कवि मिथोचको अगोको पिदार: सांस्कृतिक पुनर्जागरणको आह्वान
✍️ बलिन्द्र योङहाङ
साहित्यकार प्रकाश थाम्सुहाङ, ‘सालिक र साहित्य विमर्श’मा लेख्छन्- साहित्यको विधामध्ये कविता सबैभन्दा बढी लेखिने विधा हो।साठीको दशकसम्म आइपुग्दा कविताको संख्यात्मक वृद्धि प्रशस्तै भएको छ।यद्यपि गुणात्मकतालाई बिर्सी …।यहाँ सुन्दर, कलात्मक र वैचारिक कविता प्रशस्तै सिर्जना भएका छन्।…फगत यति हो लेखनाथको सौन्दर्यको चस्माले अबको कवितालाई खुट्याउने दिन गए।आजको ई-जेनेरेसनलाई माधव घिमिरेको एकोहोरो बाँसुरीको धुन पनि मोनोटोनस लाग्न थालेको छ।
यो एकल नश्लवादी महेन्द्रीय राष्ट्रवादमाथिको विग्रह हो।असहमति हो।हुन त २०६२-६३को जनआन्दोलनपछि समावेशीता,लैंगिक समानता,सेक्युलरिज्म,संघीयता आदि संस्थागत भए तापनि राजनैतिक,साहित्यिक रुपमा समाज पूर्णरुपमा रुपान्तरित भइ नसकेको अवस्था छ।सेल्फ र अदरको कन्सेप्ट हामीमा अझै यथावत छ।झनै जडवादी चिन्तन टड्कारो रुपमा देखिइँदै गएको अवस्था छ।राष्ट्रवादको मिथिकल कन्सेप्टमा चेपिएर जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु गुम्ने खतरा उतिकै छ।यही जडवादी/परम्परावादी चस्माले बहुल जाति/संस्कृति/भाषा/साहित्यले बनेको नेपाली समाजलाई खण्डीकृत देख्ने गर्छ।विविधतालाई ‘भिन्नता’ले परिभाषित गर्ने गर्छ।
बीसौँ शताब्दीको प्रारम्भमा हेनरी मातिसेले कोरेको ‘द रेड रुम’ भन्ने फाउवादी चित्रमा एउटा कोठालाई सम्पूर्ण रुपले रातो रङले पोतेर हाम्रो यन्न्त्रवत दृष्टि/हेराइलाई नया ढंगले हेर्न आग्रह गरे झैँ विशेषतः नेपाली समाजको विविधता(बहुलता) भित्र किराती-कोइँच(सुनुवार/मुखिया -वाह्यनाम) मुक्दुमी दर्शन,सौन्दर्य चिन्तन र विश्वदृष्टिको जगमा उभिएर लेखिएका छन् ‘आगोको पिदार’ कविता संग्रहका कविताहरु।
त्यसो भए ‘आगोको पिदार’ भनेको के हो ?
-कोइँच जातिहरुको मूलभूत दर्शन,विज्ञान र विश्वास भनेको मुक्दुम हो।मुक्दुम: कोइँचहरुको दैनिक कार्यकलाप, जीवनयापन, संस्कार, सोच सबैलाई मार्गनिर्देशन गर्ने विधि/विधान हो।मुक्दुमलाई बोनिज्म-एनिमिज्म अन्तर्गत वकितम(Oral) रुपमा पोइँबो ग्याँमि,न्हा:सो(कुल पुरोहित) , अग्रजहरुले पुस्तान्तरण गर्दै आइरहेका छन्।यसै संग्रहका कवि मिथोचका अनुसार,-‘कोइँच जातिहरुमा कुनै पनि शुभकार्य गर्नुपूर्व आगोको पूजा-आराधना गर्ने चलन छ,यसैलाई आगोको पिदार भनिन्छ/भनिएको हो।
के संग्रहित कविताहरु आगोको पिदार पछि साँच्चै चेतनाले उच्च भए त ? हेरौँ-
मलाई असाध्यै आगोको माया छ
आगो निभ्यो भने-
मेरो अस्तित्व निभ्नेछ
आगोको मुक्दुम निभ्नेछ
चुप्लुको शक्ति निभ्नेछ।
(आगोको पिदार पृ० ८२)
यसै संग्रहमा कवि स्वप्निल स्मृति लेख्छन्- समकालीन विसंगत यथार्थसँग विकल्पसहितको विद्रोहलाई मिहिन स्वरमा सुसुल्ने उनले आफूसम्बद्ध जातीय संस्कृति,इतिहास र मिथकलाई सचेत प्रयोग पनि गरेका छन्।विसंगत यथार्थप्रतिको विद्रोहले सुसंगत सभ्यता निर्माणमा कविको ऐक्यवद्धता प्रष्ट भएको छ भने स्वजातीय सांस्कृतिक विम्ब, प्रतीक र मिथकहरुको प्रयोग गरेर उनले पाठकहरुलाई आकासतिर मात्र होइन जरातिर पनि फर्काइदिएका छन्।
