अन्तर्राष्ट्रिय

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु

बेरुत, लेबनान, १२ असोज (रासस/एएफपी) :
लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु भएको शनिबार पुष्टि गरेको छ ।

हिजबुल्लाहले लेबनानको राजधानी बेरुतस्थित आफ्नो मुख्यालयमा इजरायली आक्रमणमा नसरल्लाह मारिएको जनाएको हो ।

हिजबुल्लाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हिजबुल्लाहका महासचिव सैयद हसन नसरल्लाहले आफ्ना महान्, अमर शहीद कमरेडहरूसँग सामेल हुनुभएको छ। उहाँको मृत्यु भएको छ ।”

नसरलाहले तीन दशकभन्दा बढी समयदेखि हिजबुल्लाह समुहको नेतृत्व गर्नुभएको थियो ।

इजरायली सेनाले लामो समयदेखि यो आक्रमणको योजना बनाइरहेको बताएको थियो । इजरायलले ६४ वर्षीय नसरुल्लाहलाई कैयौँ इजरायली सैनिक र सर्वसाधारणको हत्याका लागि जिम्मेवार ठहर्‍याएको छ ।

इजराइलले हिजबुल्लाहका नेता हसन नसरल्लाहको हत्या भएको दाबी गरेपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्ति जारी गर्दै लेबनानमा इजरायली आक्रमणबारे आलोचना गर्नुभएको थियो ।

वर्षौंदेखि इरानले हिजबुल्लाहलाई सैन्य र आर्थिक सहयोग प्रदान गर्दै आएको आरोप इजरायलले लगाउँदै आएको छ । खामेनीले आफ्नो वक्तव्यमा हसन नसरल्लाहको नाम नलिइकन सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “एकातिर लेबनानमा निहत्था मानिसहरूको हत्याले कट्टरपन्थी यहूदीहरूको बर्बर स्वभावलाई फेरि एकपटक उजागर गरेको छ। अर्कोतर्फ, यी आक्रमणहरूले इजरायली नेताहरूको नीति कति अदूरदर्शी र मूर्खतापूर्ण छ भन्ने पनि प्रमाणित गरेको छ।”

अयातुल्लाह अली खामेनीले लेबनान र हिजबुल्लाहका जनताको साथमा उभिन र ‘दमनकारी शासनको सामना गर्न’ उनीहरूलाई समर्थन गर्न सबै मुसलमानहरूलाई आग्रह गर्नुभएको छ ।

सन् २००६ मा समूह र इजरायलबीच अन्तिम पटक युद्ध भएयता हिजबुल्लाहको गढमा इजरायली लडाकू विमानले शनिबार रातिसम्म बेरुतको दक्षिण र बाहिरी इलाकामा आक्रमण गरेका थिए ।

सन् २००६ यता नसरल्लाह सार्वजनिक रुपमा विरलै देखिनुभएको थियो ।

सन् १९९२ मा अब्बास अल मुसावीको हत्यापछि उहाँ ३२ वर्षको उमेरमा हिजबुल्लाहको महासचिवमा निर्वाचित हुनुभएको थियो।

नसरल्लाहको मृत्युले विश्वलाई सुरक्षित बनाएको इजरायली सेनाको दाबी

इजरायली सेनाले हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहको मृत्युले विश्वलाई सुरक्षित बनाएको बताएको छ भने इरान समर्थित समूहका अन्य वरिष्ठ सदस्यलाई पछ्याउने बताएको छ ।

सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हागारीले टेलिभिजन ब्रिफिङमा भन्नुभयो, “नसरल्लाह इजरायलको सबैभन्दा ठूलो शत्रुहरूमध्ये एक थिए। उनको मृत्युले विश्वलाई सुरक्षित बनाएको छ।”

प्यालेस्टिनी समूह हमासको सहयोगी लेबनानी सशस्त्र आन्दोलन हिजबुल्लाहबारे हागारीले भन्नुभयो, “हामी अझैपनि हिजबुल्लाह सङ्गठनका कमान्डरहरूमाथि आक्रमण जारी राख्नेछौँ।”

इजरायली रक्षामन्त्री योआभ ग्यालेन्टले लेबनानका जनतालाई लक्षित गर्दै जारी गरेको वक्तव्यमा भनिएको छ, “हाम्रो युद्ध तपाईंहरूसँग छैन।

“हाम्रा शत्रुहरूलाई म भन्छुः हामी बलियो र दृढ छौं,” ग्यालेन्टले थप्नुभयो ।

दक्षिणी बेरुतमा शुक्रबार भएको आक्रमणमा हिजबुल्लाहका नेता नसरल्लाहको मृत्यु भएपछि तनाव बढेसँगै इजरायली अधिकारीहरूले नयाँ सार्वजनिक सुरक्षा नियमको घोषणा गरेका छन् ।

सेनाको होम फ्रन्ट कमाण्डले लेबनानको सीमाभन्दा निकै टाढा रहेको मध्य इजरायलमा एक हजारभन्दा बढी मानिस भेला हुन प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

यो परिवर्तनले इजरायलको व्यापारिक केन्द्र तेल अभिभ र अन्य स्थानहरूमा युद्ध अवधिभर शनिबार हुँदै आएको साप्ताहिक प्रदर्शनलाई प्रभावित गर्ने सम्भावना छ।

सरकार विरोधी प्रदर्शनले अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजा पट्टीमा बन्धक बनाइएका बन्धकहरूको दुर्दशालाई उजागर गर्ने प्रयास गरेको छ । प्रदर्शनले जारी युद्धलाई सङ्केत गर्दै इजरायली सरकारलाई युद्धविराम र बन्धक मुक्त सम्झौतामा सहमत हुन आग्रह गरेको छ।

Related Articles

Back to top button