आदिवासी

नेपाल भाषा प्रवर्द्धन गर्ने सम्मानित

काठमाडौँ, २४ जेठः नेपाल भाषालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवर्द्धन गर्न योगदान पु¥याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।

पद्मरत्न लुमन्ति गुथीद्वारा आज आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपाल भाषाको प्रवर्द्धनमा काम गर्ने राष्ट्रियसभा सदस्य अन्जान शाक्य, काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, काठमाडौँ महानगरपालिका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, प्रकाश पालिखे, कृष्ण उदास, ज्ञानकाजी शाक्य र जीवनराम मानन्धर मरणोपरान्तरलाई कदर पत्रले सम्मान गर्नुभयो ।

त्यस अवसरमा मन्त्री अधिकारीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक नेपाल धार्मिक सहिष्णुताको उदाहरणीय रहेको बताउनुभयो । उहाँले नेपालमा बोलिने भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्न सबै जाति समुदायले आफ्ना भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले हाम्रा मौलिक संस्कृति, परम्परा, भाषा राष्ट्रको गौरव भएकाले त्यसलाई संरक्षण र सम्वर्द्धन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । राष्ट्रको भाषा तथा संस्कृति लोप भएमा देशको अस्तित्व सङ्कटमा पर्नेतर्फ सम्बन्धित सबै निकायको ध्यानाकर्षण गर्नुभयो ।

भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले मुलुकमा १३४ भाषा प्रचलनमा रहेको जानकारी दिँदै आयोगले लोपोन्मुख भाषा संरक्षणका लागि कार्य गर्ने बताउनुभयो । गुथिका अध्यक्ष डा केशवमान श्रेष्ठलगायतले भाषा मानव समुदायको नीति भएको बताउँदै निजी तथा सामुदायिक विद्यालयले भौगोलिक विशेषताका आधारमा भाषा तथा साहित्य प्रवर्द्धन हुने गरी पठनपाठन गराउनुपर्ने बताउनुभयो ।
–––

Related Articles

Back to top button