागि हामीले समाजवादी लोकतन्त्रबारे छिटो अध्ययन र बहस गरौँ भनिरहेका हौँ।




