साहित्य सिर्जना

इतिहासविद तुम्बाहाङ्फेको ‘याक्थुङ साप्मुन्धुमः लिम्बु र लिम्बुवान इतिहास’ सार्वजनिक

ललितपुर । २९ मार्च २०२५ । ईतिहासविद तथा शिक्षासेवी लीला बहादुर तुम्बाहाङ्फेको ‘याक्थुङ साप्मुन्धुमः लिम्बु र लिम्बुवान इतिहास’ कृति सार्वजनिक भएको छ ।

मुन्धुमविद् बैरागी काइँला, सभाध्यक्ष पूर्वअन्चलाधीश ऋतुवर्ण तम्बाहाङ्फे, किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापो र लेखक स्वयंले शनिबार ललितपुरको तिखेदेवलमा आयोजित समारोहमा सार्वजनिक गरेका हुन् ।

डीबी आङबुङले सम्पादन गर्नुभएको पुस्तक लेखकको कान्छी छोरी भावना तुम्बाहाङ्फे र पासाङ नाम्ग्याल लामाले प्रकाशन गर्नुभएको हो । यस इतिहास कृतिभित्र दुई खण्डमा सामग्री समेटिएका छन् । पहिलो खण्डमा ‘सरकारी अभिलेख’ रहेका छन् । यसमा ‘कामदत्त सेनको चाकिल्ले लालमोहर’, ‘लिम्बुसरह अधिकार भोग्न दिइएको लिखत’, ‘सुभा–सभाङ्गीलाई दिइएको हातहतियार’, ‘पञ्चखत बाहेकका कार्य गर्न र गौवध नगर्ने निर्देश’, ‘हिन्दुपति राजाले थिति
थामिदिएको पत्र’, ‘किरातीलाई झारा जान वा मूल्य तिर्न निर्देशन’, ‘लिम्बु र याक्खालाई नमासिने मान्यताको मोहोर’ लगायत ५७ शीर्षकका अभिलेखहरू रहेका छन् ।

विसं.१८१८, १८३१ देखि यताका प्राप्त अभिलेखहरू समेटिएका छन् । यसैगरी दोस्रो खण्डमा ‘तमसुक र स्थानीय अभिलेख’ समेटिएका छन् । ‘अन्याय भएको मुद्दामा निसाफका लागि जाहेरी’, ‘युवालाई बेलायती सेनामा भर्ती हुन र गराउन आदेश’, ‘बिफर रोग नियन्त्रण गर्न वैद्यहरू बोलाएको लिखत’, ‘बाली खायेको तिर्जा रसिद’, ‘जान लागेको थिति थाम्ने पत्र’ लगायत ३३ अभिलेख समेटिएका छन् । प्रत्येक अभिलेखको सक्कल तस्बिर र त्यसको लिप्यान्तरसमेत गरिएका छन् । इतिहासविद् तुम्बाहाङ्फेको यो दोस्रो कृति हो । यसअघि‘सातरेनुहाङ तुम्बाहाङ्फे वंशावली र फेदाप लिम्बुवान’ (२०६३) कृति प्रकाशित छ ।

बैरागी काइँलाले लिम्बु समाजमा आफ्नो इतिहासप्रति चासो लिन थालेको सात दशक नाघेको बताउनु भयो । ‘हाम्रो इतिहासमा हाम्रो मान्छे आफैंले चासो राख्न थालेका छन् । सन् १९४८ (२००५ सालतिर) इमानसिं चेम्जोङले ‘किरात इतिहास’ प्रकाशन गर्नुभयो दार्जिलिङबाट । २०११ सालमा प्रेमबहादुर माबोहोङले ‘नेपालको संक्षिप्त इतिहास’ प्रकाशन गर्नुभयो,’ काइँलाले भन्नुभयो, ‘यसको हिसाब गर्दाखेरी निक्कै वर्ष भयो । हाल आएर लिम्बु जातिको इतिहास सम्बन्धित सामाजिक, सांस्कृतिक, धार्मिक सामग्री खोजी संकलन गरेर प्रकाशित गर्ने लहर चलेको छ । विश्लेषण गरेर किताब प्रकाशन गर्ने लहर चलको छ । दश वर्षभित्र झण्डै तीन–चारवटा लिम्बुवान सम्बन्धि किताब प्रकाशित भएका छन् । यही सिलसिलामा आजको दस्तावेजन पनि पर्दछ ।’

लिम्बुको इतिहास, सामाजिक व्यवस्थाको सोधखोज गर्ने क्रम अध्यताहरू जुटिरहेको काइँलाले उल्लेख गर्नुभयो । ‘अब लिम्बु अध्यताहरूले अझ खोज गरेर लेख्ने छन् । अहिलेसम्म पाएका कुराहरूले हाम्रो सामाजिक स्थिति, जग्गाजमिन साँध सिमाना निरुपण गर्दाको अवस्था थाहा पाउँछौं । प्रणालीका बारेमा ज्ञान दिन्छ । १८३१ पछाडि मुलुक गोरखा राज्यमा समाविष्ट भयो । त्यसपछि लिम्बुको किपट क्षयीकरण भएको पाउँछौं । यो किताबमा त्यही अभिलेख समावेश छ ।’ काइँलाको कथन छ । इतिहास कृतिबारे अध्यता डा. कमल तिगेला, सम्पादक डीबी आङबुङ, सांसद सीता गुरुङले चर्चा गर्नुभएको थियो ।

– गणेश राई

Related Articles

Back to top button