उज्यालो नेपाल पार्टीले थाल्यो सुनसरी-१ मा निर्वाचनको तयारी
थिङकाे संयाेजकत्वमा ५०१ सदस्यीय समिति

२३ जनवरी, विजयपुर । आसन्न प्रतिनिधिसभाकाे निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टीले सुनसरी क्षेत्र नम्बर एकमा चुनावी तयारी तीव्र बनाएको छ । उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीले सुनसरी क्षेत्र नम्बर एकमा निर्वाचन परिचालन समिति गठन समेत गरेको छ ।
शुक्रबार धरानको पार्टी कार्यालयमा बसेकाे बैठकले साझा उम्मेदवारलाई विजयी गराउन भन्दै पार्टीले प्रदेश एक लोक बहादुर थिङकाे संयाेजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको थियोे । पार्टीका केन्द्रीय सदस्य एवम् युवा नेता डम्बर लाओती (जेन्टल) सुनसरी-१ का प्रत्यक्षतर्फका उम्मेदवार हुन् । समानुपातिकतर्फ उत्तरकुमारी राई छिन् । उनी जेन-जी आन्दोलनका सहिद साजन मेवाहाङ राईका पारिवारिक सदस्य हुन् ।

निर्वाचन परिचालन समितिकाे सह-संयोजकहरूमा लोक बहादुर राई र मुना राई, सचिवमा अमित थेवे, सहसचिवहरूमा तारा श्रेष्ठ र सीमा राई, आर्थिक विभाग प्रमुखमा कमला रुम्दाली, महिला विभाग प्रमुखमा मिसन लामा, प्रचार प्रसार विभाग प्रमुखमा डम्बर लाबुङ, युवा विभाग प्रमुखमा सुमन राई, विद्यार्थी विभाग प्रमुखमा सीमा राई छन् । त्यस्तै, मिडिया प्रमुखमा युमेहाङ राई, कानून, प्रशासन, राजनीतिक सम्वाद प्रमुखमा विपीन इङ्वाराम रहेका छन् ।
मंगलबार धरान-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा २६ जनाले मनोनयन पत्र दर्ता गराएको निर्वाचन अधिकृत दिव्यराज घिमिरेले जानकारी दिएका छन् । जसमा १९ जनाले विभिन्न राजनीतिक दलहरूबाट र ७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
उज्यालो नेपाल पार्टीले प्रत्यक्षतर्फ चुनाव चिन्ह ‘चिम’ र समानुपातिकतर्फ ‘बाँसुरी’ मार्फत १६५ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन् । ११० सिट समानुपातितर्फ रहेको छ ।




