आदिवासीप्रवास

दोस्रो युरोप स्तरीय लिम्बुहरुको सम्मेलन बेल्जियममा सम्पन्न, ५ बुंदे घोषणापत्र जारी

बेल्जियम — गत २७ जुलाई २०२६ का दिन किरात याक्थुङ चुम्लुङ (कियाचु) बेल्जियमद्वारा आयोजित दोस्रो युरोपस्तरीय सम्मेलन तथा प्राज्ञिक बहस कार्यक्रम तथा सिसेक्पा तङ्नाम पर्व बेल्जियमको लोभेन शहरमा सफलतापूर्वक सम्पन्न भएको छ ।

सम्मेलनमा बेल्जियमका लागि नेपालका महामहिम राजदूत सेवा लम्साल तथा नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम को अध्यक्ष प्रविणा गुरुङ जातीय तथा सामाजिक संस्थाका प्रतिनिधिहरू, गैर आवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारी तथा समाजसेवीहरूको गरिमामय उपस्थिति रहेको थियो ।

कार्यक्रममा लिम्बु जातिको भाषा, धर्म, संस्कृति, पहिचान, संगठनको सुदृढीकरण, युरोपभरिका संस्थाहरूबीच दीर्घकालीन सहकार्य तथा साझा योजनाका विषयमा गहन छलफल गरिएको थियो । साथै, संगठनको भावी कार्यदिशा, आपसी एकता र समुदायको हितमा साझा अवधारणासहित अघि बढ्ने विषयमा महत्वपूर्ण निर्णयहरू समेत गरिएको थियो ।

सम्मेलनमा प्रेमचन्द्र निङलेखुले तङसिङ मुन्धुममा चोत्लुङको यात्रा बिषयमा कार्यपत्र प्रस्तुत गर्दै मुन्धुम याक्थुङहरुको प्राण भएको हुनाले यसले जीवन र जगतका बारेमा कला र उर्जा प्रदान गर्ने बताउनु भयो ।

अर्का कार्यपत्र प्रस्तोता विश्वास दीप तिगेलाले नेपालको राजनीतिमा लिम्बुहरुको सहभागिता बिषयमा कार्यपत्र प्रस्तुत गर्दै पछिल्लो ३१ बर्षमा नेपालमा लिम्बुहरुको जनसंख्या घट्दो रहेको चिन्ता व्यक्त गर्दै यसले राजनीतिक क्षेत्रमा पनि असर पारेको बताउनु भयो । उहाँले पछिल्लो राजनीतिक तथ्याङ्क प्रस्तुत गर्दै राजनीतिमा लिम्बुहरुको सहभागिता घट्नुमा सरकारले लिम्बुहरुको सघन बसोबास क्षेत्रहरुमा निर्वाचन क्षेत्र घटाउनु मुख्य कारण रहेको जिकिर गर्नु भयो ।

यसै अवसरमा कियाचु बेल्जियमको आयोजनामा लिम्बुहरूको सांस्कृतिक पर्व सिसेक्पा तङ्नाम अर्थात् (साउने सङ्क्रान्ति) बेल्जियमको एन्टवर्प शहरमा भव्य रूपमा मनाइएको थियो । कियाचु जर्मनका अध्यक्ष सन्चमान लिम्बु, कियाचु मल्टाका अध्यक्ष प्रेम फोम्बो र कियाचु पोर्तुगलका अध्यक्ष रुपमान केरुङ लगायतले शुभ कामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा परम्परागत केलाङ नृत्य, लिम्बु गीत–संगीत, सांस्कृतिक प्रस्तुति एवं विविध गतिविधिमार्फत याक्थुङ समुदायको मौलिक भाषा, कला, संस्कृति र पहिचानलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो ।

यस ऐतिहासिक सम्मेलन तथा सांस्कृतिक पर्वले युरोपमा रहेका लिम्बु (याक्थुङ) समुदायबीच आपसी एकता, सहकार्य र भाइचारालाई अझ सुदृढ बनाउँदै भाषा, संस्कृति र पहिचान संरक्षणका लागि साझा प्रतिबद्धतालाई थप मजबुत बनाएको विश्वास लिइएको छ ।

यस कार्यक्रमको संयोजन तथा नेतृत्व कियाचु बेल्जियमका अध्यक्ष बदेन येङ्याङले गर्नुभएको थियो भने संचालन किसोर सुब्बाले गर्नुभएको थियो । पहिलो दिन प्राज्ञिक लिम्बुवान बहस र सम्मेलन, दोस्रो दिन कियाचु बेल्जियमको सिसेक्पा तङनाम र तेस्रो दिन विभिन्न मुलुकबाट पाल्नु भएका पाहुनाहरुलाई बेल्जियमका विभिन्न ठाँउहरुको भ्रमण गराईएको थियो ।

