अन्तर्राष्ट्रिय नेपाली मञ्च युकेको अधिवेशन ३ अक्टोबरमा, वर्षमान पुन प्रमुख अतिथि

लन्डन। अन्तर्राष्ट्रिय नेपाली मञ्च युकेको छैटौँ राष्ट्रिय अधिवेशन आउँदो ३ अक्टोबरमा हुने भएको छ।
नेपाली कम्युनिस्ट पार्टीका सङ्गठन विभाग प्रमुख वर्षमान पुन ‘अनन्त’को प्रमुख आतिथ्यमा उक्त अधिवेशन आयोजना हुने भएको हो। नेपाली जनप्रगतिशील मञ्च युके, प्रवासी नेपाली एकता मञ्च युके र नेपाली समाज युकेको समायोजनपश्चात् संस्थाको नाम ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च युके’ राखिएको हो।
अधिवेशनको खुला सत्रमा नेपालका विभिन्न राजनीतिक दलका बेलायतस्थित संगठनहरूलाई अतिथिका रूपमा आमन्त्रण गरिने भएको छ। साथै, नेपाली कम्युनिस्ट पार्टीका विभिन्न तह तथा मोर्चामा आबद्ध नेता, कार्यकर्ता एवं शुभचिन्तकहरूलाई अधिवेशनमा सहभागिता जनाउन अपिल गरिएको छ।
अन्तर्राष्ट्रिय नेपाली मञ्च युकेकी संयोजक विमला लिम्बूले यस अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने जानकारी दिएकी छन्।
पार्टीका कुनै पनि नेता तथा कार्यकर्ता अधिवेशनमा सहभागी हुनबाट नछुटून् भन्ने उद्देश्यले सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिने समयावधि आउँदो २० सेप्टेम्बर २०२६ सम्म खुला गरिएको उनले बताइन्। भर्खरै नेपालबाट बेलायत आउनुभएका तथा मञ्चसँग सम्पर्कमा नरहनुभएका नेता, कार्यकर्ता एवं शुभचिन्तकहरूलाई सम्पर्कमा आउन आग्रह गर्दै मञ्चले सूचना जारी गरेको छ।





