आदिवासी

राई समुदायको मौलिक ज्ञान पुस्तान्तरण गर्न माङसेबुङमा ‘मुन्दुम पाठशाला’

इलाम, ५ भदौः इलामको माङसेबुङ गाउँपालिकामा ‘मुन्दुम पाठशाला’ सञ्चालन हुने भएको छ ।

किरात राई समुदायको सभ्यता, संस्कृति, भाषा र मुन्दुमको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले पाठशाला सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जानकारी दिनुभयो । पाठशाला सञ्चालनका लागि चालु आर्थिक वर्ष २०८३/८४ मा रु १५ लाख विनियोजन गरिएको उहाँले बताउनुभयो ।

पाठशाला सञ्चालनपछि किरात राई समुदायको मौलिक ज्ञान, दर्शन, संस्कार र परम्परालाई व्यवस्थित रूपमा नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । यसअघि किरात लिम्बू समुदायको सभ्यता, संस्कृति, भाषा र मुन्धुमको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले ‘किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिम (पाठशाला)’ सञ्चालन हुँदै आएको छ ।

मुन्धुमलाई किरात समुदायको मौखिक धार्मिक–सांस्कृतिक ज्ञान, दर्शन र परम्पराको मूल आधार मानिन्छ । लिम्बू समुदायले यसलाई ‘मुन्धुम’ र राई समुदायले ‘मुन्दुम’ भन्ने गर्छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार १६ हजार ८१० जनसङ्ख्या रहेको माङसेबुङमा ४२.८३ प्रतिशत लिम्बू र ३३.६ प्रतिशत राई समुदायको बसोबास छ । भाषागत आधारमा ४१.६७ प्रतिशत लिम्बू र २३.५९ प्रतिशत वान्तवा मातृभाषा बोल्ने समुदाय छ ।
–––

Related Articles

Back to top button