स्थानीय

विद्यालयमा आधुनिक ‘इलर्निङ सेन्टर’ स्थापना

भोजपुर, २८ वैशाख : यहाँको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कस्थित सिंहदेवी माध्यमिक विद्यालयमा आधुनिक इलर्निङ सेन्टर स्थापना गरिएको छ । ग्रामीण क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई समयसापेक्ष, गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षण प्रणालीसँग जोड्ने उद्देश्यका साथ ईश्वर मन्दिर काठमाडौँको पहलमा उक्त सेन्टर स्थापना गरिएको हो ।

डिजिटल युगको आवश्यकताअनुसार शिक्षण प्रणालीलाई रुपान्तरण गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको यस अभियानअन्तर्गत विद्यालयलाई २० थान डेस्कटप कम्प्युटर, एक थान स्मार्ट टिभी तथा आवश्यक सामग्री प्रदान गरिएको छ । यससँगै विद्यालयमा औपचारिक रूपमा इलर्निङ सेन्टर सञ्चालनमा ल्याइएको हो ।

ईश्वर मन्दिर काठमाडौँ अभियानका महासचिव सङ्केत कोइरालाले ग्रामीण क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्न अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । “शिक्षामा प्रविधिको प्रयोगले सिकाइ प्रक्रियालाई अझ प्रभावकारी, सहज र रोचक बनाउँछ”, उहाँले भन्नुभयो, “हामीले भोजपुरका विभिन्न दुर्गम क्षेत्रका विद्यालयहरूमा यस्ता कार्यक्रम विस्तार गर्दै लैजाने लक्ष्य लिएका छौँ ।”



विद्यालयका प्रधानाध्यापक राजधन राईले इलर्निङ सेन्टर स्थापनाले विद्यालयको समग्र शैक्षिक वातावरणमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार अब विद्यार्थीले डिजिटल माध्यमबाट पाठ्यवस्तु बुझ्न, अनुसन्धान गर्न तथा व्यावहारिक ज्ञान हासिल गर्न थप सहज हुनेछ ।

“यो सेन्टरले विद्यार्थीको सिर्जनशीलता र सिकाइ क्षमतामा उल्लेखनीय सुधार ल्याउनेछ, अब हामी कक्षाकोठामा मात्रै सीमित नभई प्रविधिमार्फत विश्वसँग प्रतिस्पर्धा गर्ने वातावरण तयार गर्नेछौँ”, उहाँले भन्नुभयो ।

टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले सामुदायिक विद्यालयमा यस्ता प्रविधिमैत्री पूर्वाधार विकास हुनु सकारात्मक र प्रेरणादायी कदम भएको बताउनुभयो । उहाँले गाउँपालिकाले पनि शिक्षा क्षेत्रमा सुधार ल्याउन योजनाबद्ध रूपमा काम गरिरहेको उल्लेख गर्नुभयो । “शिक्षा समाज परिवर्तनको मूल आधार हो, हामीले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै आधुनिक शिक्षण प्रणालीमा पनि लगानी बढाइरहेका छौँ । यस्ता सहकार्यले हाम्रो अभियानलाई थप बल पुगेको छ”, अध्यक्ष बस्नेतले भन्नुभयो ।


Related Articles

Back to top button