मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

मुस्ताङ, २५ वैशाख : नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास मुस्ताङमा सुरु भएको छ । यहाँको घरपझोङ गाउँपालिका जोमसोमस्थित नेपाली सेनाको इन्द्रबक्स गणको आयोजनामा बिहीबारदेखि खोज तथा रेस्क्यु अभ्यास सुरु गरिएको हो ।
उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, अत्यधिक चिसो र भौगोलिक विकटताका कारण हुने सम्भावित जोखिम तथा दुर्घटना न्यूनीकरणका साथै खोज तथा उद्धारकार्यमा सहज पुर्याउने उद्देश्यले इन्द्रबक्स गणले यसप्रकारको नमूना अभ्यास आयोजना गरेको जनाएको छ ।
अभ्यासका लागि छिमेकी जिल्ला मनाङको भैरवी दल गुल्मबाट चार जना टोलीसहित इन्द्रबक्स गण र सैनिक उच्च शिखर शिक्षालय कैसाङबाट गरी करिब ५५ जनाभन्दा बढीको सहभागिता रहेको इन्द्रबक्स गणले जनाएको छ ।
उच्च हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धार कार्यमा नेपाली सेनाको क्षमता अभिवृद्धि गर्ने र यस प्रकारका जोखिमयुक्त स्थानमा हुने सम्भावित दुर्घटनाबाट जोगाउन उद्धारकार्यलाई प्रभावकारी तुल्याउन प्राविधिक सीप र कलाको विकासले खोज तथा उद्धारमा सहयोग पुग्ने इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँडले जानकारी दिनुभयो । खोज तथा उद्धार अभ्यासअन्तर्गत हिमनदी र पर्वतीय खोंचमा पसेका यात्रीलाई सुरक्षित उद्धार लगायतका अभ्यास हुने उहाँले बताउनुभयो ।
‘रेस्क्यु’ अभ्यासअन्तर्गतको पहिलो दिन इन्द्रबक्स गणको नजिकैको विशाल चट्टानी पहाडमा डोरीको सहायताबाट रक क्लामिङको नमूना अभ्यास गरी ‘रेस्क्यु’ अभ्यास गरिएको हो । त्यसैगरी अभ्यासको दोस्रो दिन आज (शुक्रबार) घरपझोङ गाउँपालिका–५ स्थित सैनिक उच्च शिखर शिक्षालय नजिकै रहेको हिमनदी इलाकामा ‘रेस्क्यु’ अभ्यास हुने इन्द्रबक्स गणले जनाएको छ । उक्त स्थान समुद्री सतहको चार हजार मिटरको उचाइमा छ । हिमनदी र हिउँ पहिरो जाने क्षेत्रमा अलपत्र परेका पदयात्रीको खोज तथा उद्धारकार्यको कृत्रिम अभ्यास गरिने जनाइएको छ ।
अभ्यास कार्यक्रमको पश्चिम पृतना हेडक्र्वाटरका पृतनापति एवं उपरथि भोलानाथ थापा, २३ नंं बाहिनीका बाहिनीपति एवं सहायक रथि विजय केसी, सैनिक उच्चशिखर शिक्षालयका महासेनानी सुशील प्याकुरेल र इन्द्रबक्स गणका गणपति प्रमुख सेनानी गौरवध्वज खाँडले अवलोकन गर्नुभएको थियो ।
त्यसैगरी, अभ्यास कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म र जिल्ला प्रहरी कार्यालय मुस्ताङका सुरक्षा प्रमुख एवं प्रतिनिधिको उपस्थिति थियो । उच्च उचाइको क्षेत्रमा गरिने यस प्रकारका खोज तथा उद्धार अभ्यासले हिमाली क्षेत्रमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकको उद्धारकार्यमा प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ ।