कियाचु मल्टाबाट अध्यक्षः प्रेम फोम्बो, उपाध्यक्ष नरेन्द्र लिम्बु र कोषाध्यक्षः प्रकाश आंगदेम्बे । कियाचु जर्मनका अध्यक्ष सन्चमान जबेगु, सल्लाहकार टेक बहादुर फागो नेयोङ, सदस्यद्धय हिमाल लिम्बु, आङदावा शेर्पालिम्बु, कियाचु पोर्तुगलको अध्यक्ष रूकमान केरूंग र निवर्तमान अध्यक्ष प्रेम निंगलेकू, कियाचु युकेका निवर्तमान महासचिव विश्वास दीप तिगेला लगायतको सहभागिता रहेको थियो । हालै विकसित धरान विजयपुर घटना र ताप्लेजुङ मुक्कुमलुङ (पाथीभरा) मा निर्माण गर्ने भनिएको केबलकारको विषयले निक्कै चर्चा पाएको थियो । आउदो बर्ष कियाचु जर्मनीले युरोप स्तरिय भेला गर्ने निर्णय गर्दै ५ बुंदे घोषणापत्र जारी गर्दै सम्मेलन समापन भयो । पहिलो सम्मेलन गत बर्ष कियाचु पोर्तुगलको आयोजनामा लिस्बोनमा सम्पन्न भएको थियो ।

घोषणापत्रमा समेटिएका बुंदाहरुः १. युरोपको विभिन्न मुलुकमा रहेका मध्ये किरात याक्थुङ चुम्लुङ(कियाचु) बेल्जियम, पोर्तुगल, जर्मनी र माल्टाका अध्यक्ष तथा पदाधिकारी एवं प्रतिनिधिहरुको सहभागितामा दोस्रो युरोप स्तरीय लिम्बु(याक्थुङ) चुम्लुङ सम्मेलन सुसम्पन्न भयो । आयोजना सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण संघ संगठन तथा महानुभावहरुलाई यो सम्मेलन धन्यवाद ज्ञापन गर्दछ । सम्मेलन तथा सिसेक्पा तङनामको संयोजन एवं व्यवस्थापनका लागि कियाचु बेल्जियमप्रति आभार व्यक्त गर्दछ । २. सम्मेलनमा वृहत “दोस्रो लिम्बुवान प्राज्ञिक बहस युरोप श्रृङ्खला २“ लुभेन सहरमा नेपाली राजदूत महामहिम सेवा लम्सालको समुपस्थितिमा सम्पन्न भयो । कार्यपत्र प्रस्तोता विश्वास दीप तिगेला लिम्बू र प्रेमचन्द्र निंलेखु लिम्बुद्वारा कार्यपत्र प्रस्तुत भयो र सहभागिहरुद्वारा सोधिएका जिज्ञासा उपर प्रस्तोताद्वयबाट उत्तर दिने कार्य भएको यो सम्मेलन घोषणा गर्दछ । ३. एतिहासिक लिम्बुवानको राजधानी विजयपूरमा भइरहेको अतिक्रमणप्रति खेद व्यक्त गर्दै शान्तिपूर्ण वार्ताबाट समस्याको समाधान गर्न यो सम्मेलन आह्वान गर्दछ । ४. आदिवासी लिम्बू जाति लगायतको आस्था र धरोहरको केन्द्र पवित्र स्थल मुक्कुमलुङ(पाथिभरा) निर्माणाधिन केवलकारलाई अविलम्ब खारेज गरी जनताको आस्था र धरोहरलाई बचाउन साथै फर्जि कागजातमार्फत अघि बढेको निर्माण कार्यलाई तुरुन्त अनुसन्धान गरी सम्बन्धित सम्पूर्ण निकायलाई कार्वाहिको दायरामा ल्याउन यो सम्मेलन जोडदार माग गर्दछ । ५. आगामी वर्षको “युरोप स्तरीय सम्मेलन तथा लिम्बुवान प्राज्ञिक वहस युरोप श्रृङखला–३“ किरात याक्थुङ चुम्लुङ जर्मनीले संयोजन(होस्ट) गर्ने सहमति भएको घोषणा गर्दछ । उल्लेख छ ।

– प्रकाश आङदेम्बे, मल्टा

Related Articles

Back to top button