‘असीको कवितामा’ साहित्यकार प्रकाश थाम्सुहाङले भने झैँ -ठूलोठूलो दर्शन नछाँटी,बौद्धिकताको चाङ नथुपारी हाम्रै वरिपरिका हेर्दा साधारण लाग्ने विषयलाई लेखियो भने कविता नयाँ बन्छ।उहिले जीवनबारे धेरै कविता लेखियो।अब मान्छेले जीवनलाई कसरी बाँच्छ,त्यो लेखिनुपर्छ।मान्छेको जीवन बाँच्ने शैली नै संस्कृति हो।अब त्यही बहुसंस्कृतिलाई समातेर कविता लेखिनुपर्छ।
माथि भनिए झैँ कविले आफ्नो जरा,संस्कृति समातेका छन्।तीन चुल्हा(चुप्लु),आगोसँगको सांस्कृतिक सम्बन्धलाई देखाएका छन्।
सपनाका हाँगाहरु पलाएपछि
सपनाका पातहरु पलाएपछि
रुखहरु हिँडछन्
…सालिवामा
वसन्तको मजेत्रो ओढेर
पालुवाको लाछा बाँधेर
होमाचिरीको लयसँगै
पातभरी फिजाउँछन्-उभौली सौन्दर्य।
हाँगाको चिम्टीले च्यापेर
हरियो पातका शिरबन्दी लगाउँछन्
र
उभौली बताससँगै सालिवा गाउँछन्
सलाकु मुक्दुम पढिन्छ
शाँदर पिदार गरिन्छ
हा हा हाँसल् हाँसल्
हा हा हाँसल् हाँसल्
खुये खुये खुये
खुये खुये खुये।
(रुखहरु पृ० ८५)
एक अन्तर्वार्तामा डा.अरुण गुप्तो भन्छन्- राष्ट्रियता र राष्ट्रिय भावना सिंगुलर कन्सेप्ट हुन्।नेपाली राष्ट्रियताको कुरा गर्ने बित्तिकै तपाईँले नेपालीपनलाई एउटै भाषा,एउटै फूल,एउटै जन्तुले रिप्रेजेन्ट गर्छ भन्ने मान्नुपर्छ।…सबैलाई ल्याएर राष्ट्रियता बनाउन सकिँदैन।अर्कोतर्फ संस्कृतिमा आफैमा बहुल हु्न्छ।नेपालमा त झन् बहुसंस्कृति छ।एउटा संस्कृति अर्कोसँग नमिल्न सक्छ। बेनेडिक्ट एन्डरसनका अनुसार -कुनै पनि राष्ट्रलाई त्यसका भू-राजनैतिक सिमाहरुले मात्र परिभाषित गर्दैनन्।राष्ट्रको मनोवैज्ञानिक र सामाजिक आधार त्यसको सामूहिक परिकल्पनाको मानचित्र हो।
उल्लिखित विचारहरु युरोपियन औपनिशेकवादी परम्परागत परिभाषाहरु हुन्।जसले राष्ट्रियतालाई सिंगुलर इन्टिटी देख्छ।डेमोक्रेसीलाई मान्ने नेपाल बहुल संस्कृति भएको देशमा अब ‘एउटै राजा,एउटै देश;एउटै भाषा,एउटै भेष’ भन्ने हिजोको लजिकले हुँदैन।परिभाषाले चल्दैन।राष्ट्रियता अपरिवर्तनशील प्राकृतिक तत्व होइन।यो राष्ट्रियतालाई पुनर्भाषित गर्ने समय हो।यसका लागि हरेक जाति,भाषा र संस्कृतिको बराबर स्थान रहने परिभाषा जरुरी छ।
कवितामा रुखहरु हिँड्छन् भन्नु नै हिजो राज्यसत्ताबाट गुमनाम पारिएर कहिले सुनुवार/सुनपार त कहिले मुखिया भन्दै सम्बोधन गरिएका कोइँच जातिमा ‘गो यो कोइँच नङ'( म पनि कोइँच हुँ )भन्ने चेतनाको संकेत मात्रै नभएर शाँदर पिदार मार्फत प्राणीहरुमा चैतन्य कसरी आयो र मानव कसरी सर्वश्रेष्ठ प्राणी बन्यो-को मुक्दुमी दर्शनको कोणबाट जीवन र जगतलाई हेर्न पाठकप्रतिको अनुरोध हो।हाँगा र पातहरु प्रचलित सामान्य विम्बहरु भए तापनि यसले चेतनाको विस्तारलाई जनाउँछ।कवितामा मानव विकासको गतिशीलतालाई देखाउँछ।
उहिल्यै
सुयुपिपि सुयुकिकि
सम्भोगको पोखरीमा
नेङमाछाको जोडी जस्तै पौडिन लाग्दा
चट्याङ खसेर
ललाक लुलुक हुँदा
कलपिपिले स्याहारको मजेत्रोमा
मायाले हुर्काउँदा पनि
चेत नआएर
