युके विशेष

एनआरएनए यूकेको नारी दिवसमा उपसभामुख रानाको सहभागिता रहने

लन्डन । प्रतिनिधि सभा, संघीय संसद नेपालकी उपसभामुख इन्दिरा रानामगर बेलायत आउने भएकी छन् ।

एनआरएनए यूकेको निमन्त्रणामा उपसभामुख राना मार्च पहिलो साता बेलायत आउन लागेकी हुन् ।

उपसभामुख रानामगर एनआरएनए यूकेले ३ मार्चमा अल्डरसटस्थित प्यालेसमा गर्न लागेको अन्तर्राष्ट्रिय नारी दिवसमा प्रमुख आतिथ्य ग्रहण गर्न आउने निश्चित भएको एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले बताए ।

उक्त कार्यक्रममा बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल सपना रोकामगर, चर्चित डकुमेन्ट्री मेकर तथा सञ्चारकर्मी सुजाना थापा एवं टिभी सेलिब्रेटी रिया भण्डारी समेत विशेष अतिथीका रुपमा सहभागी हुने गाहामगरले बताए । नारी दिवस कार्यक्रमको संयोजन अमृता गिरी गजुरेलले गरेकी छन् ।

उपसभामुखको प्रमुख आतिथ्यमा ५ मार्चमा ‘वंशजको नेपाली नागरिकता निरन्तरता’ वहस समेत राखिएको एनआरएनए यूकेले जनाएको छ । ‘दुवै कार्यक्रममा सहभागिताका लागि म बेलायतस्थित समस्त नेपाली संघसंस्थाका प्रतिनिधिलाई आमन्त्रण गर्दछु’, गाहामगरले भने ।

नागरिकता वहस संघको आफ्नै कार्यालय अल्डरसटमा हुने तय भएको छ ।

‘हामीले प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरु, नेताहरु लगायत सरोकारवाला सबैलाई भेटेर वंशजको नेपाली नागरिकता कायम गरिदिन ज्ञापनपत्र बुझाइसकेका थियौं । तर, राजनीतिक नेताहरुबाट अहिलेसम्म कुनै सकारात्मक प्रतिक्रिया नआएको हुंदा नीति निर्माण तहमा रहनुभएकी सम्माननीय उपसभामुख रानामगरसमक्ष आफ्ना माग राख्न यो महत्वपूर्ण अवसर हुनेछ’, गाहामगरले भने ।

वंशजका नेपाली नागरिकलाई सधैँका लागि नेपाली नै रहिरहन दिन नेपालको नागरिकता ऐन २०६३ को दफा १० संशोधन गर्न आवश्यक रहेकाले यसमा सशक्त पहल जरुरी रहेको उनको भनाइ छ ।

‘हाम्रा माग पुरा नभए हामी आन्दोलनमा होमिनु पर्ने अवस्थाबीच यस वहसमा आफ्ना धारणा राख्न र केही सुझाव सल्लाह दिन तपाईं व्यक्तिगत र संस्थागत रुपमा उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौं । कार्यक्रममा हामी सम्माननीय उपसभामुखज्यूलाई एक ज्ञापनपत्र समेत दिनेछौ’, गाहामगरले भने ।

उपसभामुख रानामगरले बेलायत भ्रमणमा रहंदा यहांको संसदीय अभ्यासबारे जानकारी लिने र बेलायती राजनीतिज्ञहरुसंग समेत भेटघाट गर्ने अपेक्षा गरिएको छ । उनी ९ मार्चमा नेपाल फर्कनेछिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button