एल्डरशट एरिनामा ‘म्युजिक फर युनिटी’ नारा सहित १८औँ नेपाली ओपन कन्सर्ट २०२६ आयोजना हुने

एल्डरशट, बेलायत – मगर एसोसिएसन यूकेले ‘म्युजिक फर युनिटी’ (Music for Unity) भन्ने मूल नारा सहित १८औँ नेपाली ओपन कन्सर्ट २५ जुलाई २०२६ एल्डरशटस्थित रशमोर एरिनामा आयोजना गर्ने घोषणा गरेको छ।
नेपाली संस्कृति संरक्षण, प्रवर्द्धन तथा संगीतमार्फत समुदायबीचको एकता र आपसी सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ वार्षिक रूपमा आयोजना हुँदै आएको यो कार्यक्रम बेलायतस्थित नेपाली समुदायको प्रमुख सांस्कृतिक उत्सवमध्ये एक मानिन्छ।
सन् २००२ सालमा स्थापना भएको मगर संघ यूकेमा सन् २००७ साल देखि सुरु गरिएको नेपाली ओपन कन्सर्टले बेलायतमा बसोबास गर्ने नेपाली समुदायबीच आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेको छ। सन् २०२६ को संस्करणले पनि नेपाल र प्रवासका कलाकार तथा दर्शकलाई एकै थलोमा ल्याउँदै समावेशी र सांस्कृतिक रूपमा समृद्ध कार्यक्रम प्रस्तुत गर्न लागेको संयोजक उपाध्यक्ष गुमानसिं थापा बताउछन्। थापाको अनुसार यस वर्षको कार्यक्रममा पनि परम्परागत तथा समकालीन नेपाली संगीतको आकर्षक संगम प्रस्तुत गरिनेछ। नेपाल तथा प्रवासमा स्थापित कलाकारसँगै उदाउँदा प्रतिभाहरूको समेत प्रस्तुति रहने भएकाले सबै उमेर समूहका दर्शकलाई लक्षित गरिएको छ। आयोजकका अनुसार कन्सर्टको मुख्य उद्देश्य नेपाली कला, संस्कृति र मौलिक पहिचानको प्रवर्द्धन गर्नु, बेलायतभर रहेका नेपाली समुदायलाई सांस्कृतिक गतिविधिमार्फत जोड्नु तथा कलाकारहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने साझा मञ्च उपलब्ध गराउनु हो। संगीतमार्फत समुदायलाई एकताबद्ध गर्दै नेपालीपनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा चर्चित मन्त्र ब्याण्ड, द भ्वाइस अफ नेपाल सिजन–७ की विजेता नीता कुमारी थापा मगर, द भ्वाइस अफ नेपाल सिजन–३ का सेमिफाइनलिस्ट गोविन्द पुन, सिजन–७ की दोस्रो रनरअप पूनम गुरुङ, साथै सविना बुढा, रुस्मा (रुपी) सिन्जाली र सम्झना भण्डारीको प्रस्तुति रहनेछ। यसका अतिरिक्त ८औँ मगर गट ट्यालेन्टका विजेता अलिशा पुन र प्रतिभा पुनले पनि आफ्नो प्रस्तुति दिनेछन्।
एल्डरशटको फ्लीट रोड स्थित रशमोर एरिना सार्वजनिक यातायातबाट सहज रूपमा पुग्न सकिने स्थानमा रहेको छ जसको ठेगाना Rushmoor Arena, Aldershot GU11 2FE रहेको छ भने एल्डरशट, नर्थ क्याम्प र फार्नबरो मेन रेल स्टेशन रहेका छन। स्थानीय बस सेवाबाट पनि कार्यक्रम स्थल पुग्न सकिन्छ।
आयोजकले कार्यक्रममा आउने बालबालिका अनिवार्य रूपमा अभिभावकसँग हुनुपर्ने तथा घरपालुवा जनावरलाई कार्यक्रमस्थलमा प्रवेश अनुमति नदिइने जानकारी दिएको छ।
मगर एसोसिएसन यूकेले नेपाली तथा मगर समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर योगदान पुर्याउँदै आएको छ। नेपाली ओपन कन्सर्टजस्ता कार्यक्रममार्फत संस्थाले बेलायतस्थित नेपाली समुदायबीच आपसी सम्बन्धलाई अझ सुदृढ बनाउँदै सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने प्रयास गर्दै आएकोले अध्यक्ष लाल बहादुर (लालु) पुनले सम्पूर्ण नेपाली तथा स्थानीय समुदायलाई कार्यक्रममा हार्दिक निमंत्रणा गरेका छन् ।




