सम्पत्ति शुद्धीकरण विभागको टोली पुग्यो कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वमन्त्री दीपक खड्काको घरमा

काठमाडौ । जेन–जी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वमन्त्री दीपक खड्काको घरमा सम्पत्ति शुद्धीकरण विभागको टोली पुगेको छ।
हरिहर भवनस्थित विभागबाट एसपी नवरत्न पौडेलसहितको टोली आइतबार उनीहरूको घरमा पुगेर मुचुल्का उठाउने काम गरेको उच्च स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ।
जेलिएको घरमा ठूलो मात्रामा नगद रहेको भन्दै केही भिडियो पनि सार्वजनिक भएको थियो। बुढानीलकण्ठस्थित देउवाको घरमा डलर र नेपाली रुपैयाँका पाँच सय र हजार नोटहरूका जलेका टुक्राहरू समेत फेला परेको विभागले जनाएको छ। साथै पैसा राख्ने सुरुङ पनि भेटिएको दाबी गरिएको छ।
पूर्वऊर्जामन्त्री दीपक खड्काको घरबाट पनि केही नगद भेटिएको भिडियो बाहिर आएका थिए। त्यसपछि विभागको टोलीले मुचुल्का उठाउँदै अनुसन्धान अगाडि बढाएको छ।
हालसम्मको जानकारी अनुसार जलेको घर, नगद भएको स्थान र अन्य तथ्यांकहरूको विवरण संकलन गरिएको छ। घटनाको ११ दिनपछि विभागको टोलीले प्रत्यक्ष मुचुल्का गरेको हो।
यसअघि देउवाको सचिवालयले सार्वजनिक गरिएका भिडियोहरूलाई खण्डन गर्दै नगद नभएको र सुरुङ नभइ पानी ट्यांकी मात्र रहेको दाबी गरेको थियो।




