समाचार

गुणस्तरीय कानुन बनाउन सांसद संसदीय कामका बढी व्यस्त हुनुपर्छ: नेता पाण्डेय

काठमाडौँ, २१ फागुन: नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसद बद्रीप्रसाद पाण्डेयले गुणस्तरीय नीति र कानुन बनाउन सांसद संसदीय काममा बढी व्यस्त हुनुपर्ने बताउनुभएको छ । गुणस्तरीय नीति र कानुन नभएसम्म देश नबन्ने उल्लेख गर्दै उहाँले संसदीय काममा लागेका संसद्लाई सम्बन्धित पार्टी र नेतृत्वले पनि प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

रासससँग आज कुरा गर्दै सांसद पाण्डेयले भन्नुभयो, “संसदीय काममा कति जिम्मेवार हुनुपर्छ र कति समय दिनुपर्छ भन्नेमा नै हाम्रो बुझाइ कम छ । हामीहरु संसदीय गतिविधिभन्दा अरु काममा बढी समय दिन्छौँ । कहिले संसद्को पूर्ण बैठकमा बहुमत पुग्दैन त कहिले संसदीय समितिमा पनि बहुमत पुग्दैन । यो हाम्रो कमजोरी हो ।”

मतदातामा पनि सांसदहरुलाई सधैँ आफ्नो घरदैलोमा र आफ्नाबीचमा हेर्न चाहने कमजोरी रहेको उल्लेख गर्दै सांसद पाण्डेयले जब सांसद संसदीय काम छोडेर त्यतापट्टि बढी व्यस्त हुन्छन् तब न गुणस्तरीय कानुन बन्ने न गुणस्तरीय नीति बन्ने बताउनुभयो ।

“यो कुरा हामीले मतदाताका बीचमा पनि अवगत गराउनु आवश्यक छ । अर्काे कुरा पार्टीको नेतृत्व र नेतालेसमेत कुन सांसद संसदीय काममा बढी व्यस्त छ र उसलाई पार्टीले गर्नुपर्ने प्रोत्साहनको पनि कमी देखिन्छ”, उहाँले भन्नुभयो । सांसदलाई संसदीय काममा बढी व्यस्त बनाउनुपर्ने उहाँको भनाइ थियो ।

संविधानसभा सदस्य र राष्ट्रियसभा सदस्यको अनुभवसमेत सम्हालीसक्नुभएका तथा हाल प्रतिनिधिसभा सदस्यमा बाजुराबाट निर्वाचित कांग्रेस सहमहामन्त्री पाण्डेयले संसदीय काममा संसद् बैठकभन्दा संसदीय समितिको सक्रियता बढेको बताउनुभयो ।

“यो महत्वपूर्ण पनि हो । बजारको भाषामा संसद् भनेको ‘सो रुम’ हो भने समिति कारखाना हुन् । कारखनामा उत्पादन भएपछि मात्र उत्पादन ‘सो रुम’मा देखाउन सकिन्छ । पछिल्लो संसद्मा हामी समितिमा सक्रिय छौँ । तर पनि समितिबाट एउटा पनि विधेयक निर्माण गरिसकेका छैनौँ”, सांसद पाण्डेयले भन्नुभयो । अहिले आफू रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चार विधेयकलाई अन्तिम रुप दिने क्रममा रहेको उहाँले जानकारी गराउनुभयो ।

सांसदले विकास निर्माणमा पनि भूमिका निर्वाह गर्नुपर्छ भन्ने जिज्ञासामा उहाँले मतदाताको भावना र निर्वाचनका बेला गरिएका बाचा पूरा गर्न पनि सांसद हाम्रो जस्तो मुलुकको विकास निर्माणका काममा लाग्नुपर्ने बाध्यता रहेको धारणा व्यक्त गर्नुभयो ।

नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्रीसमेत रहनुभएका नेता पाण्डेयले आफूले हाल जिल्लाको, संसदीय र पार्टीको काम गरी तीन कामको जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । सांसदले राम्रो विधेयक बनाउन अध्ययन अनुसन्धान गर्नुपर्ने र त्यसका लागि आवश्यक आवश्यक स्रोत साधन र जनशक्तिको व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।

विधेयक अगाडि बढाउने सम्बन्धमा एउटा सांसदले त्यसको पृष्ठभूमि, देश विदेशको अनुभव, समाजको अवस्था, समकालीन आवश्यकता, चुनौतीलगायत विषय अध्ययन अनुसन्धान गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो ।

कार्यान्वयनयोग्य कानुन बनाउन देखिएका चुनौतीका सम्बन्धमा उहाँले जनताका आवश्यकताभन्दा यथास्थितिमा बढी विश्वास भएर कर्मचारीतन्त्र हाबी हुने गरेको अनुभव सुनाउनुभयो । उहाँले राजनीतिज्ञले नयाँपन दिन कानुनमा प्रतिविम्ब हुनेगरी काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

संसदीय समितिका निर्देशन पालनामा देखिएको दोहोरोपनका सम्बन्धमा नेता पाण्डेयले समितिले आफ्नो सीमा र कर्तत्व नबुझ्दा त्यस्तो हुने गरेको बताउनुभयो । त्यही कारणले नै कार्यपालिकाले पनि निर्देशनको अवज्ञा गर्ने गरेको उहाँको दाबी थियो ।

फरक प्रसङ्गमा उहाँले हाल केही युवामा राजनीतिप्रति देखिएको वितृष्णलाई हटाउन राजनीतिज्ञले विश्वासको वातावरण बनाउने गरी आफ्नो व्यवहार प्रकट गर्नुपर्ने उल्लेख गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button