स्थानीय

धनकुटाको मूलघाटमा बस दुर्घटना, ११ जना घाइते

धनकुटा– कोशी लोकमार्ग अन्तर्गत धनकुटा नगरपालिका–९ च्याङच्याङबारीस्थित मूलघाट क्षेत्रमा शुक्रबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

संखुवासभाबाट धरानतर्फ जाँदै गरेको को १ ख ७७८८ नम्बरको बस दिउँसो करिब २:४० बजे अचानक अनियन्त्रित भई सडकमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मूलघाटबाट प्रहरी सहायक निरीक्षक हरीकुमार राईको कमाण्डमा ४ जनाको टोली तथा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा १३ जनाको थप टोली घटनास्थलमा खटिएको थियो।

बसमा सवार करिब १५ यात्रुमध्ये ११ जना सामान्य घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी तत्काल उपचारका लागि स्थानीय स्वास्थ्य संस्थातर्फ पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि केही समय अवरुद्ध बनेको सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ। घटनास्थल प्रहरी चौकी मूलघाटबाट करिब ४ किलोमिटर उत्तरतर्फ पर्ने बताइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Back to top button