घाँटीमा प्लेँ:कास लगाइदिए पछि
चेतनाको ओछ्यानबाट ब्युँझिए जस्तो
म पनि आमाले बुनेको प्लेँ:कास
छातीमा लगाएर
अग्लो न अग्लो
उभिएको छु- अस्तित्वको उचाइ।
( प्लेँ:कास पृ० ५४ )
‘स्यापियन्स अ ब्रिफ हिस्ट्री अफ ह्युमन काइण्ड’ मा जर्मनीको स्टेडल केभमा भेटिएको सिंह जस्तो देखिने मानव आकृतिको प्रमाण पेस गर्दै युवल नोहा हरारी भन्छन्,-आजको मानव प्रजातिले आजभन्दा ३२ हजार वर्ष अघिदेखि मात्र कला संभवत धर्मका बारेमा कल्पना गर्न सुरु गर्यो जुन यथार्थ अस्तित्वमा हुँदैन।
यसलाई उनले काल्पनिक-यथार्थ (Imagined reality)भनेका छन्।जुन भौतिक रुपमा उपस्थित हुँदैन।संस्कृति पनि काल्पनिक-यथार्थ नै हो।जसलाई मानव सभ्यतासँग जोडेर हेर्ने गरिन्छ।
जर्मन मिथोलोजिस्ट कार्ल युंगका अनुसार,-‘मानिसमा मिथक बनाउने क्षमता हुन्छ।’ मिथक मानिसहरुको कल्पना हो ।कतिपय देखिएका वस्तुहरु(बाट)को मिथक बनाइन्छ भने कुनै सिर्फ कल्पना हुन्छन्।
सुनुवार जातिमा पनि यस्ता मिथकहरु छन्।’सुयुपिपि-सुयुकिकि ‘ एउटा मिथक हो।कथा अनुसार सुयुपिपि र सुयुकिकिबीच यौन सम्बन्ध राख्न लाग्दा लाग्दा चट्याङ पर्यो र उनीहरु मुर्छित भए। चट्याङ लागेर मुर्छित भएका सुयुपिपि र सुयुकिकि त्यसपछि हड्डी नै नभएको जस्ता भए। त्यसपछि बिरामीले थलिएका उनीहरुलाई एकजना कलपिपिले हेरचाह र पालनपोषण गर्दछन्।
समयक्रममा उनीहरुको स्वास्थ्य सुधार हुन्छ तर अफशोस् सुयुपिपि र सुयुकिकिको बुद्धि आउँदैन।उमेर अनुसारको परिपक्वता नआएकाले कलपिपि चिन्तित हुन्छन् र एकदिन जंगलमा गइ थारखरी लहराको ‘प्लेँ:कास’ बनाएर सुयुपिपि र सुयुकिकिलाई लगाइ दिएपछि उनीहरुको बुद्धि आउँछ।चेतना आउँछ।
त्यसै समयदेखि नै सुनुवार जातिमा ‘प्लेँ:कास’को सांस्कृतिक महत्व रहँदै आएको छ।
माथिको कथाले आयुर्वेदिक औषधी विज्ञान र उक्त ज्ञानसँग कोइँचहरुको सम्बन्धलाई देखाउँछ।समय अनुरुप चल्न नसक्दा र पश्चिमा एलोप्याथी र आयातित आधुनिकताले यस्ता ज्ञानहरु हामीबाट कति त लोप भइसके कति क्रमश: लोप हुँदै जाँदैछन्।कालान्तरमा ज्ञान पनि मिथक मात्रै रहन्छ। हामीले हाम्रो आधुनिकतालाई युरोपियन मोडलबाट मात्र व्याख्या गर्यौँ।उत्तरवर्ती सोचका प्रवर्तक राज माङ्लाकलाई एक क्याजुअल कुराकानीका क्रममा ‘भूमण्डलीकरणको अस्वीकार किन गर्नुभएको ?’ भनेर सोध्दा उहाँको उत्तर थियो,-पश्चिमाहरु हामीलाई उत्पादित वस्तु बेच्छन तर प्रविधि दिँदैनन्।फलस्वरुप: हामी उपभोक्तावादी परनिर्भर हुन्छौँ र स्थानीय सीप, ज्ञानाबाट विस्तारै टाढिँदै जान्छौँ।’
थारखरीको बोटबाट औषधी बनाएर सुयुपिपि र सुयुकिकिलाई बचाएको ज्ञान आज संस्कृतिमा सिमित छ।बहुराष्ट्रिय कम्पनीहरुले स्पोन्सर गरिदिने चाडपर्वमा हाम्रो विज्ञानलाई हामी छातीमा टाँसेर पहिचानको रंग दिइरेका छौँ।तिनै थारखरीको बोटले बचाएर अस्तित्वको उचाइमा उभिरहेको कविले किन यसरी सोच्न सकेन ? कविता पढ्दा यहि प्रश्नले बिथोलिरहन्छ।
हजार वर्षपछि
चित्रकारले
क्यानभाषको पृष्ठभरी
नयाँ रङहरु पोतेर
नयाँ चित्र बनायो
सुन्दर देशको
गाढा मुस्कानको
गुलाबी बिहानीको
आहा !
