खेलकुदप्रवासमनोरञ्जनयुके विशेष

२५ मे २०२५ आईतार हुन गईरहेको गोर्खा कप २३ औं संस्करण तयारी अन्तिम चरणमा

लण्डन । २५ मे २०२५ आईतार हुन गईरहेको गोर्खा कप २३ औं संस्करण तयारी अन्तिम चरणमा पुगेको आयोजक तमुधिं यूकेले जनाएको छ ।

संस्थाले शनिबार मिचेटस्थित आफ्नै कम्युनिटी भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा खेलकुद सचिव एवं गोर्खा कप संयोजक दीपक घलेले सन् १९९६ मा ७ ए साइडबाट शुरु गोर्खा कप २३ औं संस्करण आइपुग्दा विदेशमै नेपालीको उत्कृष्ट र ठूलो इभेन्ट बन्न पुगेको बताए ।

घलेले अल्डरसटस्थित क्विन्स एभिन्यू मैदानमा बिहान ९.३० बजेबाटै खेल शुरु भई सांझ ८ बजे समापन हुने जनाए । उनले यसपटक मेन क्याटेगोरिजतर्फ ३२, भेट्रानमा १६ र दुई महिला टिमले प्रतिष्पर्धा गर्ने जानकारी दिए । मेन क्याटेगोरिज वीनरलाई ३ हजार पाउण्ड, रनर अप १८०० पाउण्ड, भेट्रान वीनर १५०० र रनर अपलाई एकहजार पाउण्ड एवं लेडिजतर्फ वीनरलाई ६ सय र रनर अप हुनेलाई ४ सय पाउण्ड नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र दिइने घलेले जनाए।

गोर्खा कप प्रवेश शुल्क ५ पाउण्ड र कार पार्क शुल्क पनि ५ पाउण्ड राखिएको छ । १२ वर्ष मुनीका लागि भने प्रवेश निशुल्क छ । गोर्खा कपमा प्यारासुट डिस्प्ले, नेपालबाट युरोपमा खेल्ने पहिलो महिला राष्ट्रिय खेलाडी सावित्रा भण्डारी (साम्बा) को प्रत्यक्ष उपस्थिति, गोरक घले र इंग्ल्याण्ड फुटबल टिमका खेलाडीहरुको सहभागिता, सांस्कृतिक नाच गायन, स्वास्थ्य शिविर (दन्त परीक्षण सहित) पनि गरिने उनले जनाए । त्यस्तै, गोर्खाकप स्थलमा हालै अल्डरसट टाउन फुटबल क्लबले जितेको एफए ट्रफीकपको ट्रफी समेत प्रदर्शनका लागि राखिंदैछ । सो अवसरमा व्यापारिक, च्यारिटी, प्रहरी आदिका गरि कुल १०३ वटा स्टल राख्ने तय भएको पनि घलेले बताए ।

सुरक्षा प्रवन्ध, फुड सेफ्टी र मादक पदार्थ प्रतिवन्ध (नो अल्कोहल पोलिसी) हुने उनको भनाइ थियो । गोर्खा कपमा हालसम्म उत्कृष्ट प्रदर्शन गर्ने एक जना खेलाडीलाई ‘लिजेन्ड अफ द फुटबल’ सम्मान समेत प्रदान गरिने संयोजक घलेले जनाए । उनले गोर्खा कपको अनुमानित खर्च ९० हजार पाउण्ड हुने बताउंदै पोहोरको खर्च ७५ हजारबाट यसपटक वृद्धि भएको बताए । दर्शकहरु १५ देखि २० हजार सहभागी हुने अपेक्षा आयोजकको छ ।

पत्रकार सम्मेलनमा तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले गोर्खा कपमा सहभागिताका लागि समस्त बेलायतवासी नेपालीलाई अपिल गरे । उनले प्रचार प्रसारका लागि विशेष गरि नेपाल पत्रकार महासंघ र सहयोगी सबै सञ्चारकर्मीहरुप्रति आभारसमेत व्यक्त गरे । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिएका थिए भने मिडिया सेक्रेटरी एस के गुरुङले सञ्चारकर्मीहरुको परिचय गराएका थिए । संस्थाका अध्यक्ष गुरुङ र आमा समूह अध्यक्ष कमलादेवी गुरुङले सञ्चारकर्मीलाई ‘टोकन अफ लभ’ सहित सम्मान गरे।

टिम ड्र संयोजक हिराबहादुर गुरुङ, सहसंयोजक कुमार घले र सल्लाहकार कुमार गुरुङले टिम ड्र गराएका थिए । अध्यक्ष गुरुङ, गोर्खा कप संयोजक दीपक घले, आमा समूह अध्यक्ष कमलादेवी गुरुङ लगायतले ड्र गरेका थिए । टिम ड्रका सहसंयोजक कुमार घलेले मेन क्याटेगोरिजमा ४२ टिम र भेट्रानतर्फ १८ टिमले आवेदन दिएपनि सबैलाई लिन नसकिएको बताए । सो अवसरमा संस्थाका पूर्व अध्यक्ष तथा ट्रष्टी हितकाजी गुरुङ, ट्रष्टी एवं संस्थापक कोषाध्यक्ष सूर्य गुरुङ, सल्लाहकारहरु क्याप्टेन राजु गुरुङ, मेजर टेमबहादुर गुरुङ, ले. चन्द्र गुरुङ, डेभिड गुरुङ, धनकाजी गुरुङ, श्रीमति हुमकुमारी गुरुङ, सल्लाहकार एवं आमा समूहकी संस्थापक अध्यक्ष पुनम गुरुङ, गोरे गुरुङ, लोक गुरुङ, मेजर कृष्ण गुरुङ, एबी गुरुङलगायतलाई अध्यक्ष गुरुङले सम्मान गरेका थिए ।

हर्क गुरुङ प्रतिष्ठानका तर्फबाट लोक गुरुङले अध्यक्ष गुरुङलाई सम्मानपत्र प्रदान गरेका थिए । आजीवन सदस्यलाई पनि प्रमाणपत्र प्रदान गरियो ।

साथै, आमा समूहकी पूर्व महासचिव यशोदा गुरुङले आमा समूह अध्यक्ष गुरुङलाई १० वटा टिसर्ट र ७ टोपी हस्तान्तरण गरेकी थिइन् । गुरुङले गत वर्ष ४० वटा टिसर्ट प्रायोजन गरेकी थिइन् ।

उक्त अवसरमा तमुधिं यूके संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्व अध्यक्ष एवं एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङ, तमुधिं यूके पूर्व अध्यक्षहरु रामचन्द्र (सूर्जे) गुरुङ, ज्ञाम गुरुङ, नन्दजंग गुरुङ, हरि गुरुङ तथा सल्लाहकारहरु सूर्य गुरुङ, ले. रि. चन्द्रबहादुर गुरुङ, दिलरास गुरुङ, डेभिड गुरुङ, पुनम गुरुङ लगायत अन्य ईकाईका अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।

Related Articles

Back to top button