अन्तर्राष्ट्रिय

बेलायतमा बालिकाको अनलाइन यौन शोषण गर्ने भारतीय विद्यार्थीलाई ३० वर्ष कैद

लन्डन, १५ नोभेम्बर २०२६। बेलायतमा अनलाइनमार्फत बालिकाहरूलाई यौन शोषण गरेको अभियोगमा एक भारतीय विद्यार्थीलाई ३० वर्ष कैद सजाय सुनाइएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले देशभरका ७० जना पीडितको पहिचान गरेको छ।

बर्मिङ्घममा बस्दै आएका २७ वर्षीय बिलाल काजीलाई चेस्टर क्राउन कोर्टले शुक्रबार, १३ नोभेम्बरमा सजाय सुनाएको हो। बेलायतको सरकारी अभियोजन निकाय क्राउन प्रोसिक्युसन सर्भिस (सीपीएस) का अनुसार कैदबाट रिहा भएपछि उनी थप आठ वर्ष सर्तसहितको निगरानीमा रहनेछन्।

स्काई न्यूजका अनुसार भारतको मुम्बईका काजी बेलायतमा अध्ययनरत थिए। उनले आफूलाई किशोरका रूपमा प्रस्तुत गर्दै अनलाइनमा बालिकाहरूसँग सम्पर्क बढाउने गरेका थिए।

चेशायर प्रहरीका अनुसार उनले अर्कै व्यक्तिको तस्बिर प्रयोग गरी ‘रीस’ नामको किशोरको नक्कली परिचय बनाएका थिए। बालिकाहरूको विश्वास जितेपछि यौनजन्य तस्बिर पठाउन दबाब दिने र थप सामग्री पठाउन नमाने पहिलेका तस्बिर सार्वजनिक गर्ने धम्की दिने गरेका थिए।

प्रहरीले १८० सम्भावित पीडितबारे अनुसन्धान गर्दा बेलायतका २८ प्रहरी क्षेत्रबाट ७० जनाको पहिचान गरेको जनाएको छ। चेशायर प्रहरीले यसलाई आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो अनलाइन बाल यौन दुर्व्यवहार अनुसन्धान भनेको छ।

सीपीएसका अनुसार घटनाले केही पीडितमा गम्भीर र दीर्घकालीन मानसिक आघात पुर्‍याएको छ। अदालतले कैदसँगै यौनजन्य हानि रोकथाम आदेश र प्रतिबन्धात्मक आदेश पनि जारी गरेको छ।

यस घटनाले प्रत्यक्ष भेटघाट नभए पनि अनलाइनमार्फत हुने प्रलोभन, दबाब र ब्ल्याकमेलले बालबालिकामा गम्भीर असर पार्न सक्ने देखाएको छ।

Related Articles

Back to top button