समाचार

युके आइपुगे मेयर हर्क साम्पाङ, एयरपोर्टमा भयो भव्य स्वागत

युके,
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ दुई हप्ते भ्रमणको लागि परिवार सहित युके आइपुग्नुभएको छ। उहाँको यो भ्रमणको मुख्य उद्देश्य धरानको चिन्डे डाँडामा निर्माण गर्न लागिएको सुम्निमा पारुहाङ्को प्रतिमाको आर्थिक सहयोग संकलन अभियानलाई अघि बढाउनु हो।

मेयर साम्पाङलाई श्रम संस्कृतिका प्रवर्तकको रुपमा अत्यन्तै चर्चित र लोकप्रिय नेताको रुपमा मानिन्छ। उहाँ आलोचकहरूबाट आलोचित भए पनि जनताबीच सत्य बोल्न नडराउने एक दृढ नेता हुनुहुन्छ। सामाजिक संजालमा सधैं सकृय रहनुहुने मेयर साम्पाङ्गका हरेक पोस्टमा सकारात्मक र नकारात्मक दुबैखाले प्रतिक्रियाहरु देखिन्छन्।

उहाँको भ्रष्टाचारविरुद्धको अडान पनि विशेष चर्चा पाएको छ, जहाँ उहाँले एक पैसा पनि भ्रष्टाचार गरेको प्रमाणित भएमा सदाका लागि धरान छोड्ने घोषणा गर्नुभएको थियो।
उहाँका हरेक स्टाटसले चेतना छरिरहेको हुन्छ, “म जहाँ गए पनि एउटा आवाज बनेर जानेछु ! म जहाँ भए पनि एउटा आवाज बनेर बाँच्नेछु ! सुतेकालाई जगाउनु र सही मार्गमा लगाउनु मेरो स्वभाव हो !”

युके भ्रमणको क्रममा मेयर साम्पाङ्गले विभिन्न शहरका मेयरहरूसँग भेटघाट, संसद भवनको भ्रमण र अन्य विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्नु हुनेछ।

मेयर साम्पाङको युके भ्रमण आयोजक धरान समाज युके, सुम्निमा पारुहाङ आर्थिक सहयोग संकलन समिति युके, किरात राई यायोक्खा युके, एनआरएन युके, गोर्खा नेपाली समाज मेडवे, किरात बान्तावा खिम युके, किरात साम्पाङ राई जुम्लेखा युके लगायतका संघ संस्था, पत्रकार र समाजसेवीहरूले हिथ्रो बिमानस्थलमा भव्य स्वागत गरेका थिए।
धरान समाज युकेका अध्यक्ष रमेश लिम्बु, कार्यक्रम संयोजक उपाध्यक्ष भास्कर राई सहित सम्पूर्ण कार्यसमिति
किरात राई यायोक्खा युकेका डा. महा राई,किरात साम्पाङ राई जुम्लेखा युकेका अध्यक्ष शिब राई, लण्डन नेपाल न्युजका प्रमुख शिब भण्डारी, सुम्निमा पारुहाङ आर्थिक सहयोग संकलन समिति युकेबाट भगवान चाम्लिङ, गोर्खा नेपाली समाज मेडवेका अध्यक्ष भबिन साम्पाङ लगायतले उहाँलाई खदा र माला अनि फुलको गुच्छा दिएर स्वागत गर्नु भएको थियो I

छोटो मन्तव्यका क्रममा उहाँले धरानको सम्पूर्ण परियोजनाहरुमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो। तपाइँको स्वागतमा यत्रो मान्छे उपस्थित हुनुको कारण के होला ? भन्ने प्रश्नको जवाफमा,
इमान्दार भएकैले बिदेशमा पनि स्वागत गर्न उर्लिनु भएको होला भन्दै धन्यवाद दिनु हुँदै इमान्दारिताको खडेरी परेको प्रति व्यंग्य गर्नु भयो ! राष्ट्रिय राजनीतिमा कहिले देख्न पाइएला भन्ने प्रश्नको जवाफ अब छिट्टै भन्ने सटिक जवाफ थियो मेयर साम्पाङको I

युके भ्रमणको सम्पूर्ण कार्यक्रम सकेर मेयर साम्पाङ २ नोभेम्बरमा स्वदेश फर्किने कार्यक्रम रहेको छ।

-भूमिराज राई
मेडवे केन्ट युके

Related Articles

Back to top button