कति सुन्दर देखिँदो रहेछ देश
चित्रहरुमा,रङहरुमा।
( देश पृ० ११ )
कविताले जातीय सांस्कृतिक पहिचानको मात्रै कुरा गर्दैन।देशको संघीय मोडलको पनि तारिफ गर्छ।समावेशीतालाई रंगहरुको संयोजनबाट सुन्दर बनेको ठम्याइ छ।एकात्मक रंगको विरोध छ।अहिलेसम्मको प्राप्तिमा सन्तुष्ट देखिन्छ -कविता।यो कविता पढ्दा लाग्छ, जे छ ठीकठाक छ।समस्यै छैन।’द रेड रुम’लाई सम्पूर्ण रुपले हरियो बनाऔँ र भनौ ‘ द ग्रीन रुम’।आग्रह पनि गरौँ नयाँ तरिकाले सोचौँ।के साँच्चै नयाँपन देखिन्छ होला ? सिद्धान्त एउटा पक्ष हो भने व्यावहारिकता अलग कुरा हो।कविले नयाँ रंग त देखे तर हाम्रो परिकल्पना र माग भनेको बहुरंगी हो।केवल रंग फेर्दैमा र चित्रकार फेर्दैमा नयाँ चित्र नै बन्छ भन्ने हुँदैन।हामीसँग नयाँ घरको नक्सा मात्रै छ।नयाँ घर चैँ छैन।लोकतान्त्रिक मूल्य-मान्यता विपरीत एकात्मकताको पक्षमा बहुमत/जनमत जुटाउन चर्को स्वरमा रोस्टम तात्तिरहेको छ।केही एकात्मक पक्षधरका मिडियाहरु अभिव्यक्ति स्वतन्त्रताको नाममा धार्मिक,जातीय द्वन्द फैलाउन तत्पर छन्।पहिचानका पक्षधरलाई राज्यले नै दमन गरिरहेको छ।लैंगिक,सामाजिक,सांस्कृतिक आदि सबै क्षेत्रमा जबसम्म बराबरीता हुँदैन तबसम्म कवि र कविता प्रतिपक्षमै उभिन्छ/उभिनुपर्छ।कवि भनेको नागरिकको आवाज हो।त्यसैले अहिले नै सबै कुरा मिलिसक्यो भन्नु अलिक हतारो हुन्छ कि ?
कविको वैचारिकीको आधारस्तम्भ उनले बाँचेको साँस्कृतिक धरातल नै हो।यस मानेमा कविताको लोकेसन ‘पहिचान कविता’ भन्नुपर्ने हुन्छ।यद्यपि उनले रेमिट ल्याण्ड,पर्यावरण, नारीवादका कुराहरु पनि कवितामा अटाएका छन्।यसले गर्दा कविता पढिरहँदा धेरै जसो सांस्कृतिक गाउँ र कोइँच संस्कृतिसँग परिचित हुने अवसर पाउनुका साथै आत्मीयता साट्न पाइन्छ।सांस्कृतिक चेतनाको प्रयोग काव्यिक र विम्बात्मक दुबै हिसाबले सफल देखिए तापनि कतिपय कवितामा कलावादीको नजरबाट अलिक कमजोर देखिन्छ।कोइँच शब्दहरुको अर्थ छुट्टै राखेकाले ( कवितासँगै नराखेर )कतिपय पाठकलाई कविता बुझ्न निक्कै मेहनत गर्नुपर्छ।समग्रमा कविता सुसंगत र पठनयोग्य छ।
(लेखक याेङहाङ दक्षिण काेरियामा रहेर कविता लेखनमा सक्रिय छन् । सं.)