युके विशेष

यूकेको आस्फोर्डमा एकदिने याक्थुङ सिरीजङघा लिपि प्रशिक्षण सम्पन्न

- चन्द्रगोपाल

युमा साम्यो महासभा यूकेको आयोजनामा आईतबार सगरमाथा गोर्खा नेपाली समाजको कार्यालयमा याक्थुङ सिरीजङघा लिपिको एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

याक्थुङ/लिम्बु भाषाको पत्रिका ‘थोदिम’ का सम्पादक छत्र वनेमको प्रशिक्षणमा भएको कार्यशालामा सहभागिहरुले आफ्नो भाषा र लिपि अध्ययनमा रुचि बढेको प्रतिक्रिया दिएका छन् । कोदोको रक्सीका व्यावशायी जितेन्द्र चेम्जोङले युमा साम्योको यो कार्य अत्यन्तै सर्हानिय भएको बताएका छन् ।

प्रशिक्षार्थीको रुपमा सहभागि नेपाली समाजका अध्यक्ष डम्मर सिंघकले आस्फोर्ड काउन्सिलबाट यस्ता खाले भाषिक कक्षाहरु सन्चालन गर्न बजेटको माग गरिएको र प्राप्त हुने सम्भावना प्रबल रहेको भनेका छन् । नेपाल आदिवासी जनजाति महासंघ यूकेका पूर्व अध्यक्ष सिरी साम्युले यो कार्यक्रम अत्यन्तै सकरात्मक भएको प्रतिक्रिया व्यक्त गर्दै महासभा र प्रशिक्षक वनेमलाई धन्यवाद दिएका छन् । लिपि प्रशिक्षार्थीकै रुपमा सहभागि लेखक बिजय लुम्फुङवाले याक्थुङ लिपि र भाषा जोगाउन यूकेमा ठूलो चुनौति भएको औल्याएका छन् ।

साम्योका अध्यक्ष दिल पालुङवाले कार्यक्रमको अन्त्यमा प्रशिक्षक वनेमलाई सिलामसाक्मा लगाईदिएर सम्मान गरेका थिए । समापन मन्तव्य राख्ने क्रममा अध्यक्ष पालुङवाले याक्थुङ सिरिजंघा लिपिलाई यो वा त्यो नाममा कुनै किसिमको हस्तक्षेप स्विकार्य नहुने भनेका छन् । यूकेमा नयाँ पुस्तालाई लक्ष्यित गरेर आगामि दिनमा यस्ताखाले कार्यशालाहरु सन्चालन गरिने बताएका छन् ।

Related Articles

Back to top button